प्रदेश ५ मा नेपाल भ्रमण वर्ष शुभारम्भको भव्य तयारी : बर्दियामा विशेष कार्यक्रम आयोजना

प्रदेश ५ मा नेपाल भ्रमण वर्ष शुभारम्भको भव्य तयारी : बर्दियामा विशेष कार्यक्रम आयोजना

 

निरा गौतम

रुपन्देही, ।

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवम आकर्षक तयारी प्रदेश ५ सरकारले गरेको छ । नेपाल भ्रमण वर्ष प्रदेश ५ को पर्यटन प्रवद्र्धन समितिले प्रदेशको प्रमुख पर्यटकीय सम्भावना भएको क्षेत्र मध्ये एक बर्दिया जिल्लालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन “घुम्न जाउँ बर्दिया” भन्ने नारा सहित भ्रमण वर्ष शुभारम्भको तयारी गरेको छ ।

भ्रमण वर्षको शुभारम्भ अंग्रेजी नयाँ वर्ष जनवरी १ तारीख अर्थात पुस १६ गते बर्दियाको ठाकुरद्धारामा आयोजित विशेष समारोहकाबिच प्रदेश सरकार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नुहुने कार्यक्रम तय भएको नेपाल भ्रमण वर्ष प्रदेश सहसंयोजक माधव नेपालले जानकारी दिनुभयो । भ्रमण वर्ष उद्घाटन समारोह हुने भएपछि ठाकुरद्धारामा विशेष तयारी गरिएको छ ।

नयाँ वर्षको पुर्बसन्ध्यामा बाँकेमा राति १२ बजे भ्रमण वर्ष विशेष कार्यक्रम आयोजना गरिएको छ । “भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को शुरुवातमा २ हजार २० जना भारतीय पर्यटकहरुलाई स्वागत गरि बाँकेका होटलमा रु २ हजार २० मा खाना र आवासको व्यवस्था मिलाउने निर्णय भएको छ ।” सहसंयोजक नेपालले भन्नुभयो । भ्रमण वर्ष उद्घाटनका दिन बाँकेको गावर भ्याली क्षेत्रमा जंगल सफारी पनि विधिवत् रुपमा सुरु गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले ७ वटै प्रदेशमा पर्यटन मन्त्रीको संयोजकत्वमा प्रदेश स्तरीय समिति गठन गरेको थियो । सोहीअनुसार प्रदेश ५ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहेको पर्यटन प्रवद्र्धन समिति गठन गरी भ्रमण वर्ष शुभारम्भको तयारी गरिएको हो ।

भ्रमण वर्ष उद्घाटन समारोहमा प्रदेशका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजकहरु, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका ५–५ जना सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायत उच्च पदस्थ व्यक्तिहरु तथा स्थानीय नागकिहरु सहभागी हुनेछन् ।

उद्घाटन समारोहलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरीएको भ्रमण वर्ष सचिबालयका संयोजक तथा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत गणेश घिमिरेले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा विभिन्न जातीको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिने सचिवालयका संयोजक घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार रोल्पाको मगर नाच, दाङ र बर्दियाको थारु नाच, अवधी नाच, पञ्चे बाजा समेत प्रदर्शन गरिने छ ।

नेपाल भ्रमण वर्षलाई भव्य स्वागत गर्ने पर्यटन व्यवसायीले समेत तयारी गरेका छन् । नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायसंग सम्ब्न्धित प्रदेश ५ का संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । रुपन्देहीका पर्यटन व्यवसायीहरुले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवलमा सडक खाना महोत्सवको आयोजना गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले जिल्लाका मुख्य स्थानहरुमा सडक खाना महोत्सवको आयोजना गरिएको हो ।

भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटकीय सेवा प्रदान गर्ने संघ संस्थाहरुले पर्यटकका लागि छुट अफर समेत घोषणा गरेका छन् । आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटलमा १५ देखि ३० प्रतिशत छुट दिने निर्णय भएको होटल संघले जनाएको छ ।

लुम्बिनी भ्रमण वर्ष मनाइरहेको प्रदेश सरकारको सहयोगमा बुद्ध जन्मस्थलमा विशेष समारोहका विच नेपाल भ्रमण वर्षको स्वागत तथा सडक खाना महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो । “नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सडक खाना महोत्सवलाई भ्रमण वर्षसंग जोडेका छौ,” उहाँले भन्नुभयो ।

यस्तै बुटवल र भैरहवामा नेपाल भ्रमण वर्षको शुभारम्भ र लुम्बिनी भ्रमण वर्षको अवसरमा सडक खाना महोत्सवको आयोजना गरिएको छ । बाह्य पर्यटकहरु भित्रिने मुख्य नाका भैरहवामा पनि आन्तरिक र बाह्य पर्यटकहरुलाई लक्षित गरि नेपाल भ्रमण वर्षको स्वागतका लागि सडक खाना महोत्सवको आयोजना गरिएको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

निजि होटलहरुले समेत नेपाल भ्रमण वर्षको स्वागतका लागि सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छन् । जिल्लाका एक दर्जन होटलहरुले सांंगितिक महोलमा भ्रमण वर्ष मनाउने तयारी गरेका छन् । “नेपाल भ्रमण वर्ष सफल बनाउनु हामि सबैको दायित्व हो त्यसैले यसको स्वागतमा बृहद् सांस्कृतिक कायक्रम आयोजना गरेका छौ, होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भन्नुभयो, आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटी सहितको सेवाको जानकारी दिन ईभेण्ट आयोजना गरेका छौ ।” भ्रमर्ण वर्ष निजि क्षेत्र उत्साहित बनेको छ । भ्रमण वर्षका माध्यमबाट पर्यटन क्षेत्रको पुर्बाधार विस्तारमा ठुलो लगानी जुट्ने अपेक्षा निजि क्षेत्रको छ ।
सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्र्याउने लक्ष्यअनुरुप प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij