भैरहवा, (जनता टुडे) – नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २४२ जना महिला तथा बालबालिकाहरुको उद्धार भएको छ । एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।
भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका छन् ।
महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढिरहेको माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाको अध्ययनले देखाएको छ । मानव तस्करहरुले महिला र बालबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।
माइती नेपालमा सन् २०१९ मा खोजतलास सम्बन्धी ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेका छन् । माइती नेपाल रुपन्देहीका कार्यक्रम संयोजक माया क्षेत्रीका अनुसार आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् ।
माइती नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खुला सीमा नाका भएको कारणले रुपन्देहीको बेलहिया नाकामा बेचबेखिनको उच्च जोखिम बढेको बताउनुभयो ।
उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आयमूलक काममा लगाउन माइती नेपालले सहयोग गर्दै आएको छ । मानव बेचबिखनमा मानव तस्करहरु सक्रिय भइरहँदा उद्धारमा खटिने एउटा पनि सरकारी संयन्त्र गठन हुन नसकेको तथा मानव बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर नभएको माइती नेपालको गुनासो छ ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्