महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनी प्राचीन शाक्य राज्य कपिलवस्तु र कोलीयको सीमावर्ती क्षेत्रमा अवस्थित थियो । कपिलवस्तुका राजा शुध्दोधनकी रानी मायादेवी कोलीय राजकन्या भएकीले उनी माइतीघर जाँदा लुम्विनी उपवनमा पुग्दा प्रसब बेदनामा वृक्षको हाँगो पक्रेको अवस्थामा ई.पू. ५६३ बैशाख शुक्ल पूर्णिमाको दिनमा सिध्दार्थको जन्म भएको थियो ।
शाक्य र कोलीयहरुको आवतजावत मार्गमा पर्ने विश्रामस्थलको रूपमा रहेको बगैचालाई कोलीय रानी रूपादेवीको नामले संवोधन गर्दै कालान्तरमा स्थानीय बासिन्दाहरूले रुम्बिनी देई, रुमिनी देई, लुम्विनी र यसैबाट जिल्लाको नाम पनि रूपन्देही राखियो । यसरी वर्तमान लुम्बिनी रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखि करिब २२ कि.मी. दक्षिण—पश्चिम तराई क्षेत्रमा अवस्थित छ ।
सिद्धार्थ जन्मनासाथ सात पाइला हिंडेका थिए भन्ने तथ्य बौद्ध साहित्यमा उल्लेख छ । हुने विरुवाको चिल्लो पात भनेझै उनी सानै उमेरमा विलक्षणयुक्त हुँदा असीत, कौडिन्य जस्ता ऋषिमुनिले उनलाई चक्रवती सम्राट वा सन्यासी हुने छन् भन्ने भविष्यवाणी गरेको हुनाले राजा शुद्धोदनले भोगविलासमा तल्लीन गराउँने प्रयत्न गर्दा पनि उनन्तीस वर्षको उमेरमा सिद्धार्थले संसारमा दुःख, कष्ट छ भन्ने ज्ञान रोगी, वृद्ध, शव र योगीको दृश्यावलोकन पश्चात् महसुस गरी महाभिनिष्क्रमण गरे । छ वर्षको अनवरत साधनाले दुःख, दुःखको कारण, दुःख निरोग र दुःख निरोध हेतु चार आर्य सत्यहरु र आष्टाङ्गिक मार्गको ज्ञान हासिल पछि धर्मचक्रमा संलग्न रहे ।
कालान्तरमा उनका उपदेशहरु बौद्ध धर्मको रूपमा लोकप्रिय हुँदा जन्मस्थल लुम्बिनीको महत्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्यो । सम्राट अशोक मगधाधिपति भए पनि कलिङ्गको हिंसा पश्चात् अहिंसावादी बौद्ध धर्म ग्रहणगरी विभिन्न बौद्ध तीर्थस्थलहरूमा भ्रमण गर्ने क्रममा गुरु उपगुप्त सहित यहाँ आएका थिए। ई.सं. ४०३ मा चिनियाँयात्री फाहियानले कपिलवस्तु नगरदेखि पूर्वपट्टि लुम्बिनी नामक राजकीय उद्यान छ ।
यहाँको तलाउमा स्नान गरी राजमाता उत्तरपट्टिबाट बाहिर निस्केको र बीस कदम हिंडेपछि सिद्धार्थको जन्म भएको उल्लेख गरेका छन् । ई.सं. ६३६ को हिउदँमा हुएन–साँग लुम्बिनी आउँदा पुष्करिणी तलाउ, स्तूपहरु र अशोक स्तम्भको माथिल्तिर घोडाको आकृति देखेका थिए । अहिले उक्त टुप्पोको घोडाको आकृति बज्रपरी टुक्रा भएकोले त्यहाँ प्राप्त चुनार टुक्रा यसैका हुन् भन्ने विद्वान्हरूको धारणा छ ।
यहाँ स्तूप, चैत्य, मन्दिर, मूर्ति, इटा, माटाका मूर्ति, छाप, मुद्रा र माटाका भाँडावर्तनहरू मौर्य, शुंग, गुप्त, बर्धन् र पालसेन कालसम्मका फेला परेकाले पूर्व–मध्य कालसम्म घना बस्ती रहेको देखिन्छ । कर्णाली प्रदेशका शासकहरूले राज्य पूर्वपट्टि बिस्तार गर्दै थिए । ईं सं. १३१२ मा रिपु मल्ल निग्लिहवा र लुम्बिनीमा समेत आई अशोक स्तम्भमा आÇनो अस्तित्व देखाउन चित्र तथा अक्षरसमेत लेखाएथे ।
तत्पश्चात् सिकन्दरलोदी (१४८९–१५१७ ई.सं.) र औरङ्गजेब (१६६७–१७०७ ई.सं.) ले यस क्षेत्रको सांस्कृतिक निधि नष्ट गरेको तथ्य पनि उल्लेख छ । पाल्पा राज्यको अधीनमा रहँदा गोरखपुरसम्म मुकाम कायम गरी महादत्त सेनले विभिन्न कागजात जारी गरेको देखिंदा यहाँ मुकुन्दसेन, पृथ्वीपति सेन तथा महादत्त सेनले सामान्य ढंगले शासन संचालन गरेको बुझिन्छ ।
करिब दुई शताब्दीसम्म लुम्बिनीको अस्तित्व भू–गर्भमा छोपिएको देखिन्छ । भारतको पुरातत्व बिभागमा कार्यरत जर्मनी बिद्वान् डा.फुहररले ई.सं. १८९६ मा तत्कालीन पाल्पामा बडाहाकिम खड्ग शम्शेरको उत्खनन कार्यलाई बैज्ञानिक ढंगले संचालन गर्दा अशोकस्तम्भ र त्यसमा लेखिएको लिपिसमेत उपलब्ध गरे पछि बुद्धको जन्मस्थल एकीन भयो । तत्पश्चात् पी.सी. मुखर्जीले कपिलबस्तुको साथै लुम्बिनीमा पनि मन्दिरको आधार, बज्रबाराहीको मूर्ति र बिभिन्न अवशेषहरू समेत फेला पारे ।
उनले ई.पू तेस्रो शताब्दीमा अशोकको निर्देशन अनुसार बुद्धको मूर्ति र मन्दिर प्रतिष्ठापित गरिएको उल्लेख गरेका छन् । उनले यस खोज खबरमा चैत्य र बिहारको सामान्य आधारको समेतको उत्खनन गरेका थिए । ई.सं. १९३०–३९ सम्म फिल्ड मार्शल केसर शमशेरले यहाँ उत्खनन गर्दा अबैज्ञानिक पद्धति अपनाए पनि मायादेवीको मन्दिर , पुष्करिणी तलाउ समेतका केही भाग र वस्तुहरू प्रकाशमा ल्याएका थिए । पुरातत्वविद् देवला मित्रले ई.सं. १९६२ मा अशोक स्तम्भको आधार खण्डको पश्चिमपट्टि उत्खनन गर्दा पुरावशेषहरू फेला पारेकी थिइन् ।
यसरी नै ई.सं. १९७०–७१ मा पुरातत्व विभागले उत्खनन जारी गर्दा प्राचीन लुम्बिनी ग्राममा रहेको चैत्यको चारवटा सांस्कृतिक युगसंग सम्बद्ध पुरावशेष र ई.पू. छैटौ शताब्दीदेखिका दसवटा तहहरू फेला परेका थिए । ई.सं. १९७० देखि प्रो. केञ्जो टाँगेको योजना अनुरूप यहाँ विभिन्न पक्षको विकास र बिस्तार योजना संचालन गरिदै छ । ई. सं १९७५–८३ सम्म नेपालले उत्खनन गर्दा हस्तिनापुरको तेस्रो चरणको एन.वी.पी. चरणसँग सामीप्य रहेका माटाका भाँडाबर्तन, खेलौना, मूर्ति आदिका टुक्राहरु उपलब्ध भएका छन् । यहाँको उत्खननमा पुरातत्व विभागबाट बाबुकृष्ण रिजाल, तारानन्द मिश्र आदि संलग्न थिए ।
तर खास प्रतिवेदन भने प्रकासित गरिएन् । ई. सं. १९९४ देखि जापानी बौद्ध संघले मायादेवी मन्दिरको उत्खनन ग¥यो । यसको तल्लो भागमा पन्ध्रवटा आयताकार कोठाहरू फेलापरेका छन् । उत्तरपट्टिको दोस्रो चरणको दोस्रो कोठाको बीचमा कङलोमिरेट स्टोन फेला परेको छ ।
सलाई बुद्धको ठीक जन्मस्थल संकेत गर्न राखिएको ढुंगा मानिएको छ । मायादेवी मन्दिरको गर्भगृहको ठीक तलपट्टि यसरी ढुँगा पाइनाले यसबारे विशेष चासो रह्यो । अशोक स्तम्भमा ब्राह्मी लिपिमा “सिलाभिगड भिचा” भन्नाले यसै प्रस्तरलाई संकेत गरेको भनिन्छ । यसलाई संरक्षण गरी मन्दिर बनाइएकोछ । युनेस्कोसमेतको संलग्नतामा संचालित भू–भौतिक अध्ययनले उसको प्राचिनता करिब ई.पू तेह्रौ शताब्दीको आसपासमा पुग्ने संकेत गरेको छ ।
लुम्विनी विकास गुरु योजना अनुरूप यहाँ पुरातात्विक बगैचा, बिहार क्षेत्र तथा लुम्बिनी ग्रामसमेत तीन भागमा विभाजन गरी लुम्बिनी विकास कोषले कार्य संचालन गर्दै आएको छ । पुरातात्विक क्षेत्रमा रहेका स्मारक तथा अवशेषहरुमा अशोक स्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, उत्तर–दक्षिण पँतिmबद्ध ६ वटा स्तूप, भोटे चैत्य, बिहार खण्ड, पंचमार्क मुद्रा, मूर्तिहरू, भाँडावर्तन, गहनाका टुक्रा, ईटादि विशेष महत्वपूर्ण छन् । बिहार खण्डको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महासांघिक मुलुक तथा संघसंस्थाहरूले आ–आफ्नो राष्ट्रिय परम्परा र ढाँचामा विभिन्न बिहार, स्तूपादि भागहरू निर्माण गर्दै आएका छन् ।
यस क्रममा पूर्वपट्टि थेरबादी विहार, ध्यानकेन्द्र, अन्तर्राष्ट्रिय भिक्षुणी संघ, म्यान्मार सरकार, थाइलैण्ड सरकार, महाबोधि सोसाइटी कोलकोटा, श्रीलड्ढा सरकार तथा कम्बोडियन सरकारले विभिन्न प्लटहरूमा प्रायः निर्माणकार्य पुरागरिसकेका छन् । पश्चिमपट्टि पण्डिताराम अन्तर्राट्रिय ध्यानकेन्द, मनाड्डस्तूप, चिनियाँ मन्दिर, तारा फाउन्डेसनको लोटस स्तूप, भेतनामस्तूप, धर्मोदय सभा स्तूप तथा बिहारको निर्माणकार्य समाप्त भइसकेको छ । यस क्षेत्रमा जापानको सोक्यो, अष्ट्रिया, फ्रान्सको लिन्सन, कोरियन आदि बिहार तथा स्तूपहरू निर्माणाधिन अवस्थामा रहेका छन् । लुम्विनीलाई पुर्नजीवन प्रदान गर्ने विभिन्न विहार, स्तूप, वृक्षारोपणादि कार्यक्रमहरू संचालन गरिदै आएका छन् ।
लुम्विनीको विश्वशान्ति दीप, नेप्पोनजान म्योहोजी (विश्व शान्तिस्तूप), फ्रान्सबाट प्राप्त शान्तिघन्ट, लुम्बिनी संग्रहालय, लुम्बिनी अन्तर्राट्रिय अनुसन्धान केन्द्र, मैत्रिपुल, सारस संरक्षण परियोजना आदि महत्वपूर्ण सम्पदाहरू यहाँ अवस्थित छन् । विश्वका विभिन्न बौद्ध धर्मावलम्बी मुलुकहरूको संगमस्थल भएकोले यसलाई “बौद्ध संसार” र विश्व शान्तिको मुहान पनि भनिन्छ ।
एसियाका तारा एवं शान्तिका अग्रदूत मानिने गौतम बुद्धको पवित्र जन्मथलो भएकोले प्रत्येक वर्ष हजारौ तीर्थालुजनहरू लुम्बिनी आउने गर्दछन् । ईशापूर्व छैटौ शताब्दीतिर देखिएको सामाजिक आडम्बर तथा बिकृतिहरूको अन्त्य गर्ने जोराष्टर, कन्फ्यूसियस, लाउत्से जस्तै गौतम बुद्धपनि एक समाजसुधारक थिए ।उनले तत्कालीन समाजमा देखिएको अराजकता, बैमनुष्यता तथा अशान्तिको अन्त्य गरी शान्ति स्थापनामा विशेष योगदान दिएका थिए ।
बुद्धत्व प्राप्त पश्चात् उनका उपदेशहरूको लोकप्रियता बढ्दै गयो । बुद्धका उपदेशबाट पे्रित भई अशोक जस्ता सम्राटसमेत अहिंसाको मार्ग अवलम्बन गर्न पुगे । उनले नेपाल, भारत र पाकिस्तान समेतका क्षेत्रमा अभिलेखसहितका स्तम्भ खडागरे । यो बुद्ध र शान्तिप्रतिको आघात आस्थाको उपज थियो ।
बुद्धले उपदेसनाको क्रममा आफ्ना शिष्यलाई भनेका थिए—“ हिंसाले हिंसामाथि विजय प्राप्त गर्न सक्दैन, प्रेमलेमात्र हिंसामाथि विजय प्राप्त गर्न सक्दछ ।” झण्डै पच्चीस सय बैसट्ठी बर्षको अन्तरालमा समेत शान्तिका प्रतीक मानिने बुद्धको जन्मथलो लुम्बिनी सम्पूर्ण मानवमात्रको लागि शान्तिको सहर बनेको छ । विश्वशान्ति दीपले शान्तिको ज्योति प्रज्ज्वलित गरिरहेको छ ।
जापानले बनाएको शान्तिस्तूप र यहाँका बुद्धले प्राणीमात्रलाई शान्तिको सन्देश दिइरहेको अनुभूति हुनेगर्दछ । शान्तिघण्टले पनि शान्तिको शंखनाद गरिरहेको छ । भौतिक दृष्टिले वर्तमान स्मार्ट सिटीको प्रारम्भिक कार्य सुरु भएको छ । प्राचीन अवशेष र नव लुम्बिनीग्रामको निर्माण तथा आसपासको विकासले सहरको अस्तित्व पुष्टि भइसकेको छ । साँझ बिहान विभिन्न विहार र स्तूपहरूको शान्तिको गुञ्जाहट र ध्वनीले समेत दैविशक्ति बढाउँदै गएको छ ।
कोलाहल र व्याकुलताले निसास्सिएका मानवमात्रको बिस्रामस्थल बनेको लुम्बिनीलाई विश्वशान्ति सहरको रूपमा रूपान्तरण गर्न प्रो. क्वाकको परियोजना प्रतिक्षाको घडीमा छ । शस्त्रअस्त्रको होटवाजीमा तडपिएको मानवलाई यो एकमात्र आस्रयको थलो बन्न सक्दछ । नयाँ अवलोकन योग्य स्थलहरूको विकास र विस्तार गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित ढंगले संचालन गरेमा सांस्कृतिक, र्तीथयात्रीय, प्राकृतिक आदि पर्यटन उद्योगलाई अझ सशक्त ढंगले संचालन गर्नसकिन्छ ।
परिवर्तित सन्दर्भमा सरकार तथा नागरिक समाज अझ चनाखो भएमा यहाँ सुनकुखुरी ओथ्रा बस्ने छ । शान्तिको छहारीमा राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको जगेर्ना हुनेछ, सामाजिक रूपान्तरण भई सम्पन्ताले आधारभूत आवश्यक्तालाई छुनेछ, यसमानै बुद्धको यथार्थ सम्मान हुनेछ शान्तिको ज्योतिले अहड्ढार धुनेछ ।
यस पवित्र थलोमा समानता, सहचार्यता, सहअस्तित्व, समृद्धि र स्वतन्त्रता रमाउने छन्, सबै नेपालीले रोजगार पाई पैसा कमाउने छन् । स्वाभिमानताका साथ नेपाल र नेपाललीको पहिचान विश्वमा थमाउने छन् । लुम्बिनी विश्वशान्ति सहर यसैमा रमाउने हाम्रो रहर पुरा हुने छ ।
अप्प दीप भवः
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्