सीमसारको मर्मविपरीत जथाभावी संरचना बन्दा चराहरूको बासस्थान संकटमा

सीमसारको मर्मविपरीत जथाभावी संरचना बन्दा चराहरूको बासस्थान संकटमा

कपिलवस्तु । सीमसारको मर्म विपरीत कपिलवस्तुको जगदीशपुर तालमा भौतिक संरचनाको काम अघि बढाइएपछि पंक्षीहरूको बासस्थान नै संकटमा पर्ने देखिएको छ ।

पर्यटकीय विकासको नाममा बिना अध्ययन कपिलवस्तुको जगदीशपुर तालमा भौतिक संरचना निर्माण गरिएकाले तालको चराहरूसहित तालको अस्तित्व नै संकटमा पर्र्ने भन्दै पंक्षी संरक्षणकर्मीले ध्यानाकर्षण गरेका छन् । विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल सीमसारको अवधारणा विपरीत बिना स्किृति पूर्वाधार निर्माण थालिएपछि संरक्षणकर्मी चिन्तित बनेका हुन् ।

संरचना निर्माणसँगै चराको बासस्थान संकटमा पर्ने उनीहरू बताउँछन् । ताल संरक्षणका लागि अभियान चलाउन उनीहरूले चासो व्यक्त गरेका छन् । चराका लागि मुलुककै प्रतिष्ठा तालसँग जोडिएकाले जथाभावी संरचना निर्माण गर्न नहुने उनीहरूले बताएका छन् । पर्यटकीय आकर्षण थप्न भन्दै जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चले तालको बीच भागमा गौतम बुद्धको मूर्ति बनाउन लागेको छ ।

मूर्तिका लागि बीचोबीच भागमा ७० फिट गोलाईको माटोको ढिस्को बनाइएको छ । ढिस्कोलाई चारैतिरबाट १५ फिट उचाईको पिपिसी ढलान गरी मजबुत बनाइएको छ । ढिस्को जमिनको सतहदेखि १० फिट उँचो छ । ढिस्को चढ्न उत्तर र दक्षिणबाट पक्की सिढी पनि बनाइएको छ ।

अब ढिस्कोलाई सरसफाई गरी मूर्ति राख्न मात्र बा“की छ । ढिस्कोसम्म पुग्न डुंगा चलाउन कपिलवस्तु नगरपालिका वार्ड नं. ९ र १० ले चालु आवमा ५÷५ लाख बजेट विनियोजन गरेका छन् । द्रुत गतिमा भएको काम देखेपछि चराविद् र संरक्षणकर्मी चिन्तित छन् । कपिलवस्तु नगरपालिका वार्ड नं. ९ मा पर्ने ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको थियो ।

ताल जैविक विविधता, सीमसार र चराका कारण महत्वपूर्ण भएकैले नै स्विटजरल्याण्डमा रहेको रामसार सचिवालयले रामसार साइटमा सूचीकृत गरेको थियो । ‘तालको बीच भागमा मूर्ति राखे मानवीय चहलपहल बढ्छ’, वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘त्यस्ले गर्दा चरा असुरक्षित महसुस गरेर बासस्थान संकटमा पर्छ ।’ त्यसैले चराको आगमन घट्दै गई सीमसार क्षेत्रनै नासिने उनले बताए ।

‘मुलुककै पहिचान जगदीशपुर तालले बोकेको छ,’ संरक्षणकर्मी राजु आचार्यले भने– त्यसैले पंक्षीलाई असर पुग्ने खालको काम गर्नु हुँदैन्, प्रकृतिले दिएको मनोरम स्थल जोगाउन आजैबाट लाग्नु पर्छ ।’ ताल चरा मात्र नभई ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाइन्छ ।

विश्वमै दुर्लभ पानी बिरालो पनि तालमा पाइन्छ । १ सय ५७ हेक्टरमा फैलिएको तालमा १ सय ६७ बढी प्रजातिका चरा पाइने रेकर्ड रहेको छ । तालमा मानविय अतिक्रमण बढदा पारिस्थितिकिय प्रणालीमा समेत असर पुग्छ । यस्ले कृषि उपज, बालीनालीको उत्पादनमा समेत असर पुग्छ । वातावरण समेत प्रदूषित बन्छ । तत्कालै नदेखिने र महसुस नहुने कामलाई पनि प्रभाव पार्दै जान्छ ।

‘चरा र जैविक विविधतालाई असर नपु¥याई काम गर्न लागेका हौं’, जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्च सदस्य ललित गुरुङले भने, ‘यसललाई सकारात्मक रूपमा लिनुपर्छ ।’ तालबाट स्थानीयलाई आयआर्जन र रोजगारीका लागि जोडेर अपनत्व बढाउन लागेको उनले बताए ।

‘कतैबाट रकम ल्याएका छैनौं’, उनले भने, ‘स्थानीय स्तरमा स्रोत संकलन गरेर काम गरिरहेका छौं ।’ निर्माण कामको कतैबाट अनुमति लिएको पाइँदैन । रामसार क्षेत्रमा सूचीकृत स्थानमा काम गर्नु पर्दा रामसार अथुरटीसँग अनुमति लिनु पर्छ । रामसारको राष्ट्रिय रूपमा राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभाग प्रतिनिधि हो । जिल्लामा वन कार्यालय हो ।

‘प्रस्ताव स्विकृति नगराई कुनै काम गर्न पाइँदैन’ राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका ईकोलोजिस्ट लक्ष्मण पौड्यालले भने, ‘त्यस्तो काम गैरकानुनी हो’, काम गर्नु पर्दा वातावरणीय प्रभाव मूल्याङ्ककन सहित प्रस्ताव तयार गरेर सम्बन्धित अधिकारीसँग पेश गर्नु पर्छ, त्यसपछि बृहत छलफल, अध्ययन गरी काम गर्न दिने नदिने निर्यण लिइन्छ ।

‘कम्तीमा एक पटक सरोकारवालासंग छलफल गरेर काम गरेको भए राम्रो हुन्थ्यो’, चराविद् सोम जिसीले भने, ‘विश्वकैलागि महत्वपूर्ण चरा क्षेत्र संकटमा पर्ने कुराले निकै चिन्तित छु ।’ विस्तारै विदेशी पर्यटकको पनि राम्रो गन्तब्य बन्दै थियो, अब चराप्रेमीका लागि उत्कृष्ट स्थल घट्ने संकेतले मुलुककै पर्यटनका लागि असर पुग्ने उनको भनाइ छ ।

‘यहाँ पर्यटकलाई नजिकबाट सयौं चरा देखाउन सकिन्थ्यों’ उनले भने, ‘अब कहाँ लगेर देखाउने भनेर तनावमा छु ।’ मानवीय अतिक्रमण बढ्दा बासस्थान टुक्रन्छ । बासस्थान फेरिन्छ । बासस्थान संकटमा पर्छ । जुन चराका लागि राम्रो हैन । यसले आगन्तुक र रैथाने चरालाई नराम्रो असर गर्छ,’ उनले भने । एक÷दुई घण्टामै ४० बढी प्रजातिका चरा देख्न पाइन्छ, यहाँको महत्व त्यसै उजागर हुन्छ’, चराविद् दिनेश गिरीले भने, तर अब तालमा मानवीय अतिक्रमण बढ्ने संकेतले चिन्तित बनाएको छ ।

तालमा चराका फोटो खिच्न मात्रै देश विदेशबाट कयौँ फोटो पत्रकार र पर्यटकहरू आउँथे । ‘यसले देश विदेशमा जगदीशपुरको राम्रो प्रचार पाएको थियो’, उनले भने, ‘अब त्यसलाई कसरी बचाई राख्ने भन्ने बेलैमा सोच्नु पर्ने उनले बताए । राम्रो आहार विहारले ताल चरा गन्तब्य बन्दै गएको छ । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने राम्रो वातावरण छ ।

चराहरू उन्मुक्त वातावरणमा रमाउँछन् । आहार विहार, जलक्रिडा गर्छन् । कतिपयले बच्चा पनि कोरल्छन् । तालभित्र लुक्ने, बस्ने र आहारका लागि राम्रो वातावरण छ । यो देख्दा पर्यटक उत्तिकै रमाउँछन् । ‘ठूलो ताल हँुदा जता पनि रमाउन पाउँछन्’, कछुवा तथा सरिसृप विशेषज्ञ प्रोफेसर डा. करणबहादुर शाहले भने, ‘सुरक्षित पनि उत्तिकै महसुस गर्छन् ।’

‘तर तालमा संरचना निर्माण हुँदा जोगाउन चुनौती बढेको छ’, उनले भने । ‘मुलुकमै एकै ठाउँबाट सबैभन्दा धेरै चरा देखिने ठाउँ जगदीशपुर थियो’, उनले भने, ‘यो उपमा जोगाउन चुनौती थपिएको छ ।’ मुलुकमै उत्कृष्ट चरा अवलोकनको गन्तब्य बनेर पर्यटनमा राम्रो टेवा दिएको जगदीशपुर ताल संरक्षण गर्न स्थानीय नै लाग्नु पर्छ ।

पानी चरा खासगरी जाडो छल्न हिउँदयाममा नेपाल आउँछन् । यसै क्रममा तालमा साईबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्ता र किर्किस्तान लगायतका देशबाट चरा आउने गर्छ । प्रत्येक वर्ष संख्या बढनुले तराईमा जगदिशपुर उपयुक्त बासस्थल बनेको थियो । आहार विहार, जलक्रिडा गर्छन् । कतिपयले बच्चा पनि कोरल्छन् । विगत ५ वर्षदेखि यहा जलपंक्षी बढ्दै गएका छन् ।

सन् २०१२ मा तालमा ९ हजार चरा थियो । अहिले बढेर यस वर्ष २२ हजार ४ सय ९१ जलपंक्षी गणना गरिएको थियो । सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं. ९ मा पर्र्ने ताल कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । ताल सिंचाई गर्ने उद्देश्यले बनाइएको हो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij