काठमाडाैँ । अस्वस्थकर जीवनशैलीका कारण पछिल्लो समय बिपीका बिरामीको संख्या अत्यधिक रूपमा बढ्दो छ । उच्च रक्तचाप नियन्त्रण धेरैको चिन्ताको विषय हुन्छ । किनकि, यसलाई समयमै सन्तुलनमा राख्न नसके ज्यान नै जान सक्छ । कतिपय बिपीका बिरामीले औषधि सेवनबाहेकका विकल्प पनि खोजिरहेका हुन्छन् । के औषधि सेवनविनै बिपीलाई सन्तुलनमा राख्न सकिन्छ त ? मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बताएका छन् :
नुन
नुनको रक्तचापसँग सीधा सम्बन्ध हुन्छ । दैनिक खानामा नुन घटाउन सके रक्तचापको मात्र नभई हर्ट, ब्रेन डिजिजको सम्भावित दुर्घटनाबाट पनि जोगाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार हामीले खानुपर्ने मात्राभन्दा तीन गुणा बढी नुनको सेवन गरिरहेका हुन्छौँ ।
विभिन्न प्रडक्टका माध्यमबाट पनि त्यसरी बढी नुस सेवन गरिरहेका हुन्छौँ । यसरी नुनलाई कम गर्न सकेमा औषधि नै खान नपर्ने अवस्था पनि सिर्जना हुन सक्छ ।
तर,
नुन मात्र घटाएर ब्लडप्रेसर सन्तुलनमा भने आउँदैन । किनकि, ब्लडप्रेसरको कारण नुन मात्र होइन । मोटोपन, मदिरा, चुरोट सेवन, स्टेस, वंशानुगत आदि कारणले उच्च रक्तचापको समस्या निम्तिने गर्छ । त्यसैले एक–दुई दिन नुन नखानेजस्तो गलत अभ्यास पनि गरेको पाइन्छ ।
जसका कारण ब्लडप्रेसर ह्वात्तै घट्न जान्छ । तर, त्यो अस्थायी प्रतिक्रिया मात्र हो । केही समयपछि शरीरले बिस्तारै फेरि एडप्ट गर्न थाल्छ । जसले गर्दा पुनः समस्या निम्तिन सक्छ । त्यसैले एकपटक घट्यो भनेर बेवास्ता गर्नु हुँदैन ।
अर्को कुरा शरीरमा नुनको कमी हुँदा ‘हाइपोनेटेमिया’जस्ता समस्या पनि सिर्जना हुन सक्छ । जसका कारण मुर्छा पर्नेजस्ता समस्या निम्तिने गर्छ । नुन कम गर्नु भने निकै राम्रो हो । यसका लागि बढी नुनयुक्त खाना, डब्बामा राखिएको चाउचाउलगायतका खाद्यपदार्थबाट पनि बच्नुपर्छ ।
डाइट
वैज्ञानिकहरूले सन्तुलित खानालाई डिएएसएच (डास) डाइट भन्छन् । डास डाइटलाई अपनाउँदा तौल, बिपी घट्ने कुरा विभिन्न रिसर्चले पनि प्रमाणित गरिसकेका छन् । यसमा फलफूल, सागसब्जी, रेसादार खानेकुरा, गेडागुडी, चिल्लो, नुन, मांसाहारी कम हुन्छ ।
तर, यो डाइटले कम तेलमा माछाको प्रयोग गर्न भने प्रोत्साहन गर्छ । तर, यस्तो डाइटले १०–१५ दिनमै बिपी घट्ने भने हुँदैन । यदि घटिहाल्यो भने पनि हेलचक्रयाँइ गर्नुहुँदैन, पुनः बढ्न सक्छ ।
तर, डाइटबाट बिपी घटाउनुको पनि एउटा लिमिट हुन्छ । यदि बिपी बोर्डर लाइनमा छ भने डाइटबाट सन्तुलित राख्न सकिन्छ । तर, बिपी १८० बाई ११० पुग्दा पनि डाइटबाटै कन्ट्रोल गर्छु भन्नुचाहिँ मूर्खता हो । डाइटले बिपी कन्ट्रोल भने हुन्छ । डाइटले बिपी मात्र नभएर कोलेस्ट्रोल, सुगर, डायबिटिजजस्ता समस्या पनि कम हुँदै जान्छ ।
सम्भव छ ?
औषधिको सेवनविनै रक्तचाप घटाउनु सबैभन्दा उत्तम उपाय हो । किनकि, औषधिको प्रयोगले साइड इफेक्ट पनि हुन सक्छ । तर, जस्तोसुकै अवस्थामा पनि डाइटबाटै उच्च रक्तचाप कम गर्छु भनेर लागियो भनेचाहिँ त्यसले दुर्घटना निम्त्याउन सक्छ । यस्तो हठले ज्यान नै जोखिममा हुन्छ । प्रेसरले मुटु र मिर्गौलालाई असर गर्दा पनि डाइटबाटै कन्ट्रोल गर्छु भनेर लाग्नु हुँदैन ।
विशेषगरी, लाइफस्टाइल सुरक्षाका लागि उपयुक्त हो । तर, रोग लागिसकेपछि भने डाइट मात्र प्रभावकारी नहुन सक्छ । त्यसैले त्यस्तो आवस्थामा अल्पकालीन भए पनि औषधिको प्रयोग गर्नुपर्छ । तर, डाइटले ब्लडप्रेसर सन्तुलनमा आउनै सक्दैन भन्नेचाहिँ होइन । यदि डाइट रुललाई स्ट्रिक्ली कन्ट्रोल गरेमा माथिको १० प्वाइन्ट र तलको ५ एमएमको ब्लडप्रेसर घट्न सक्छ ।
के करेलाले घट्छ ?
धेरै बिरामीबाट सुनिन्छ कि तितेकरेला खाएर बिपी घट्यो, अनार खाएर बढ्यो । तर, मलाई त्यस्तो लाग्दैन । तर, पृथ्वीका हरेक डाइटको आफ्नै महत्व भने छ । प्लान्ट बेस डाइटको आफ्नै न्युट्रिसियन भ्यालु छ । तर, १० वर्षदेखि अस्वस्थकर जीवनशैली जिइरहँदा दुई दिन करेला खाएर बिपी कम हुन्छ भन्नेचाहिँ भ्रम मात्र हो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्