टुट्याे राप्रपाकाे एकता !

टुट्याे राप्रपाकाे एकता !

सबै भागबण्डा मिली सकेपनि दुई बिषयमा कुरा नमिल्दा २६ कार्तिकमा गर्ने भनिएको राप्रपाका तीन घटकहरुबीचको एकता अन्तिम समयमा रोकिन पुग्यो। एकताका घोषणाका लागि राष्ट्रिय सभा गृहको हल समेत बुकिङ भइसकेको स्थितिमा एकतामा अबरोध गर्ने ती दुई विषय थिए, चुनाव चिन्ह र राजतन्त्रलाई हेर्ने दृष्टिकोण।

कमल थापा नेतृत्वको राप्रपाको मूलघटकले गाईलाई नै पार्टीको चुनाव चिन्ह बनाउनुपर्ने शर्त अघि सारेको थियो भने पशुपति शमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) ले चाहिँ ‘हलो’ लाई एकिकृत पार्टीको चुनाव चिन्ह बनाउनु पर्ने शर्त राखे।

राणा र लोहनीले विभाजन अघि लामो समयसम्म राप्रपाको चुनाव चिन्ह हलो भएको बताउँदै यही चुनाव चिन्ह राप्रपाको पहिचानपनि भएकाले हलोलाई निर्वाचन चिन्ह बनाउनुपर्ने शर्त राखेका थिए। तर, उनीहरुको तर्कमा राप्रपा अध्यक्ष कमल थापा सहमत हुन सकेनन्। उनले एकिकरणपछि गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने शर्त अघि सारे।

‘एकजना भएपनि प्रतिनिधि सभामा गाईबाट निर्वाचित सांसद छन्, प्रदेश सभामा ३ जना छन्, स्थानीय तहमा यही चिन्ह लिएर विजय हासिल गरेका १५ जना प्रमुख-उपप्रमुख छन्’ थापाको भनाई थियो, ‘यही चुनाव चिन्हका कारण ०७० मा हामी संसदमा चौँथो ठूलो दल भयौँ, त्यसैले गाईबाहेक अर्काे चुनाव चिन्हको कल्पना नगरौँ।’

थापा गाई चुनाव चिन्ह नछाड्ने पक्षमा देखिएपछि राणा र लोहनीले यस विषयमा छलफलका लागि १५ दिनको समय माग गरेका थिए। २५ कार्तिकमा भएको अन्तिम कुराकानीका क्रममा उनीहरुले थप १५ दिनको माग गर्नुको परिणाम हुन्थ्यो, भोलिपल्ट (२६ कार्तिक) गर्ने भनिएको एकता घोषणा सभा रद्द हुनु।

त्यसअघि, अन्य विषयमा कुरा मिलिसकेकाले थापा, राणाले २६ कार्तिकका लागि राष्ट्रिय सभागृहको हल बुक गरिसकेका थिए। राप्रपा कोषाध्यक्ष उद्धब पौडेल र राप्रपा (प्रजातान्त्रिक) का कोषाध्यक्ष नीलकण्ड काफ्लेले संयुक्त रुपमा पार्टी एकता घोषणा सभाका लागि हल बुक गरेका थिए। यसमा एकिकृत राप्रपा (राष्ट्रवादी) का लोहनीको पनि सहमति थियो।

त्यसो त, चुनाव चिन्हबाहेक दुई पक्षबीच एउटा सैद्धान्तिक विषयपनि मिलिसकेको थिएन। त्यो थियो, राजतन्त्र सम्बन्धी विषय। थापा नेतृत्वको राप्रपा र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) पार्टी दस्तावेजमा ‘संबैधानिक राजतन्त्र’ लेख्न चाहन्थे भने राणा नेतृत्वको राप्रपा ‘सबै परम्परागत शक्तिलाई मिलाएर लैजाने’ उल्लेख गर्न चाहन्थ्यो।

नमिलेका यी दुई विषयबाहेक अन्य अप्ठेरा विषय चाहिँ सल्टिसकेका थिए। अन्य पार्टीलाई झैँ राप्रपाका घटकहरुबीच एकताका लागि अप्ठेरो र सम्वेदनशील विषय पदीय भागबण्डा थियो। तर, अध्यक्ष, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति जस्ता निकायको भागबण्डासमेत यी तीन घटकले सहज रुपमा टुङ्ग्याइसकेका थिए।

नेतृत्वका सम्बन्धमा तीन अध्यक्ष- कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी- राख्ने सहमति तीन घटकबीच भएको थियो भने १ सय ८२ सदस्यीय केन्द्रीय समितिमा राप्रपाबाट ८६, राप्रपा (प्र) बाट ७६ र एकिकृत राप्रपा (रा) बाट २० जना राख्ने सहमतिमा पुगेका थिए। २७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा क्रमश १२, १२ र ३ जना राख्ने सहमति जुटेको थियो।

२६ कार्तिकमा एकता घोषणा सभा गर्ने तय भएपछि राप्रपा अध्यक्ष थापाले २५ कार्तिकमा राप्रपा अध्यक्ष कमल थापाले केन्द्रीय समितिको बैठक डाके, एकता सम्बन्धमा बिस्तृत जानकारी गराउन। बैठक चल्दाचल्दै थापालाई राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाको फोन आयो। थापा बैठक टुङ्ग्याएर महाराजगञ्जस्थित ‘ला शेर्पा होटल’ पुगे।

राप्रपाका स्वर्गीय नेता राजेश्वर देवकोटाको घर भाडामा लिएर यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पाकी छोरीले खोलेको सो होटलमा अध्यक्ष राणासँग भएको भेटपछि थापाले थाहा पाए, परिस्थिति बदलिसकेको रहेछ। राणाले ‘गाई’ लाई एकिकृत पार्टीको चुनाव चिन्ह र सम्बैधानिक राजतन्त्र मान्न नसकिने आफ्नो ‘बटम लाइन’ सुनाए।

राणासँग डा लोहनीले पठाएको सन्देश पनि थियो। ‘गाईलाई चुनाव चिन्ह बनाउने विषयमा उहाँको पनि असहमति छ, उहाँको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा यस विषयमा छलफल भएको छैन रे’ राणाले थापासँग भने, ‘उहाँले सहमतिका लागि १५ दिनको समय माग्नु भएको छ। त्यसैले, १५ दिन कुर्नुपर्ला।’

यही कुरा लोहनी आफैले थापालाई भन्न सक्ने थिए, तर उनले सन्देश राणामार्फत् पठाए। यसको अर्थ थियो, एकताका विषयमा राणा र लोहनी एकजुट भएर आउन चाहन्छन्। थापा आफैले लोहनीलाई फोन गरे। उनले आफू अप्ठेरोमा परेको बताउँदै आफ्नो पार्टीभित्र एकताको पक्षमा सकरात्मक माहोल बनाउन १५ दिनको समय आवस्यक भएको सुनाए।

परिणाम, २६ कार्तिकमा गर्ने भनिएको घोषणा सभा रद्द भयो। एकता प्रक्रिया पनि तत्कालका लागि टुङ्गियो। यसरी टुङ्गो भइसकेको एकता प्रक्रिया अन्तिम समयमा आएर असफल भएपछि थापा नेतृत्वको राप्रपा खेमामा चर्काे निराशा छ।

‘एकता प्रक्रिया टुङ्गिसकेको भन्ने त होइन, तर एकता गर्ने भनेर जुन दिनका लागि घोषणा सभा नै आयोजना गरिएको थियो, त्यो मितिमा हुन नसक्दा नमीठो लाग्नु स्वभाविकै हो’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘केही दिनपछि फेरि एकताका लागि अर्काे चरणको प्रयास सुरु हुन्छ।’

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij