विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिकासाथ काम गरिरहेको बताएका छन् ।

विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ बैठकको साेमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनःस्थापनाका साथै पुनःनिर्माणका लागि काम अहिले पनि जारी रहेको बताए ।

उनले अन्य मुलुकका अनुभवलाई समेत ध्यान दिएर समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा पुनःनिर्माणमा सरकार गम्भीरताका साथ लागिरहेको उल्लेख गरे ।

प्राकृतिक विपद्को कुनै सीमा र पूर्वानुमान नहुने भएकाले पूर्व तयारी, सूचना, विज्ञान र प्रविधिमा आधारित निर्णय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपालको भूगोलका आधारमा विपद्का विविधतालाई ध्यान दिएर सरकारले पूर्व तयारीका क्रममा आपतकालीन व्यवस्थापन र राहतको व्यवस्थापन गरेको जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापाले नेपालमा विभिन्न विपद्का कारण दैनिक सरदर तीन जनाको अकालमा ज्यान जाने गरेको बताउँदै विपद्का कारण मानवीय, भौतिक र वातावरणीय क्षति भई गरीबी बढ्ने कारण पनि हुने गरेको जनाए ।

उनले हिमाल पग्लने र भारी वर्षाका कारणले पनि विपद् वृद्धि हुने गरेको उल्लेख गरे । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले विभिन्न प्रकारका विपद्का कारण मुलुकको कूलगार्हस्थ उत्पादनमा करीब दुई प्रतिशतले ह्रास आउने गरेको बताए ।

एशिया प्रशान्त क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी २६ मुलुकका निकायका प्रतिनिधि र साझेदार संस्थाका प्रतिनिधिबीचको सहभागिता रहेको बैठकमा दीगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे छलफल हुनेछ । बैठकमा आरसिसी कमिटिका अध्यक्ष मुहम्मद इड्रे ९पाकिस्तान० ले नेपाललाई अध्यक्षता हस्तान्तरण गरे ।

तीन दिनसम्म सञ्चालन हुने यस बैठकमा एसियाली विपद् पूर्वतयारी केन्द्रका सदस्य राष्ट्रहरुसहित विश्वका करिब ३० देशका १५० जनाको सहभागिता रहेको छ ।

विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण तथा जलवायु अनुकूलनसम्बन्धी क्षमता अभिवृद्धिका सम्बन्धमा छलफल हुनुको साथै अनुभव आदानप्रदान हुने गर्दछ ।

एसियाली विपद् पूर्वतयारी केन्द्रका सदस्य राष्ट्रहरुबीच विपद् जोखिम न्यूनीकरणका लागि सेण्डाइ संरचना, दिगो विकास लक्ष्य र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले निर्दिष्ट गरेका मानवीतासम्बन्धी निर्णयहरुको कार्यान्वयनका बारेमा बैठकमा छलफल हुनेछ ।

यसअघि यस किसिमको बैठक सन् २००० र २००१ मा थाइल्याण्ड, सन् २००२ मा भारत, सन् २००४ मा बङ्गलादेश, सन् २००५ भियतनाम, सन् २००६ मा चीन, सन् २००७ मा श्रीलङ्का, सन् २०१० मा फिलिपिन्स, सन् २०१० मा कम्बोडिया, सन् २०१३ मा मङ्गोलिया, सन् २०१४ मा म्यान्मा, सन् २०१५ मा भुटान र सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij