बुटवल । मंसिर शुरु हुँदासम्म लुम्बिनी आउने स्वदेशी विदेशी पर्यटकको संख्या १५ लाख नाघिसक्यो । सम्भवतः यो वर्ष करिव १७ लाख पर्यटकले लुम्बिनी घुम्नेछन् ।
तीमध्ये १३ लाख स्वदेशी र ४ लाख विदेशी पर्यटक रहने लुम्बिनी विकास कोषको अनुमान छ ।
भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हुनेछ ।
सन् २०२५ सम्ममा लुम्बिनी आउने विदेशी पर्यटकको संख्या १० लाख पुग्नेछ । करिव ३० लाख आन्तरिक पर्यटकले लुम्बिनी घुम्नेछन् । (सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रबद्र्धन योजना —२०७२)

त्यसरी आउने मध्ये विदेशी ६० प्रतिशत र नेपाली ४० प्रतिशत आध्यात्मिक पर्यटक हुनेछन् । ती आध्यात्मिक पर्यटकहरुले कपिलवस्तु, देवदह र तिलौराकोट घुम्नेछन् ।
ती पर्यटकहरुलाई बुटवल, भैरहवा, पाल्पा लगायतका क्षेत्रसंग खास चासो हुनेछैन । तर धार्मीक बाहेकका विदेशी ४ लाख र स्वदेशी १२ लाख पर्यटकहरुलाई लुम्बिनी बाहेकका अरु क्षेत्रसंग पनि चासो हुनेछ ।
सरकारको सन् २०२५ सम्मको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रबद्र्धन योजनालाई पछ्याउंदै आन्तरिक पर्यटन योजना निर्माण गर्न सक्ने हो भने बुटवल, तिलोत्तमा र सैनामैना आसपासको पर्यटनले पनि फड्को मार्नेछ ।
तत्कालका लागि पर्यटकीय नगरीको रुपमा विकास गर्न नसकिएपनि बुटवल, तिलोत्तमा र सैनामैनालाई एउटै महानगरको रुपमा विकास गरेर आगामी ५ वर्ष पर्यटन विश्राम स्थल र त्यसपछि आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रशस्त सम्भावना छन् । (बुटवलको पर्यटकीय सम्भावना : डा.गितु गिरी)

अहिले बुटवल घुम्न आउने पर्यटकहरुको आधिकारीक तथ्यांक छैन । अनौपचारिक तथ्यांक अनुसार घुम्नका लागि मात्रै बुटवल आउने विदेशी पर्यटकको संख्या १ सय भन्दा बढी छैन ।
तर वार्षिक ४० हजार भन्दा बढी भारतीय पर्यटकले अहिले बुटवलको फुलवारी र सिद्धवावा भ्रमण गर्न थालेका छन् । वार्षिक करिव ८ लाख आन्तरिक पर्यटकले फुलवारी घुमेका छन् । (मणिमुकुन्दसेन उद्यान पार्क फुलवारी —२०७४)
अर्को महत्वपूर्ण तथ्यांक छ की वार्षिक ५ लाख भारतीय पर्यटकहरु वेलहिया नाका हुंदै घुम्नका लागि नेपाल प्रवेश गर्छन् ।
ती मध्ये करिव ३ लाख पर्यटकहरु बुटवल हुंदै पोखरा घुम्न निस्किन्छन् । यो तथ्यांक वार्षिक २० प्रतिशतका दरले बढिरहेको छ । (होटल एशोसिएसन पोखरा—२०७४)
यसरी घुम्ने भारतीय पर्यटकहरुले पोखरामा ३ दिनसम्म बिताउने गरेका छन् । कतिपय मुक्तिनाथ सम्म जाने पर्यटकहरुले ५ दिन सम्म पोखरामा बिताउने गरेको तथ्यांक छ ।
तर लुम्बिनी आउने २० प्रतिशत भारतीय पर्यटकहरुले मात्रै १ रात बिताउने गरेका छन् । बांकी सवै उसैदिन फर्किन्छन् ।
बुटवल घुम्ने अधिकांश भारतीयहरु पनि यहाँ रात विताउंदैनन् । तर नेपाल घुम्ने र रात बिताउने भारतीय पर्यटकहरुको संख्या अपत्यारिलो ढंगले बढिरहेको छ ।

बुटवल हुंदै पाल्पा पोखरा जाने, बुटवलको फुलवारी र सिद्धवावा घुम्ने तथा लुम्बिनी आउने पर्यटकहरुलाई बुटवल, तिलोत्तमा र सैनामैनाका साथै माछाको हवको रुपमा विकास हुंदै गरेको छपिया सम्म घुमाउने र कम्तीमा एक रात मात्रै बास बसाउन सक्ने हो भने यहाँको पर्यटनले राम्रै गति लिनसक्छ ।
त्यसोृ भएकाले तत्काल तेस्रो मुलुकका पर्यटहरुको अपेक्षा गर्नुभन्दा पहिला आन्तरिक र भारतीय पर्यटकहरुका लागि आवश्यक पर्यटकीय विकास गर्न जरुरी छ ।
त्यसपछि क्रमशः विदेशी पर्यटकले पनि बुटवल, तिलोत्तमा र सैनामैना घुम्नेछन् । सैनामैनालाई लुम्बिनीसंग जोडेर जल पर्यटनको विकास छिटो गर्न सकिन्छ ।
तिलोत्तमाको टाइगर रिसोर्टमा आउने भारतीय पर्यटकलाई विस्तारै शंकरनगर वनबाटिका लगायतका स्थानहरुमा घुम्ने वातावरण बनाउन रिसोर्टका सञ्चालहरुसँग मिलेर नगरपालिकाले पहल गर्नुपर्ने देखिन्छ ।

सरकारको योजना अनुसार र्भैरहवामा अन्तराष्ट्रिय विमानस्थल समयमै सम्पन्न भए सन् २०२५ सम्म लुम्बिनी घुम्ने विदेशी र भारतीय पर्यटक तथा स्वदेशी पर्यटकहरुलाई बुटवल र आसपासका पर्यटकीय क्षेत्र घुमाउन यहाँका नगरपालिकाहरुले तत्काल आवश्यक योजनाहरु निर्माण गर्न जरुरी छ ।
त्यसका लागि बुटवल, तिलोत्तमा, सैनामैना र पाल्पाको तिनाउ गाउँपालिकाले संयुक्त पर्यटन योजना निर्माण गर्न सके अझ राम्रो हुनेछ ।
बुटवल र यहाँको पर्यटकीय सम्भावनालाइ हेरेर लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास योजनाले विभिन्न खालका योजनाहरु अघि सारिसकेको छ ।
भइरहेका सम्पदाहरुलाई प्रचार गर्दै निर्माण गर्नुपर्ने आवश्यक पर्यटकीय पूर्वाधारहरुको विकासमा लाग्नुपर्ने सुझाव पर्यटन योजनाले दिएको छ ।
त्यसका लागि चारवटै नगरपालिकाहरुमा सुविधा सम्पन्न होटल र सांस्कृतिक गतिविधिहरु बढाउनुपर्ने सुझाव समेत दिइएको छ ।

पर्यटन प्रबद्र्धनका लागि सम्वन्धित पर्यटकीय स्थलले ७ वटा महत्वपूर्ण काममा ध्यान दिनुपर्छ ।
उत्पादन, पहुँच (बाटोघाटो), खानेवस्ने ब्यवस्था, मार्केटिङ्, मानव संसाधन विकास, स्थानीय पूर्वाधार विकास तथा सम्पदा र वातावरणको संरक्षण । (पर्यटन प्रबद्र्धनका सूत्र ः रामचन्द्र सेढाईं, पर्यटनविद् —२०७२ )
यसको अर्थ पर्यटकहरुले चिनोको रुपमा किनमेल गर्ने स्थानीय आकर्षक सामग्रीहरुको उत्पादन, पर्यटकीय क्षेत्रसम्म सहजै पुग्न सक्ने सडक, हेर्ने घुम्ने र फोटो खिच्ने आकर्षक प्राकृतिक दृष्य, सम्पदा, खाने—वस्ने, किनमेल गर्ने, मनोरञ्जन गर्ने र आफै सहभागि भएर सिक्ने खालका कार्यक्रमहरु र पर्यटकहरुलाई गाइड गर्ने, पर्यटनमैत्री ब्यवहार गर्ने, पर्यटकीय स्थल तथा आफ्नो ठाउंको वारेमा सूचना राख्न सक्ने पर्यटनकर्मी वा ब्यवसायीहरुको उपलब्धता । यी विषयहरुको उपलब्धता भएका ठाउंमा पर्यटन प्रबद्र्धन गर्न सजिलो हुने विश्वास छ ।
पूर्वाधार विकासका दृष्टिले मुलुककै नमुना शहरको रुपमा परिचित हुंदै गइरहेको बुटवलले आसपासका नगरपालिकाहरुलाई समेत समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने सम्भावना छन् ।
त्यसका लागि कम्तिमा पाल्पाको तिनाउ गाउंपालिका र रुपन्देहीका तिलोत्तमा र सैनामैनासंग सहकार्य गर्नुपर्ने देखिन्छ । यस क्षेत्रका पर्यटकीय स्थल र यहाँको पर्यटन सम्भावनालाई ५ भागमा विभाजन गर्न सकिन्छ ।
१। आध्यात्मिक तथा शान्ति पर्यटन
आध्यात्मिक गतिविधिका लागि मात्रै पनि बुटवल र आसपासका क्षेत्रहरु सम्भावनायुक्त छन् ।सैनामैनाको बोलबम धाम, बुटवल र पाल्पाको सिमानामा रहेको सिद्धवावा धाम, शंकरनगरको आनन्द विहार, नुवाकोटको भैरवनाथ मन्दिर, नयाँगाउँको मुक्तिनाथ धाम लगायतका स्थानहरुलाई आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
यी क्षेत्रमा विभिन्न अवसरहरु पारेर पूजा अर्चनाका कार्यक्रमहरु बढाउन सके ठूलो संख्यामा स्वदेशी तथा भारतीय पर्यटकहरु भित्राउन सकिन्छ ।
२। सांस्कृतिक तथा सम्पदामा आधारित पर्यटन
बुद्धको मावली देवदह, मणिमुकुन्द सेन दरवार, जितगढी किल्ला, नुवाकोटगढी किल्ला, नुवाकोटको भैरव मन्दिर, सैनामैनाका प्राचीन सम्पदाहरु, देवदहका पुरातात्विक सम्पदाहरु, पहाडी जिल्लाबाट ५० वर्ष अघि सम्म नुन वोक्न आउने गोरेटोे सडक, ढाक्रेहरुले भारी विसाउने छहारी, चौपारी आदि ।
छिमेकी तिलोत्तमा र शंकरनगर नगरपालिकाले शुरु गरेका होम स्टे, पाल्पाको सुकेताल होमस्टे, मगर, गुरुङ्, थारु, यादव, ब्राम्हण क्षेत्रीका संस्कृतिहरु विभिन्न शैलीबाट देखाउन सकिन्छ ।
३। प्राकृतिक र साहसिक पर्यटन
वुटवल—वेलवास—नुवाकोट हुँदै दोभान झर्ने टे«किङ् रुट, फुलवारीबाट नुवाकोट जाने ऐतिहासिक सडकको टे«किङ् रुट मात्रेै होइन बुटवलबाट दोभान हुंदै बसन्तपुर सम्मको ट्रेकिङ् रुट झन् रमाइलो हुन सक्छ ।
तिनाउमा बन्जि जम्प, दोभान क्षेत्रमा साइकल राइडिङ्, चरचरेको भीरमा रक क्लाइम्विङ्, पाल्पाको बैकुण्ठे छहरामा क्यानोइङ् (पानीको छहरामा रसि छोपेर झर्नेे), नुवाकोट र वसन्तपुरबाट प्याराग्लाइडिङ्, वुटवल — नुवाकोट, बुटवल —बसन्तपुरमा केवलकार सञ्चालन, तिनाउ र रोहिणी नदीमा जलासय निर्माण गरेर जलपर्यटन गराउन सकिन्छ ।
४। खेलकुद तथा वजार पर्यटन
पाल्पा, भैरहवा र बुटवलका विभिन्न स्थानमा राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका भलिवल, फुटवल तथा क्रिकेट मैदानहरु निर्माण गर्ने, बुटवल भैरहवाका सडकमा ब्यवस्थित २४ सै घण्टा खुल्ने वजार विस्तार गर्ने ।
स्थानीय तथा बाह्य उत्पादनहरु विक्रि गर्ने । त्यसो हुंदा लुम्बिनी आउने विदेशी र भारतीय पर्यटकहरुलाई किनमेल गर्ने महत्वपूर्ण क्षेत्रको रुपमा यसलाई विकास गर्न सकिन्छ ।
५। कृषि पर्यटन
कृषि सम्बन्धी अध्ययन र अनुसन्धानका नाममा अहिले देशैभरि कृषक समूह र सहकारीहरुको भ्रमण हुन थालेका छन् ।
बुटवल र आसपासका क्षेत्रमा रहेका कृषि फारम तथा कृषि क्षेत्रको अबलोकन भ्रमण गराउन र बुटवलमा बास बसाउन सकिन्छ ।
सुर्यपुराको व्यवसायिक कृषि, छपियाको माछा पालन, टिकुलीगढमा रहेको नमुना गाइ फारम, मधवलिया स्थित अष्ट्रिच फाराम, मुर्गिया स्थित बट्टाइ चरा पालन फाराम, देवदहको सरनटांडी स्थित अर्गानिक कृषि उत्पादन, दोभान र झुम्साका विभिन्न कृषि उत्पादनहरु देखाउन सकिन्छ ।
६। जलपर्यटन
रुपन्देही क्षेत्र गर्मी क्षेत्र हो । वैशाख जेष्ठमा यहाँको तापक्रम ४२ डिग्रि सेन्टीग्रेडसम्म पुग्छ ।
गर्मीका समयमा लुम्बिनी घुम्न आउने पर्यटकहरु दिनभर कोठामा सुतेर समय विताउँछन् ।
त्यो समयमा उनीहरुलाई जलविहार गराउन सक्ने होटल तथा रिसोर्टहरु लुम्बिनीमा निकै थोरै छन् ।
अहिले सडकको सुगमताले लुम्बिनी—सैनामैनाको दूरी १५ मिनेटमै पार गर्न सकिन्छ । यस्तो अवस्थामा सैनामैना र बुटवल क्षेत्रमा जलासयहरुको निर्माण गरेर पर्यटकहरुलाई जलविहार गराउन सकिन्छ ।

जल उद्यानहरुको निर्माण गर्ने, स्वीमिङ् पुलहरु बनाउने, वोटिङ् गराउने जस्ता गतिविधि गर्मी क्षेत्रका लागि उपयुक्त हुनसक्छ ।
बुटवलमा पर्यटन प्रबद्र्धनका लागि गर्नुपर्ने आवश्यक गतिविधि
अंग्रेजसंग युद्ध जितेको भनिएको जीतगढी किल्लाको आसपासको ठूलो एरिया अधिग्रहण गरेर वा अन्य कुनै स्थानमा तत्कालिन नेपाली वीरहरुले लडाई लडेका दृष्यहरुलाई मूर्तिकला वा अरु कुनै स्थायी संरचनामार्फत देखाउने, किल्लालाई रणभूमिको रुपमा विकास गर्ने ।
ऐतिहासिक पुरानो बटौलीलाई प्राचीन शहरकै रुपमा विकास गर्न परम्परागत सांस्कृतिक कार्यक्रम तथा परम्परागत ब्यवसायीक मेलाहरुको आयोजना गर्ने ।
स्थानीय संगको सहकार्यमा पहाडी घ्यू, माछा, सिद्रा, नुन, तेल, राडीपाखी, डोका, नाम्ला, कुचा, गेडागुडी, तथा हस्तकलाको ब्यापारीक केन्द्रको रुपमा विकास गर्ने ।
पारी बुटवलकै सामुन्ने रहेको मणिमुकुन्द उद्यान पार्कलाई विस्तार गर्ने, जंगली क्षेत्रमा जंगली जनावरहरुको संरक्षण गरेर संख्या बढाउन पहल गर्ने र उद्यानभित्रबाटै नुवाकोट सम्म ट्रेकिङ्मा जान सकिने गरि गोरेटो सडकको विस्तार गर्ने ।
नुवाकोटमा रहेको नुवाकोट गढीको संरक्षण, संबद्र्धन र त्यहाँ पार्क निर्माणको योजना बनाउने । त्यससंगै पर्यटकीय होटल रेष्टुृरेण्टहरु निर्माण गर्ने ।
आदिम मानव रामापिथेकसको वंगारा भेटिएको स्थानलाई संरक्षण गरेर भौतिक संरचनाभित्र उक्त बंगारा प्रदर्शनमा राख्ने । त्यहाँ जिओलोजिकल पार्क वा संग्रहालयपनि पनि निर्माण गर्न सकिन्छ । १ सय वर्ष पुराना सवै वस्तुहरु कलेक्सन गर्ने ।
तिनाउ नदीको किनारामा रुख रोपेर हरियाली बनाउने, नदीका विभिन्न स्थानमा पानी संकलन गरेर जलासय बनाउने र त्यहाँ डुंगा चलाउने,
सिद्धबाबा क्षेत्रमा जापनीज प्रविधिमार्फत ढुंगाहरुलाई जालि वा साङ्लोमा बांधेर अड्याउने, खसेका ढुंगाहरुलाई सडकमा कुनै क्षति नगरि सिधै खोलामा खसाल्न मिल्ने संरचनाको विकास गर्ने हो भने यो नेपालका लागि नौलो र हेर्न लायक संरचना हुन सक्छ ।
त्यसबाहेक सिद्धवावाको भीरमा रहेका ठूला ठूला ढुंगाहरुमा मूर्ति वा प्रस्तरकला मार्फत आकृतिहरुको निर्माण गर्न सक्ने हो भने त्यो पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ ।
बुटवलको पूर्वोत्तर भागमा रहेको बसन्तपुर डांडामा मुलुकका ठूला ठूला धार्मीक स्थलहरु मूक्तिनाथ, स्वर्गद्धारी, मनकामना, कैलासपर्वत, वा भारतका महत्वपूर्ण ठूला तीर्थस्थलहरुको झल्को आउने गरि मन्दिरहरुको निर्माण गरेर जैविक वा प्राकृतिक बातावरणको विकास गर्ने र यसअघि अगाडी सारिएको केवुलकारको योजनालाई सम्पन्न गर्ने हो भने पर्यटकहरुको भीड लाग्नेछ ।
बुटवलका होटलहरुमा सांस्कृतिक कार्यक्रमहरु गर्ने, , होटल क्षेत्रको रुपमा रहेका इटाभट्टि वसपार्क क्षेत्रका ब्यवसायीहरु मिलेर सांझपख खाना महोत्सव, सांस्कृतिक महोत्सवहरुको आयोजना गर्ने ।
पोखरामा जस्तै बुटवलको आकासमा ‘अल्ट्रालाइट’ मिनि जहाजहरु उडाएर उत्तरमा पाल्पा र दक्षिणमा लुम्बिनीसम्म घुमाउन सकिन्छ ।
नजिकै रहेको शंकरनगर बन विहारमा जंगली जनावरहरुको बृद्धि भइरहेको छ । यसलाई क्षेत्रीय स्तरको चिडियाखानाको रुपमा मात्रै होइन, मिनि निकुञ्जको रुपमा विकास गर्न सकिने सम्भावनाहरु छन् त्यसका लागि पहल गर्ने ।
तिलोत्तमामा सञ्चालित टाइगर रिसोर्टमा भारतीय पर्यटकहरुको संख्या निकै धेरै छ । उनीहरुलाई शंकरनगर वनविहार, चिल्हिया पार्क, अष्ट्रिच र गाइ फार्म घुमाउन होटल सञ्चालकसंग सहकार्य गर्ने ।
बुटवलका होटलहरुको गुणस्तर बढाउने, तालिमप्राप्त दक्ष जनशक्ति निर्माण गर्ने, कंक्रिटका अग्ला भवनमा मात्र होइन प्राकृतिक भवनहरु, काठ वा वांसका रिसोर्टहरु बनाउने ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्