महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । यही अभियानका क्रममा वर्ल्ड बैंकले नेपालका १६ जना प्रेरणादायी महिला हिरोहरुको कथा गरेको छ ।
सामान्य परिवारबाट आएका ती महिलाहरु आज अग्रगामी सोच राख्ने नेता तथा अगुवा बनेका छन् । उनीहरुले आफ्नो जीवनयात्रा महिला सशक्तिकरण र समानताका लागि समर्पित गरेका छन् ।
विभिन्न जाति, समुदाय, संस्कृति तथा समुहको प्रतिनिधित्व गरेतापनि यी सबैजना समाजका अवरोधहरुका विरुद्धमा उभिएर धेरै महिलाहरुको जीवनमा परिवर्तन ल्याउन सफल भएका छन् ।
यी प्रत्येक व्यक्ति हाम्रो समाजका प्रतिनिधि पात्र हुन् । जसको जीवनका भोगाइबाट हामीलाई केही गर्न उत्पे्ररणा मिल्दछ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान महिला तथा केटीहरुप्रति हुने सबै किसिमका हिंसाविरुद्धको अन्र्तराष्ट्रिय अभियान हो । यो अभियान प्रत्येक वर्षको नोभेम्बर २५ मा शुरु हुन्छ, जुन अन्र्तराष्टिय महिला हिंसा अन्त्य दिवस पनि हो । साथै डिसेम्बर १०, मानवअधिकार दिवसको दिन सकिन्छ ।
वल्र्ड ब्याङ्क समुहले २१ औं शताब्दीमा महिला र पुरुषको बराबर सहभागिता बिना कुनै पनि देश, समुदाय तथा अर्थतन्त्रले आफ्नो उदेश्य हाशिल गर्न सक्दैन भन्ने विश्वास गर्दछ । त्यसकारण आज हामी त्यस्ता १६ संर्घषशिल महिलाको कथा भन्दैछौ, जसले आफु, आफ्नो समुदाय र देशको लागि पुरुषले भन्दा धेरै योगदान दिएका छन् ।
भुमिका श्रेष्ठ : कैलाश श्रेष्ठको रुपमा काठमाडौंमा जन्मिएकी तेस्रोलिङ्गि भुमिका श्रेष्ठ ३० वर्षकी भइन् । उनी सामान्य परिवारकी व्यक्ति हुन् । स्कुल पढ्दा साथीहरुले ‘छक्का’ भन्दै गरेको दुव्र्यवहार उनी कहिल्यै बिर्सदैनन् ।

कक्षा १० सम्म जसोतसो स्कुल गएपनि १० मा पढ्दा अचानक उनको बुवाको मृत्यु भयो । साथै उनको स्कुल जाने काममा पनि पूर्णविराम लाग्यो ।
उनी स्कुल जान बन्द भएपछि विस्तारै खुल्न थालिन् । मेकअप गरेर हिड्ने र आफुलाई महिलाकै जस्तो व्यवहार गर्न थालिन् ।
उनले काठमाडौं र नेपालगञ्जका ७ वटा सरकारी स्कुलमा शिक्षक–विद्यार्थीलाई जागरुकता फैलाउने अभियान चलाएकी छिन् भने भविष्यमा अझै विस्तार गर्ने उदेश्य छ ।
उनले स्कुलमा आफुले भोगेको दुख अरु आफु जस्ताले भोग्न नपरोस भन्दै स्कुलमाम जागरुकता अभियान चलाएकी हुन् ।
कल्पना कार्की : सिन्धुपाल्चोकको विकट गाउँ तुमपार्कोटको गरीब परिवारमा जन्मिएकी कार्की महिलाको जमिनमाथिको अधिकार अभियानकी अगुवा हुन् ।

सानैदेखि पढाइमा अब्बल कार्कीले विभिन्न गैरसरकारी संस्थामा काम गर्दा महिलाहरुले अधिकांश समय जमीनमा दिए पनि त्यसप्रति उनीहरुको स्वामित्व नभएको देख्दा दुखी भइन् ।
जबसम्म जमीनमा महिलाको स्वामित्व हुैदैन तबसम्म महिलाहरु आर्थिक रुपमा सम्पन्न हुन सक्दैनन् भन्ने विश्वास गर्ने उनले महिलाको नाममा निकै थोरै मात्र जमीन रहेको बताउँछिन् ।
कल्पनाले मध्यपश्चिम क्षेत्र ५ जिल्लामा १२ हजार गरीब परिवारमा महिला–पुरुष संयुक्त नाममा जग्गा राख्न सहयोग गरिन् ।
महिलाको नाममा जमिन राख्दा सरकारले करमा कटौती गर्दा पनि धेरै महिलाको नाममा जमिन पर्न सफल भएको बताउने उनी एउटा कागजको टुक्राल पनि महिलाको अधिकार सुरक्षित गर्न र महिलालाई आफ्नो अधिकार महुशस गर्न सघाउ पुयाउने बताउँछिन् ।
करसङ्मा लामा : हुम्लाकी लामा तरकारी कृषक हन् । हुम्लाको अत्यन्त गरिब परिवारमा जन्मिएकी लामालाई सानो छदाँ कहिल्यै पुरा पेट खाएको सम्झना छैन ।
सानैमा आमा गुमाएकी उनी कहिल्यै स्कुल गइनन् । बिहेपछि पनि उनको अवस्था सुध्रिएन । त्यसैले उनी आफ्नो श्रीमानसँग मिलेर तरकारी खेती सुरु गरिन् ।
विभिन्न तालिम लिएर शुरु गर्दा २ महिनालाई मात्र उनी आलु र हरियो सागसब्जी मात्र खेती गर्थे । तर आज उनी वर्षभरि सिमी, काउली, भान्टा, टमाटर, फर्सी, मुला, धनियाँ लगायतका तरकारीको खेती गर्छिन् ।
जसको वार्षिक आम्दानी ३ लाख भन्दा माथि छ । उनको पहलमा उनको वरीपरीका ३ गाउँ रासायनिक मल युरियामुक्त क्षेत्र घोषणा भएका छन् ।
उनले अन्य महिलाहरुलाई पनि व्यवसायिक तरकारी खेती गर्न उत्प्ररणा दिन्छिन् । उनी गत ५ वर्षदेखि महिला बचत तथा ऋण सहकारीको अध्यक्ष हुन् । थोरै बचतले पनि महिलामा आर्थिक रुपमा शसक्त हुन प्रेरणा दिने लामाको भोगाइ छ ।
केशरी थापा : पूर्वाञ्चल ज्ञान शिशु माध्यमिक विद्यालयकी पूर्व प्रधानाध्यापक हुन केशरी थापा ।
व्रिटिश बाबुकी छोरी उनी मलेशियामा जन्मेकी हुन् । सिङ्गापुर र हङकङमा हुर्केकी उनी बाबु रिटायर्ड भएसँगै तनहुको विकट गाउँमा आइपुगिन् ।

त्यहाँ उनी लामो पैदलयात्रापछि स्कुल जान्थिन् । त्यसपछि उनी काठमाडौ बसोबास गर्न थालिन् । काठमाडौजस्तो सुविधासम्पन्न स्थानमा रहेको घरपरिवार छोडेर पूर्वी धरानमा पुगी नेत्रहीन विद्यार्थीलाई पढाउदाँ उनले आफ्नो जीवनको २५ वर्ष समर्पित गरिन् ।
उनी हाल बालबालिकाका लागि रोज फन्ड नामक संस्था चलाइरहेकी छिन्, जसले असक्षम बालबालिकाको जीवनस्तर सुधार्न मद्दत गर्छ ।
कृष्णी थारुः बर्दियाको राजापुरको गरीब थारु परिवारमा जन्मिएकी कृष्णी थारु ७ वर्षको उमेरमा वर्षको १०० रुपैयाँको लागि कम्लहरी बनेकी थिइन् ।
उनको बाबुले जमिन्दारको घरमा काम गर्थे र उनले पछि आफ्नो छोरीलाई पनि सोही जमिन्दारको घरमा काम गर्न पठाए ।

उनलाई जमिन्दारको घरमा एक वर्षको बच्चाको स्याहार गर्ने काम पाइन् तर उनले कसरी स्याहार गर्ने जान्दैनथिन् ।
त्यसैले प्रत्येक पटक पिटाई खान्थिन् । एक वर्ष पछि उनले सम्पूर्ण घरको सफाई गर्ने काम पाइन् । तर खानको लागि बचेको थोरै खाना वा दाल मात्र पाउथिन् । पछि उनको विवाह भयो र बच्चा पनि भए । तर उनको जीवन बदलिन सकेन ।
पछि उनी कमैया मुक्त अभियानमा सक्रिय भएर लाग्न थालिन् । सन् २०००मा सरकारले कमैया मुक्त घोषणा गयो । उनी २००१ मा कमैया मुक्त समाजको सदस्य भइन भने २००३मा यसका उपप्रमुख भइन् ।
त्यस्तै, २००९ मा महिला जागरुकता समाजको प्रमुख भएर महिलाप्रति हुने सबैखाले विभेदका विरुद्धमा काम गर्न थालिन् ।
सरकारले २०१० मा सबै मुक्त कमैयाको लागि जमिन र लालपुर्जा वितरण गरेको थियो तर कृष्णी अझै पनि यसको कार्यान्वयनका लागि संर्घष गर्दै आइरहेकी छिन् ।
उनी हाल प्रदेश नम्बर ५ को उपसभामुख हुन् । उनले पदसँगै सम्पूर्ण थारु तथा पिछडिएका समुदायप्रतिको जिम्मेवारी थपिएको बताउँछिन् ।
मन्जु मलासी : हाल नेपालका ४ महिला मेयर मध्येकी एक मन्जु मलासी दिपायल सिलगडी नगरपालिकाकी मेयर हुन् ।

एमाले नेता मदन भण्डारीको प्रभावले सक्रिय रुपमा राजनीतिमा लागेकी उनी मेयर भैसकेपछि महिला सशक्तिकरणका लागि धेरै पहल गरेकी छिन् ।
उनको पहलमा नगरपालिकाले विपन्न, दलित तथा पिछडिएको समाजका महिलाहरुलाई सिलाईकटाइको तालिम दिएको थियो ।
उनले महिलाहरुको लागि स्वास्थ्य शिविर चलाएकी थिइन् । उनी महिलाहरु खुशी जीवन जिउनको लागि स्वस्थ र आर्थिक रुपमा सशक्त हुनुपर्ने बताउँछिन् ।
नन्द देवी कुँवर : सामुदायिक संरक्षणविदको रुपमा चिनिने नन्ददेवि मधुमालति सामुदायिक बन कैलालीकी पूर्व प्रमुख हुन् ।
१३ वर्षको उमेरमा विहे गरेकी उनी (हालः ४६) निकै चुनौती र अप्ठ्यारासँग जुध्दै यहाँसम्म आइपुगेकी हुन् ।

उनी सानैदेखि वनजङ्गललाई माया गर्थिन् किनभने उनी जीवनयापनका लागि जङ्गलमा निर्भर थिइन् । उनी सामुदायिक वन समितिको अध्यक्ष हुदाँ जङ्ल मास्न चाहनेहरुले उनलाई शारीरिक हमला गरे ।
जसको कारण उनले दाहिने हात गुमाइन् र बायाँ हातको बुुढी औला चल्दैन । जसको कारण छोराछोरी डराएर उनीहरुकै आग्रहमा वन समितिबाट राजीनामा दिइन् ।
राजीनामा पछि पनि उनले वनलाई माया गर्न र संरक्षण गर्न कुनै कसर बाँकी छोडिनन् । जसको कारण वनको नाम पनि मधुमालती नन्ददेवी सामुदायिक वन रहेको छ । साथै सरकारले पनि वन संरक्षण गरेवापत सम्मान गरेको छ ।
नयनतारा गुरुङ कक्षपति : नयनतारा युवा फोटो पत्रकार हुन्, जो पछि दृष्य कलाकारको रुपमा चिनिइन् ।
कउनले नेपाली समाजमा भएका सबै किसिमका विभेदलाई अन्त्य गर्न आफ्नो तर्फबाट काम गर्दै आएकी छिन् ।

दृश्यमाध्यमबाट समाज परिवर्तन गर्न लागिपरेकी उनी परिवर्तन घरबाट शुरुवात गर्नुपर्छ भन्ने भनाईमा विश्वास गर्छिन् ।
उनले २०१५ मा फोटो काठमाडौं, अन्र्तराष्टिय फोटो महोत्सवको निर्माण गरिन । जुन प्रत्येक २ वर्षमा मनाइन्छ ।
उनी यसै वर्ष फोटो काठमाडौंका लागि आचारसंहिता बनाइन् जसमा सबै किसिमका उत्पिडन, दबाब वा विचारमा शुन्य सहनशिलताको नियम बनाइन् । उनले पारिवारिक तथा व्यवसायिक सम्बन्धहरुमा समेत यो नियममा अडिग रहने बताइन् ।
रामकली देवी ठाकुरः धनुषा जिल्लाकी सामाजिक अभियन्ता रामकली ११ वर्षको उमेरमा बिहे गरिन् । १८ वर्षको उमेरसम्म घरमा श्रीमती र बुहारीको जिम्मेवारी निर्वाह गर्दै बसिन् ।

पछि श्रीमानको व्यवसाय घाटामा गयो र उनले आफुले पनि काम गरी श्रीमानलाई सहयोग गर्न श्रीमानलाई मनाइन् ।
त्यसपछि उनले विभिन्न तालिमहरु ल्याइन । यसबाट उनलाई आफ्ना विचार राख्न सक्ने भइन् । यिनैबााट प्रभावित भएर अन्य पुरुषहरुले पनि आफ्नो श्रीमतीहरुलाई घरबाहिरको काम गर्न दिन थाले । पछि उनको सासु र नन्दहरु पनि काममा सहयोग गर्न थाले जसले गर्दा परिवार आर्थिक रुपमा सशक्त हुदै गयो ।
अहिले उनी महिला अधिकार मञ्चको प्रमुख हुन् । मंचले महिलालाई पहिलोपटक डा«इभिङ लाइसेन्सको तालिम दियो । जसको कारण उनको समुदायमा ४ जना महिला रिक्सा चालक छन् ।
उनले सामुदायिक अस्पताल गाउमा ल्याउन प्रमुख भुमिका खेलिन जसको कारण समुदायका मानिसहरु लाभिान्वित भएका छन् ।
संगीता मगरः तीन वर्ष अघि संगीता मगर एसिड प्रहारको शिकार बनेकी थिइन् । एसएलसी तैयारी कक्षाको लागि शिक्षकलाई कुर्दै गर्दा एक्कासी उनीमाथि एसिड फ्याँकिएको थियो ।

उनी ६ महिना अस्पताल बसिन् र त्यहीँबाट एसएलसी दिइन र पास पनि भइन् तर डरले गर्दा ३ वर्षसम्म उनी घरबाट बाहिर निस्किन सकिनन् ।
एसिड प्रहारपछि औषधी उपचारमा धेरै खर्च भएपनि सरकारले केही सहयोग नगर्दा विपन्न वर्गका महिलाहरु धेरै समस्यामा परेका थिए ।
पछि संगीता र सीमा (संगीताकी साथी जो उनीसंगै एसिडप्रहारमा परेकी थिइन्) ले सरकारले एसिडको शिकार भएकालाई औषधीउपचार गर्नुपर्ने अभियान चलाए ।
जसको कारण सर्वोच्च अदालतले सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने आदेश जारी गयो । संगीता एसिडको खुल्ला बिक्रि वितरणमा रोक लगाउनुपर्नेमा आवाज उठाउदै आएकी छिन् ।
साथै साथी सिमासँग मिलेर एसिडको शिकार भएकाहरुको पक्षमा काम गर्नको लागि संस्था खोल्ने तैयारीमा छन् ।
सान्नानी परियारः धादिङकी दलित अभियानकर्ता सान्नानी परियार सामान्य गरिब परिवारमा जन्मिएकी हुन् । स्कुल ९ कक्षामा पढ्दा बिहे भयो र १० कक्षामा पढ्दा छोरा जन्मिए त्यसैले उनले एसएलसी दिन पाइनन्।

१८ वर्षपछि छोरीसंगै एसएलसी दिइन् र राम्रो नम्बरले पास भइन् । त्यसपछि उनी विभिन्न तालिम, छलफलमा भाग लिन थालिन् । स्थानिय निर्वाचनमा पार्टीको सहयोग नभए पनि वडाध्यक्षमा भाग लिइन् र जितिन् । साथै उनी धादिङ जिल्लाको जिल्ला समन्वय समितिको सदस्य पनि हुन् ।
उनले महिला तथा दलितको अधिकारको लागि आवाज उठाउनुको साथै योजना तर्जुमा, बजेट निर्धारणका काम गर्दै आएकी छिन् ।
सरिता मिश्रः नन्द संगीत पाठशाला काठमाडौंकी संस्थापक तथा नेपालको पहिलो महिला तबला बादक सरिता मिश्र संगीतमार्फत जीवन परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छिन् ।

संगीतमा स्नाकोत्तर गरेकी उनी संगीत कक्षाका ७२ विद्यार्थीमध्ये आफु मात्र महिला र अरु सबै पुरुष भएको स्मरण गर्छिन् ।
मानिसहरुले कुरा काटे पनि महिला भएकै कारण सानो हुनुहुन्न भन्ने विचारले उनले कहिल्यै खराब विचार आउन दिइनन् ।
उनले अपाङ्ग, अनाथ, मानशिक रुपमा कमजोर बालबालिकालाई संगीत मार्फत जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उदेश्यसहित संगीत सिकाइरहेको बताउछिन् ।
उनले २० जना यस्ता बालबालिकालाई निशुल्क संगीत सिकाउँछिन् । हाल उनको पाठशालामा ६ वर्षदेखि १६ वर्षसम्मका ८२ केटा, ८२ केटी छन्, जसमध्ये १ सय जना अनाथ बालबालिका छन् । संगीतले धेरै बालबालिकालाई आत्मविश्वास जगाउन र जीवनमा केही गर्न हौसला दिएको उनी बताउँछिन् ।
श्याम बदन श्रेष्ठः महिला उद्यमीको रुपमाम परिचित श्यामले नजन्मदै बाबु गुमाइन् जसको कारण उनले बाल्यकालमा निकै दुख झेल्नुपर्यो ।

मामाघरमा बसेर हुर्केकी उनी कक्षा ६ मा पढ्दा जनकपुर मामाको घरमा गइन । जहाँ उनले भाषाको समस्या झेल्नुपर्यो । उनले नेवारी मात्र जानेकी थिइन तर जनकपुरमा नेपाली र हिन्दी बोल्थे ।
उनी बिहानै २ बजे उठेर टोपी बुन्ने काम गर्थिन् किनकी उनकी आमा एक्लै खर्च उठाउन सक्दैनथिन् । पछि उनले नेपालीमा मास्टर डिग्री गरिन र १० वर्ष बढानिलकण्ठ स्कुल काठमाडौमा पढाइन् । त्यसपछि उनले सिलाइ बुनाइको आफ्नै व्यवसाय शुरु गरिन् ।
उनले शुरुमा ५० महिलालाई सिलाई बुनाईको तालिम दिनुको साथै व्यवसाय गर्न र बजारमा कसरी विक्री गर्ने सम्म सिकाइन् ।
उनी महिला उद्यमी संघ अफ नेपालको संस्थापक हुन् । महिला आर्थिक रुपमा सशक्त भए भने समाजको विकास पनि सँगै हुन्छ भन्ने कुरामा विश्वास गर्ने उनी १०० भन्दा बढि महिलालाई तालिम दिइरहेकी छिन् ।
उनले ९ वटा जिल्लामा महिला समुह पनि गठन गरेकी छिन् जसले उत्पादित सामानहरु विक्री गर्न मद्धत गर्छन् ।
सोना खतिक : मधेशी दलित समुदायमा जन्मिएकी सोन कपिलवस्तु जिल्लाकी पत्रकार हुन् । सानैदेखि घरमा, समाजमा र स्कुलमा पनि सबैले शारीरिक तथा मानशिक रुपमा गालीगलौज र आरोप लगाउथे ।

सबैको नराम्रो व्यवहार गरे पनि उनले १२ कक्षा पास गरिन तर जागीर पाइनन् ।
उनी यति धेरै नकारात्मक भावना आए कि उनले आत्महत्याको प्रयास गरिन् तर पछि बहिनीको साथले आफ्नो समुदायकै पहिलो स्नाकोत्तर गर्ने महिला बनिन् ।
उनले सेफर्ड कलेज काठकाडौबाट मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गरेकी हुन् । साथीबाट थाहा पाएर उनले सन् २००७ मा रेडियो कपिलवस्तुमा रेडियो १२ दिने तालिम लिन गइन् ।
उनी दिनदिनै ४० किलोमिटर हिडेर रेडियो जान्थिन् । तालिमपछि उनले २ महिना इन्टरशिप गरिन र पछि त्यहि जागीर पाइन् ।
पछि उनलाई अफिसले साइकल दियो । पत्रकारिताप्रतिको उनको मोहले उनलाई आवाजविनिहरुको आवाजबन्न प्रेरित गर्यो ।
उनले आफ्नो समुदायमा बालविवाह रोक्न निकै ठुलो भुमिका खेलिन । बहिनीलाई श्रीमानको सम्पत्तिको लागि कोर्ट जान हौशला दिइन् । दलित समुदायका समस्या समाधान र उनीहरुको आवाज बनेर काम गरेकी छिन् ।
यङजोङ शेर्पाः यङजोङ शेर्पाको आमाले आफ्नो छैठौ बच्चा जन्माउदा ज्यान गुमाउनुपर्यो । बेथा लागेको तिन दिनमा घरमै बच्चा जन्माइन । बच्चा सकुशल भए पनि आमा भने सधैको लागि गुमाउनुपर्यो ।

त्यसपछि उनी आफ्ना भाइबहिनीहरुसँग अन्य गाउँमा आफन्तसँग बस्न थाले । उनले २० वर्षपछि आफ्नो गाउ गइन् ।
तर यतिबेला पनि धेरै आमाहरु बच्चा जन्माउदा ज्यान गुमाउन परेको देख्दा निकै दुःखी भइन् । त्यसपछि ८ वर्षको संघर्षबाट उनले आफ्नो गाउमा अस्थायी सामुदायिक स्वास्थ्य चौकी ल्याउन सफल भइन् ।
उनले त्यहाँ एउटा नर्स पनि राखिन् । उनका अनुसार १ सय ५० जना आमाहरुले यो स्वास्थ चौकीबाट लाभ उठाएका छन् ।
उनले आफ्नो गाउँमा स्थायी स्वास्थ सेवा उपलब्ध गराउने उदेश्य राखेर गुन्सा फाउन्डेसन नामक संस्था खोलेकी छिन् र रकम संकलन कार्य अगाडि बढाएकी छिन् ।
उनको उदेश्य एउटा पूर्ण अस्पताल खोल्ने छ, जहाँ नर्स, डाक्टर हुन् र कोही आमाहरुले अकालमा मृत्युबरण गर्न नपरोस् ।
यज्ञकुमारी रुचाल : चौविसे ग्रामिण नगरपालिकाकीकी उपप्रमुख यज्ञकुमारीले सानैदेखि लैङ्कि विभेदको सिकार बनिन् ।

कक्षा १ पछि उनलाई स्कुल जान रोकियो जबकी उनका दाजुभाई स्कुल जान्थे । उनको परिवार फलामको काम गथ्र्यो ।
उनले आफै त्यही काम गरेर कापीकलम र ट्युशनको लागि पैसा जम्मा गर्थिन् । स्कुल नगइ एसएलसी पास गरिन्, अनि आफ्नो समुदायमै पहिलो एसएलसी पास गर्ने महिला बनिन् ।
उनी राजनीतिमा लागिन् । शुरुमा राजनीति र घरको दोहोरो जिम्मेवारी निभाउन उनलाइ गाह्रो भयो तर उनी कडा मेहनतले दुवै जिम्मेवारी पुरा गर्न सफल भइन् ।
अहिले उनी उपप्रमुख छिन् । उनले बालिका शिक्षामा जोड दिदै आफ्नो जिल्ला धनकुटामा बालिका स्कुल खोल्न पहल गर्नुका साथै १० बर्षसम्म प्रधानाध्यापक भएर काम गरिन् ।
उनले आफ्नो जिल्लामा न्यायिक समितिलाई नेपाल पुलिस तथा जिल्ला अस्पताल लगायतका क्षेत्रसँग कोअर्डिनेसन गराउन सफल भएकी छिन् जसको कारण पिडितले छिटो न्याय तथा उपचार पाउन सफल भएका छन् । उनले महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरु पनि दिलाएकी छिन् ।
नेपाली अनुवाद : कान्ति चुँदाली
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्