वेत्रावती : “सबै जनाले कर्मपात्रोमा पानी चढाउनुहोला, हातमा जल लिनोस्, अनि पितृलाई सम्झनुहोस्”, पं वेनीप्रसाद सापकोटा वेत्रावतीस्थित नदी किनारमा तीनतिर बसेका जजमानलाई मन्त्रोच्चारण गर्दै र सिकाउँदै थिए।
नुवाकोट कुमारीका टङ्कनाथ मुडभरी, बट्टारका विष्णु क्षेत्री र ज्ञानबहादुर राईको परिवारलाई राखेर सापकोटा एकै पटक तीन वटा श्राद्ध गराउँदै थिए । शनिबार पौषेऔँसीका दिन बिहान स्नान गरेर चोखो कपडामा रहेका तीर्थालुको घुइँचो थियो । कोही स्नानमा व्यस्त देखिन्थे ।
पितृतर्पणका लागि श्राद्ध गर्ने तीर्थालुका साथमा श्राद्धको सिदा, नैवेद्य, फलफूललगायत सामग्री थियो । केही जजमानले ब्राह्मणलाई सँगै ल्याएका थिए । कतिपय तीर्थालुले यहीँका ब्राह्मण बोलाएर पितृलाई सम्झँदै थिए । उत्तरगयाको बगरभरि श्राद्ध गर्नेको भीड टाढैबाट देखिन्थ्यो ।
तीर्थालु सबैको एउटै भनाइ थियो, ‘पितृको उद्धार (पितृमोक्ष)का लागि पुण्यभूमिमा श्राद्ध गर्न आएको ।’ पल्लोपट्टि तामाङ संस्कारअनुसार श्राद्ध गर्नेहरुको भीड थियो । धादिङ जिल्ला थाँक्रेका सूर्यबहादुर लामाले पितृमोक्षका लागि श्राद्ध गर्न आएको बताए । दानदक्षिणाका साथ लामा जौको पीठो मुछेर स्वर्गीय बाबुआमालाई दिँदै थिए।
मुद्धामल (श्राद्ध) गर्दा पितृहरुको पापमोक्ष हुन्छ भनेर वेत्रावतीमा आएको उनले बताए । नजीक खेमबहादुर लामा पनि लाखबत्ती बालेर पितृलाई सम्झँदै थिए । “मरेको मान्छेको सम्झनामा यहाँ आएको”, कर्म गर्दै गर्दा उहाँले सङ्क्षिप्त प्रतिक्रिया दिए।
चितवन, पार्वतीपुरका वासुदेव रिजाल र बारा डुमरवानाका बृद्धिनाथ रिमालले समेत वेत्रावतीमा पुगेर पुसेऔँसीमा पितृलाई तर्पण दिए । “भारतको काशीगयामा जाँदा उत्तरगया पुग्यो कि पुगेन भनेर सोध्यो, म पहिला पनि आएको थिएँ र गएँ भने, तर नगएकालाई त्यसै फर्काउँदो रहेछ”, रिजालले आफने अनुभव सुनाउँदै भने, “भारतले समेत मान्ने चारधाममध्येको पहिलो धाम भनेकै वेत्रावतीको उत्तरगया हो ।”
नुवाकोट, बेलकोटका ८० वर्षीय ढलप्रसाद पौडेलले १५ वर्षदेखि वेत्रावतीमा पितृ तर्पण गर्दै आएको बताए । “अहिलेसम्म आएँ अब सक्तिन होला”, उनले बूढेसकाल सम्झँदै भने, “यो पवित्र तीर्थभूमिमा टेके मात्रै पनि पवित्र हुन्छ ।” उनीसँगै श्रीमती तारादेवीसमेत श्राद्धका लागि आएकी थिइन् ।”
यस्तै आस्थाका साथ रसुवा र नुवाकोटको सिमानामा हजारौँले तीर्थकर्म गरे । ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक, पर्यटकीय र जैविक हिसाबले समेत वेत्रावती महत्वपूर्ण स्थान हो ।
रसुवाको उत्तरगया गाउँपालिका तथा नुवाकोटको विदुर नगरपालिका र किस्ताङ गाउँपालिकासँग जोडिएको दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने वेत्रावती समुद्र सतहबाट ७६४ मिटरको उचाइमा छ । शीतोष्ण हावापानी रहेको यो सामरिक महत्वको क्षेत्र हो ।
सन् १८४९ मा नेपाल–तिब्बत सन्धि भएको स्थानका कारण वेत्रावतीको ऐतिहासिक महत्व छ ।
स्थानीय अगुवा शिव लामिछानेले गोसाइँकुण्डबाट बग्ने त्रिशूली, भैरवकुण्डबाट आउने रुद्रगङ्गा र त्यहीँ उत्पन्न भएको वेत्रगङ्गाको सङ्गम उत्तरगया (वेत्रावती) आफैँमा पवित्र भूमि भएको बताए ।
त्रिशूलीसँग एक किमीमाथि उत्तरमा सलाँखु नाम गरेको खोलो पनि मिसिन्छ ।
काठमाडौँबाट ७० किमी उत्तरमा रहेको वेत्रावती जान धादिङको गल्छी, नुवाकोटको ककनी र काठमाडौँको टोखाको छुट्टाछुटै तीन बाटा छन् ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल चीनसँग सन्धि भएको र पौराणिक तथा ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण तीर्थस्थल भएकाले यसको महत्व अन्य तीर्थस्थलको तुलनामा भिन्न रहेको जिकिर गर्छन् ।
स्थानीयवासीका अनुसार पुसेऔँसीमा मात्रै करीब ३० हजार धार्मिक पर्यटक र वर्षभरि तीन लाखको हाराहारीमा सबैथरिका पर्यटक(भारत, भुटान, थाइल्याण्ड आदि) आउँछन् ।
यहाँ पुसेऔँसी (पितृऔँसी)का साथै दशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुशेऔँसी, ठूलो एकादशी, बालचतुर्दशी, माघे सङ्क्रान्तिलगायत पर्वमा ठूलो मेला लाग्छ । माघे सङ्क्रान्तिमा यहाँ गोरु जुधाउने परम्परा पनि छ ।
स्कन्दपुराणको हिमवत्खण्डमा उल्लेख छ–
यत्र कुटे हरः पूर्व निचरवान च वेत्रकम
श्रमत्तिं च पुरस्त्यक्त्वा प्रचयौ शुलपर्वतम
(जुन टाकुरामा पहिले महादेवले वेतको लौरो रोप्नुभयो त्यसको नाम वेत्रकुप भयो, वेत्रावती नदी निस्किइन् ।)
वेत्रावतीको नामकरणमा महत्वपूर्ण मत शिवसँग जोडिएको छ । पुराणअनुसार समुद्रमन्थनका बेलामा संसार नाश हुने कालकूट विष निस्केपछि संसारको रक्षा गर्छु भनी शिवले विष पिउँदा असह्य भएको मानिन्छ।
औडाहाका बेला त्रिशूल र वेतको लौरी बोकेर गौरीको तपोवन हिमालय पर्वत लाग्ने बेलामा विषको औडाहाले वेतको लौरी जमीनमा गाडेको र त्यही चेपबाट गङ्गा निस्किएकाले सो नदीको नाम वेत्रगङ्गा रहन गएकोे र त्यही स्थानलाई वेत्रावती भनिएको हो ।
तीन नदीको सङ्गम त्रिवेणी भएकाले उत्तरगयाको नामले चिनिने वेत्रावतीलाई तिब्बतीले फलाङ्गु(हाल फलाँखु)का नामले चिन्ने गरेका छन् ।
विसं १९४० को दशकअघिसम्म यहाँ नेपाल भोटको प्रमुख व्यापारिक नाका थियो । शास्त्रीय रुपमा वेत्रावतीलाई धार्मिक तीर्थको प्रस्थानविन्दुका रुपमा राखिएकाले पनि पौराणिक महत्व बढिरहेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोल बताउँछन् ।
यहाँ स्नान गरे पापबन्धनबाट मुक्त हुने, दुःख नाश हुने र स्नान गरी भोजन गरेमा मुक्तिका भागी भइन्छ भन्ने जनविश्वास छ । जप र होम गरेमा वाराणासीको चन्द्रायण व्रत गरे सरहको फल पाइन्छ ।
देव र पितृलाई खुशी तुल्याउन पुथ्वीमा जति पनि तीर्थ छन्, त्यसमध्येको वेत्रावती श्रेष्ठ तीर्थस्थल रहेकाले देवता र ऋषिहरुले व्रत तीर्थमयी भनेको पुराणमा उल्लेख रहेको स्थानीयवासी ओमप्रकाश घिमिरेले बताए ।
अधोगतिमा परेका पितृहरुलाई उद्धार गराउने विषयसँग वेत्रावती जोडिने हुँदा एकै दिन हजारौँले यहाँ श्राद्ध गर्छन् । हिन्दू र बौद्धमार्गीले एकै ठाउँमा एकैसाथ श्राद्ध गर्नु पनि यहाँको महत्वपूर्ण पक्ष हो ।
त्रिशूलगङ्गा रुद्रगङ्गा र वेत्रगङ्गाको सङ्गमस्थान भएकाले यो उत्तरगयाका रुपमा परिचित छ । योगी नरहरिनाथले यहाँ विसं २०४७ मा कोटिहोम लगाउनाका साथै बाढी पुरिएको स्थानमा उत्खनन गरी वेत्रगङ्गा निकालेको बताइन्छ ।
धार्मिक सांस्कृतिक सम्पदा
वेत्रावती आसपास धेरै धार्मिक क्षेत्र छन् । यसलाई एकीकृत रुपमा विकास गर्न भने सकिएको छैन । नजीकै त्रिशूलीको छेउमा राम मन्दिर छ । प्रमाणिक कागजात फेला नपरे पनि सो मन्दिर पृथ्वीनारायण शाहको पालामा बनेको भन्ने छ ।
चन्द्राशर अगस्ति नामका सिद्ध योगीले त्रिवेणीमा स्नान गर्दा रामलक्ष्मणको दर्शन मिलेकाले मन्दिर निर्माण गरेको भन्ने डङ्गोल वंशावलीमा उल्लेख छ । वेत्रावती बजारको करीब ६०० मिटर दक्षिण सातबीसे टोलमा सुगतमुनि विहार छ ।
त्यहीँमुनि आँगुटारस्थित त्रिशूली किनारमा ठूलो ढुङ्गा छ । सँगै रहेको कहालिलाग्दो पोखरीमा कालीनागको बास रहेको भन्ने विश्वास छ । स्थानीयवासीका अनुसार नेपाल तिब्बतको युद्धका समयमा नेपालीले दूधेलामा थानबाट फालेको ढुङ्गा भनिन्छ ।
वेत्रावती बजारको नुवाकोटतर्फ रहेको कृष्णमन्दिरमा कृष्ण जन्माष्टमीका बेला मेला लाग्छ । एक किमी दक्षिण त्रिशूली किनारमा नीलकण्ठेश्वर महादेवको मन्दिर छ । वेत्रावतीमा दूधे लामाथान, वेत्रावतीको लाखेनाचसँग जोडिएको आइतबारे नाट्येश्वरी, तुप्चेस्थित साततले देवीथान, गणेश मन्दिर, वनदेवी र सीतादेवी, धैबुङ कालिका मन्दिरलगायत स्थल छन् ।
वेत्रावती सन्धि
वेत्रावती हाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको सन्धि भएको ठाउँ हा े। विसं १८४९ असोज १७ गते भएको सन्धिले नेपालले धेरै क्षेत्र गुमाउनुपरेको इतिहास छ ।
सन्धिमा नेपाल तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता गर्ने, विवाद उठेमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेश गर्नेलगायत सहमति भएको थियो ।
सन्धि हुनुअघि तिब्बती सेनालाई परास्त गर्न नेपालीले रूख बुट्यानलाई नै सेना बनाएर राखेका थिए जसले गर्दा उनीहरुको तारो रूख हुन्थ्यो र नेपाली सेनाको तारो उनीहरुको कुहिनो हुन्थ्यो । युद्धका बेला माथिबाट ढुङ्गामुढा पल्टाउँदा कैयौँ तिब्बती सैनिक मरेपछि चीनको पहलमा वेत्रावती सन्धि हुन पुगेको स्थानीयवासी बताउँछन् ।
प्रदेश नं ३ सरकारले वेत्रावतीको संरक्षणका लागि रु एक करोड र उत्तरगया गाउँपालिकाले केही रकम छुट्टयाएको बताइएको छ । उत्तरगया क्षेत्र विकास समितिले पनि गुरुयोजना बनाई मरणघाट, स्नानस्थल, ऐतिहासिक–धार्मिकस्थलको संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको छ ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्