चितवन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उनको निवास खैरहनीमा नेपाली काङ्ग्रेस चितवनले आज आयोजना शोकसभालाई सम्बोधन गर्दै उनले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने बताए ।
महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै उनले भने, “अब म देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर नलाग्नुस् म नेपाली काङ्ग्रेस भनेर लाग्नुस् ।” गुटपछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्ने उनले बताए ।
पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उनले भने, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” काङ्ग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, “माथिल्लो तहमा हामी मिल्याँै तल्लो तहमा तपाईँहरु मिल्नुस् ।”
मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने उनको दावी थियो । सो अवसरमा नेता पौडेलले नेपाली काङ्ग्रेस चितवनका पूर्वउपसभापति समेत रहेका अधिकारीको निधनले सिङ्गो काङ्ग्रेसमा अतुलनीय क्षेती पुगेको बताए ।
अधिकारी परिवारले लमजुङबाटै राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले हलो क्रान्तिको अभियानमा अधिकारी परिवारको अतुलनीय योगदान रहेको पनि बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, टिकाराम न्यौपाने, कृष्णलाल सापकोटा, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रघुनाथ न्यौपाने लगायतले बोलेका थिए ।
यस अघि आजै पौडेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परी निधन भएका पत्रकार प्रबिण पौडेलको रत्ननगरमा रहेको निवासमा पुगेर समवेदना प्रकट गरे । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शोकसभामा उनले कार्यक्षेत्रमा रहँदा एक पत्रकारले ज्यान गुमाउनु परेको सुन्दा आफूलाई दुःख लागेको बताए ।
एपि वानमा कार्यरत पौडेलको यही पुस १३ गते रत्ननगरमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्