तयार भयो बुटवलको विपद् व्यवस्थापन योजना, बाढी र डेंगु बुटवलको सबैभन्दा ठूलो समस्या

तयार भयो बुटवलको विपद् व्यवस्थापन योजना, बाढी र डेंगु बुटवलको सबैभन्दा ठूलो समस्या

रुपन्देही । बुटवल उपमहानगरपालिकाले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि योजना तयार गरेको छ । उपमहानगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील समितिको छलफल, स्थानीयवासीसँगको अन्तक्र्रिया र सरोकारवालाको सुझावका आधारमा प्रकोपको पहिचान तथा स्तरीकरण गरी स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको हो ।

केन्द्रीय रेडक्रस समन्वय समितिको प्राविधिक सहयोगमा सम्भावित विपद्को जोखिम कम गर्न र विपद्को अवस्थामा प्रभावकारी मानवीय सहायता उपलब्ध गराउन सो योजना तयार पारिएको उमहानगरपालिकाका प्रकोप व्यवस्थापन शाखा प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए ।

उनले भने “उपमहानगरका १९ वटै वडामा विपद् व्यवस्थापन समिति गठन गरी बुुटवलको विपद् के हो, विपद्को जोखिममा रहेका वडाबारे अध्ययन गरी योजना बनायौ ।”

उपमहानगरपालिकामा सबैभन्दा धेरै बाढी, पहिरो, हैजा, डेङ्गुजस्ता विपद् जोखिमको समस्या देखिएको छ जसमध्ये बाढी र डेङ्गु प्रमुख प्रकोपको रुपमा देखिएका छन् ।

भौगौलिक अवस्था, उपलब्ध क्षमता र सङ्कटापन्नताका आधारमा सबै वडा मिल्दाजुल्दा भए पनि दक्षिणी क्षेत्रमा प्रकोपको जोखिम बढी देखिएको शाखा प्रमुख भुर्तेलले बताए।

उपमहानगरपालिकाको विपद्को ऐतिहासिक विवरण, समुदायको अनुभव, वर्तमान जोखिमको अवस्था र सङ्कटापन्नताको आधार, प्रकोप तथा यसका जोखिम र जलवायु परिवर्तनको प्रभावलाई विश्लेषण गर्दा मुख्य रुपमा भूकम्प, बाढी, पहिरो, विभिन्न महामारी, सडक दुर्घटनाको बढी जोखिमा देखिएको छ ।

साथै लागू औषध दुव्र्यसनी, आगलागी, डढेलो, विद्युत् करेन्ट, सर्पदंश, छाडा चौपाया, हावाहुरी, खडेरीजस्ता प्रकोपको जोखिम बढिरहेको जनाइएको छ । स्वास्थ्य समस्यामा प्रजनन स्वास्थ्य समस्या, छालाजन्य रोग, झाडापखाला, लागुऔषध दुव्र्यसनी र घरेलु हिंसा दोस्रो समस्याको रुपमा स्तरीकरण गरिएको छ ।

बढ्दो सवारी चापका कारण हुने गरेको सवारी दुर्घटनालाई तेस्रोे जोखिमको रुपमा लिइएको छ ।

त्यस्तै विद्युत् चौथो, आगलागी र शीतलहर पाँचौँ, हावाहुरी छैठौंँ, सर्पदंश सातौँ, पहिरो आठौँ र त्यसपछि क्रमशः तातोहावा, चट्याड।,जङ्गली जनावर र कुकुरको टोकाइको समस्या नवौँ नम्बरमा स्तरीकरण गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार नेपालको भौगोलिक अवस्थिति, विगतको अनुभव र भविष्यमा हुनसक्ने सम्भावनाको आकलन र सरकारको नीतिगत व्यवस्था अनुसार भूकम्पको जोखिमलाई स्तरीकरणमा नराखिएता पनि यस जोखिमलाई पहिलो जोखिमको रुपमा लिइएको छ ।

उपमहानगरमा अहिलेसम्म प्राकृतिक तथा मानव सिर्जित घटना के के घटे, विपद्को जोखिम भएका वडा कुन कुन हुन, कुन रोगको महामारी छ, जनसाङ्ख्यिक र भौगौलिकस्तरमा कहाँ जोखिम छ, भनी प्रत्येक वडा स्तरमा कार्यक्रम तथा छलफल गरेर विपद् व्यवस्थापन योजना बनाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उनले भने, “यस योजनाका आधारमा उपमहानगरपालिकाले प्रकोप जोखिम न्यूनीकरण तथा पूर्व तयारीका गतिविधि सञ्चालन गर्छ ।”

विपद्को जोखिम न्यूनीकरणमा समुदायको सहभागिता बढाउन, सामाजिक सांस्कृतिक मर्यादा राखी प्रति कार्यमा प्रभावितको समान पहुँच सुनिश्चित गर्न र विपद् पश्चात प्रभावितको उचित व्यवस्थापन गर्न योजनाले मार्ग निर्देशन गर्ने प्रमुख सुवेदीको भनाइ थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij