कानुनी ह्याकिङ !


आइतवार, भदौ २२, २०७६

कानुनी ह्याकिङ !

‘पैत्रिक सम्पत्ति अंशियार हकवालाहरुको नाममा दर्ता नामसारी हुँदा भारी रजिष्ट्रेशन दस्तुर(कर) लगाउने तयारी रहेको सूचना सार्वजनिक भएको छ । एकातिर उद्योगको नाममा भूमिपतिहरुले सयौं रोपनी/बिगाहा जग्गा राख्न र सुक्रीविक्री गर्न पाउने विधेयक प्रतिनिधि सभाबाट पारित हुनु र अर्कोतिर गरीब गुरुवाहरुको नाममा कायम ४ आना ÷ ८ आना जग्गा नामसारीका लागि लाग्ने ठूलो धनराशि जुटाउन त्यही जग्गा धितो राख्नपर्ने गरी कर बढाउनुलाई कसरी न्यायोचित भन्न सकिएला ! अलि सार्थक बहस होस् है ।’ वरिष्ठ पत्रकार डी.आर. घिमिरे – बुटवल ।

‘पार्टी समाजवादको बाटो बिराएर दलाल पुँजीवादको चंगुलमा फँसिसक्यो कमरेड । आफ्नो मानो भरिएपछि अरुले जेसुकै गरुन् भन्ने मानसिकताले ग्रसित छन् नेतृत्वपंती अनि कार्यकर्ता ? यिनलाई नेतृत्वपंतीको गुलामी गरे पद पाइहालिन्छ ‘आप्ना काम बन्ता भाँडमे जाए जन्ता’ भन्ने भाछ ।’ इश्वर गुरुङ्, देवी रेग्मी ।

‘यसमा मेरो फरक कुरा छ । बाबुको सम्पत्ति खाने अंश दाबा गरेर छुट्टिने प्रवृत्तिले व्यक्तिले कहिलै उन्नति प्रगति नगर्ने । बाबुले पनि सन्ततीले दुःख पाउला कि भनेर भ्रष्टाचार गरेर सम्पत्ति थुपार्ने प्रवृत्तिले गर्दा यस्तो कानुन ल्याइएको जस्तो लाग्छ । जब बाबुकै सम्पत्ति आफ्नो नाममा नाम्सारी गर्न आधा सम्पत्ति राज्यको खातामा जान्छ अनि कसले खान्छ, माग्छ बाबुको सम्पत्ति अनि कसले माग्छ अंश ? यो दीर्घकालीन उपाय हो ।’ टेकराज पौडेल कपिलवस्तु, हाल अमेरिका ।

अभिन्न मित्र डी.आर.घिमिरेजीले फेसबुकबाट आव्ह्वान गरेको बहसमा प्रस्तुत विषयले धेरैलाई छोएको छ । वर्तमान सरकार यदि साँच्चै कम्युनिष्टको हो र लागू गर्न सक्छ भने पहिले आफ्नै नेताहरुलाई निजी पुँजी÷सम्पत्ति राख्न नदेओस्, सरकारले कब्जा गरेर लेओस् । अनि मात्र सरकारी सुविधा उपभोग गर्ने बाटो खोलोस् भन्नेहरु पनि होलान् । कम्युनिष्ट नेता र मन्त्री हुँ भन्ने, अशोभनीय तरिकाले सरकारी सुविधा लिने, निजी पुँजी पनि राख्ने यो काइदा त नमिल्न पर्ने हो नि ! कम्युनिष्ट भनेर चिनिनेहरु पनि पुराना पञ्च, अहिलेका राप्रपा र काँग्रेसभन्दा कसरी भिन्न भए, फरक रहे त हजुर ?

एकातिर भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपार्ने, अनि अर्कोतिर सरकारी सुविधा पनि सोहोर्नेहरुले नै यो देशलाई कंगाल बनाएका हुन्, टाट पल्टाएका हुन् । एउटा राजा गए, सयौं राजा उदाए भन्न परेको होला जनताले पनि । भूतपूर्व प्रधानमन्त्री, राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानन्यायाधीश, सेनापति, प्रहरी महानिरीक्षक आदि उच्चपदस्थ अधिकारीहरु जसले सरकारी सुविधा बाँचुन्जेल लिन्छन्, पाउँछन्को निजी सम्पत्ति पहिले सरकारीकरण गरियोस् । निवृत्ति भरणका नाममा धेरै सेवा सरकारबाट लिनेहरुको पनि अवस्था र क्षमताहेरी आवश्यक परेमात्रै दिने, नत्र नदिने गरे हुन्छ । निजी पनि राख्ने, सरकारी पनि लिने ? हुँदैहुन्न यो ।

उत्तरी छिमेकी देश चीनका वर्तमान राष्ट्रपतिले यस्तै नेताका लागि भनेका होलान् – निजी सम्पत्तिको लोभ गर्नेहरु कम्युनिष्ट हुनै सक्दैनन्’ भनेर । खै बुझेको र तदनुसारको व्यवहार गरेको ? नेपालका किसान, मजदूर, निम्नमध्यम र मध्यम वर्गीय परिवारले त देशको कुभलो हुने काम कहिलै पनि गरेका छैनन् । तीनवटा सरकारले तिनैका करङ भाँच्नेगरी कर लगाएर पनि नपुगेर अझै आधा सम्पत्ति नै हडप्न(ह्याकिङ्ग) खोज्ने हो भने सबै जनता जाइलागेर धूलो–पीठो पार्लान् भन्नेतिर किन नसोचेको होला । त्यस्तो कानुन बनाइयो भने जीवित छँदै अंशबण्डा होइन, राजीनामा गराउने दबाब बढ्ने छ र वृद्ध–वृद्धा बाबु–आमालाई बाँच्नै सकस पर्ने छ ।

त्यस्तो सोच आउनु पनि दुर्भाग्य हो । सरकारलाई दुईतिहाई बहुमत अपच भएको कुरा सरकारी पार्टीकै नेता राम कार्कीले भनेकै हुन् । नेताहरुको साँठगाँठ माफिया र दलालपुँजीपतिसँग रहेको खुलासा सरकारी पार्टीकै नेता घनश्याम भुसालले गरेकै छन् । बाँकी कुरा त सरकारका प्रवक्ताका मुखबाट हप्तैपिच्छे सुन्न पाइने कर्णप्रिय पवित्र बचनले आफै पुष्टि गर्छन्, नबिर्सिकन सुन्ने गरे हुन्छ, समृद्धिको शिखरमा पुगिन्छ छिट्टै । साह्रै हँसिला, चोपिला, चोटिला र रसिला हुन्छन् वहाँका कलात्मक कुरा उत्तिकै बिछट्टै !

दक्षिण र पश्चिमतिरबाट आउने लुटेराले सधै लुटेकै थिए यो देशलाई, उत्तरतिरबाट पनि आउन थालेछन् अचेल ह्वाह्र्वार्ति । भर्खरै पाँचजना चिनीयाँ ह्याकरहरु उतैबाट तयारी गरेर यता आएर बैंकको करोडौं रुपियाँ लुटेछन् । पक्रेर सार्वजनिक ग¥यो नेपाल प्रहरीले । हतार हतार एटीएम्को पैसा सुरक्षित रहेको सूचना जारी गरे बैंकहरुले पनि । दक्षिणतिरका ठेकेदारले साह्रै दुःख दिएको, तोकिएको समयमा कहिलै काम पूरा नगरेको भनेर उत्तरतिरबाट झिकाउँदा तिनीहरुले झन् बढी सताएको पनि सार्वजनिक भएकै छ । देशभित्रैका नेताहरुले विधि र प्रक्रिया पु¥याएर, कानुनै बनाएर लुटेर सकेको यो देशमा अझै कति बाँकी छ र यसरी हुर्रिदा होलान् कुन्नि ? पञ्चायतले जोडेर छोडेका सवै कारखाना क्वाप्पै खाए, सिध्याए । बाटाबाटै हेर्दा पनि गीद्द, स्याल र कुकुरले सीनो खाएर हड्डी मात्र छाडेका जनावरका खोक्रा शरीरजस्ता देखिन्छन् पहिले मज्जाले चलेका, उत्पादन गरेका, रोजगारी दिएका कारखानाहरु ।

वायुसेवा खाए, त्यो घाटा पूर्ति गर्नै समस्या छ । हेटौडादेखि काठमाण्डौसम्म सामान ओसार्ने केबुलकार खाए । शिक्षा स्वास्थ्य र सुरक्षाका सम्पूर्ण संरचना भताभुङ्ग र लथालिङ्ग पारे खाए, असुरक्षित बनाए । त्यसपछि दासढुंगा दुर्घटना गराए र दरबार हत्याकाण्ड मच्चाएर तत्कालीन राजा वीरेन्द्रको वंशै सिध्याए । प्राकृतिक श्रोत जति बन्धकीमा बेचेर भ्याए । नदी नाला खोला घोला कुला वन जङ्गल केही बँचेनन्, बाँकी राखेनन् । उमेर पुगेको जनशक्ति पनि विदेशीलाई नै बेचे ।

जता गयो उतै मेन पावर कम्पनी छन् । नेपाली काँग्रेसको सरकारले भित्य्राएको निजीकरणको प्रजातान्त्रिक समाजवादको उपहार हो यो । त्यतिले पनि नपुगेपछि तल्लो तप्काका जनतामा बँचेखुचेको निजी सम्पत्ति हडप्न(ह्याकिङ्ग गर्न) अब कम्युनिष्ट सरकारलाई अघि सारिएको हुनसक्छ । ती चिनीया अवैध ह्याकर र हाम्रा अधिकारप्राप्त कानुनी ह्याकरमा कति फरक होला हँ, कि उस्तै उस्तै हो ? छुट्याउनै गाह्रो प¥यो हजुर !

गर्धन चिलाएको हैन, छैन, तर अलि धेरै दुरावस्था दोहोरिने सम्भावना देख्यो प्रभू यी आँखाले । त्यसैले यसरी लेखियो । रिसानी माफ होस् । नेपाली ‘गेष्टापो’हरुलाई नमन छ । डी.आर.जीको चासोमा टेकराजको टिप्पणी साँचो पनि होला । उही बिना तयारी निर्मित संविधानमा संघीयता र धर्मनिरपेक्षता लादेजस्तो कानुन बनाउँदा उस्तै अवस्था आउला । सिद्धान्तका लागि धर्मनिरपेक्षता र संघीयता पनि राम्रै होलान्, आधार तयार भएका ठाउँमा ।

आधार केही नभएका ठाउँमा त सर्वनाशबाहेक अरु ननिम्तिने रहेछ । साहै्र सकस छ धान्न । अर्थमन्त्रीले पनि धान्ने अर्को उपाय नभएर जनताको सम्पत्ति हडप्ने कानुन बनाउन खोजेका होलान् । गरीब नेपाल र कंगाल नेपालीलाई संघीयता र धर्मनिरपेक्षता नामका दुइटा सेताहात्ती दान दिने दानीहरु उस्तै । कुरै नबुझिकन, आधार तयार नपारीकन, दानलिने भाग्यमानीहरु पनि उस्तै ।

ती दान दिने र लिनेहरुलाई मजदूर र मजबूर नेपालीहरुले कति दिनसम्म काँधमा बोक्नुपर्ने हो थाहा भएन । चिमोटी चिमोटी, निमोठी निमोठी पटक पटक दुःख दिएर मार्नु भन्दा बरु एक्कैचोटी छ्याक्क पारेर गर्धन छिनाली दिए हुन्थ्यो नि दलालहरुले । हलाल गर्नाले रेटेको रेट्यै पारे, जनता पनि कति छट्पटाउने हो, हात–खुट्टा फट्फटाउने हो ? चल्न चट्पटाउन पनि नसक्ने अवस्था तयार भैसकेको छ गाउँतिर । मुहार फेर्न गएकाहरुले चुनाव जितेर पाएको अधिकारका आधारमा कानुन निर्माण गरी प्रक्रिया पु¥याएर पालैपालो लुछ्दा गुहार दिने पनि कोही भएनन्, रहेनन् । साह्रै आपत् पो छ है !

गाई चुनाव चिन्ह लिएर विजयी भएका, हिन्दूहरुका रक्षक कहलिएका नेपालगञ्जका मेयरसाहवलाई साँच्चैका गाई दक्षिणबाट हुलकाहुल आएर आपत् पारेपछि भीरमा लगेर गुल्ट्याउन बाध्य हुन परेजस्तै भएको होला नेपाल सरकारलाई पनि । संघीयता र धर्मनिरपेक्षता थाम्न सकिन्न भन्न नमिल्ने, फाल्न पनि नसक्ने अवस्थाले गर्दा ।

अनि आफ्नै जनतातिर फर्केर विश्वका किसानहरुको प्रतीक मानिएको कम्युनिष्ट पार्टीको झण्डामा हुने हँसिया एक हातमा लिएर रेट्न र अर्को हातले विश्वका मजदूरहरुको प्रतीक भनेर जानिएको हथौडा समाएर ठोक्न बाध्य पारिएको पनि हुनसक्छ कम्युनिष्ट सरकारलाई ! नत्र त्यस्तो कुरा कसरी आउँथ्यो होला र है !

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६ , ८:२० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology