लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट


शनिबार, मंसिर २१, २०७६

लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट

रुपन्देही ।
लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन् । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरेपनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन् ।
अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखी सरसफाई, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन् । प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीहरुले अस्पतालको सेवाबाट असन्तुष्टी व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिब एवं टेक नारायण पाण्डेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षण अनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको बताएका थिए । बाँकी ३ प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको प्रतिक्रिया दिएका थिए । बिरामीहरुले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहार समेत सहि नभएको बताए । अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठिक ठिकै लागेको प्रतिक्रिया दिए । अस्पताल आउने ७ प्रतिशत बिरामीले मात्रै नर्सको व्यवहार राम्रो लागेको बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले प्रश्न गर्दा चिकितसक र नर्सहरुले उत्तर दिन झर्को मान्ने ,बिरामीसंग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए ।
मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अस्पतालको उपचार सेवा, सरसफाई, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन् । अस्पतालको फार्मेसीमा औषधी नभएका कारण ७५ प्रतिशत बिरामीले अस्पताल बाहिर नीजि क्लिनिकबाट औषधी किन्ने गरेको बताए ।
अस्पतालमा आएका विरामी मध्ये ल्याव जाँच गर्नु पर्ने विरामीहरु चिकित्सक र नर्सको सिफारिशमै निजि क्लिनिकमा जाने गरेका छन् । अस्पतालमा ल्याब परिक्षण गराउदा सस्तो पर्ने भएपनि आफुलाई आउने कमिसनका कारण चिकित्सक र नर्सले निजि क्लिनिकमा ल्याब परिक्षण गर्न पठाउने गरेका छन् । त्यसरी चिकित्सक र नर्सको सिफारिशमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ३२ प्रतिशत रहेका छन् ।
अस्पतालको सरसफाईमा सुधार हुन नसक्दा बिरामीका गुनासा पुरानै छन् । बिरामीहरुले प्रयोग गर्ने अस्पतालको शौचालय समेत प्रयोग गर्न लायक छैन । शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्न समेत समस्या भएको बिरामीको गुनासो छ । अस्पताल आउने ७७ प्रतिशत बिरामीले अस्पतालको सरसफाई राम्रो नभएको बताउँछन् ।
अस्पतालको सेवा सुधार गरि बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पतालमा आन्तरिक सर्बेक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिब ज्ञानहरी घिमिरेले बताउनुभयो।
उहाले सर्बेक्षणको प्रतिबेदन सम्बन्धित मन्त्रालय र कार्यालयलाई प्रदान गरि सेवा सुधारका लागि समय दिएको जानकारी गराउनुभयो । “ अस्पतालको सेवाप्रति बिरामीको धेरै गुनासो छ ,अब सरोकारवालासंग बसेर कसरी अगाडी जाने भन्ने बारे छलफल गर्छौ ,उहाले भन्नुभयो ।
वि.सं. १९६७ साल फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालको रुपमा परिणत भएको थियो । २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालको रुपमा सञ्चालित छ । प्रदेशका सबैजस्तो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आउँछन् । अस्पतालमा प्राय सबै रोगका विशेषज्ञहरु छन् । तर अस्पतालका जागिरे चिकित्सकहरुले अस्पतालभित्र भन्दा बाहिरका निजि क्लिनिकमा बढी समय दिएपछी समयमा सेवा पाउन नसकेको बिरामीको गुनासो छ ।
प्रदेश सरकारले अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास र विस्तार गर्नका लागि प्रक्रिया अघि बढाइएको हो । अस्पतालमा भबन अभाबको कारण बिरामीलाई सेवा दिन समस्या भएपछि डाईग्नोष्टिक भवन बनाउन सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पतालको स्तर बृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनिति अनुरुप काम अगाडी बढाएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभया् ।
अस्पतालको सेवा सुधारका लागि ईमर्जेन्सी र प्रसुती सेवालाई प्राथमिकतामा राखेर काम अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजेन्द खनालले जानकारी दिनुभयो । “अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन र व्यवहारलाई विशेष ध्यान दिएका छौं ,” उहाले भन्नुभयो ।
रासस

प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६ , ७:२४ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology