जनता टुडे , बुटवल ।
प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन आज प्रदेश सभासचिवालयमा बुझाएको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेर आज विहान ११ बजे सचिवालयका सचिव दुर्लभ बहादुर पुन र उप सभामुख कृष्णी थारुलाई बुझाएको समितिका संयोजक दिपेन्द्र पुनले बताउनुभयो।
तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिससहितको प्रतिवेदन पेश गर्नेगरी गठन भएको विशेष समितिले करिब डेढ वर्ष लगाएर प्रतिवेदन तयार गरेको हो ।
पछिल्लोपटक थप गरिएको ६ महिनाको समय अवधि सकिनु एक दिन अघि मंसिर ३० गते सोमबार समितिले प्रतिवेदन तयार गरेको हो ।
प्रदेशका बाह्रवटै जिल्लामा पुगेर लिइएका राय सुझाव, विज्ञहरु सम्मिलित समितिले दिएको सुझाव र हालै भएको भारतको चण्डीगढको अध्ययनलाई समेटेर प्रतिवेदन तयार गरिएको हो ।
प्रदेश सभाका १२ सांसदहरू र कर्मचारीको टोली मंसिर २१ गतेदेखि राजधानीका विषयमा अध्ययन गर्न एक साता लामो चण्डीगढ भ्रमण गएका थिए । भ्रमणबाट फर्किएलगत्तै विशेष समिति प्रतिवेदन तयारीमा जुटेको थियो ।
समितिका सभापति पुनले प्रतिवेदनमा समितिको धारणाभन्दा पनि अध्ययनबाट आएका सुझावहरुलाई जस्ताको तस्तै समेटिएको बताुउनुभयो। ‘’
तर समितिका केही सदस्यले भने प्रतिवेदनले नाम र स्थानबारे संकेत गरेको दाबी गरेका छन् । प्रतिवेदनमा बुटवल क्षेत्र, चन्द्रौटा क्षेत्र र लमही क्षेत्रलाई विज्ञ समितिले सुझाव दिएको भनेर समेटिएको छ । समितिले दिएको प्रतिवेदनअनुसार प्रस्ताव हुने नाम र राजधानीको टुंगो लगाउन प्रदेश सभाले कम्तीमा दुई तिहाई मतले पारित गर्नुपर्छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्