पहिले उसले हात समात्यो !
गुरूलाई सम्झें…
लट्ठी थाप्न गल्तीहरूमा
सबैले झैं हात फैलाउँदा
गुरू मुसार्नुहुन्थ्यो मेरा हात समाई
कुनै ईखालु केटोको हातमा पर्थ्यो
मेरो भागको सजायँ पनि
मेरो रूपलाई
मेरै दुश्मन बनाइदिने पहिलो मानिस
मेरै गुरू हुन…
मैले हात छुटाउन बल लगाइन !
अनि उसले मेरो मुख थुन्यो !
आमालाई सम्झें…
अलिकती जोडले हाँस्दा खुसीहरूमा
‘उत्ताउली भइस्’ भन्नुहुन्थ्यो आमा
हतपत मुख ढाक्थें हत्केलाले ढपक्कै !
आमा सिकाउनुहुन्थ्यो-
‘छोरी भए पछि शूसिल र सहनशील हुनुपर्छ’
आमाका उपदेशलाई सम्झिरहें…
मुख बाट उसको हात पनि हटाइन !
त्यसपछि उसले आँखामा रूमाल बाँध्यो !
दाजुलाई सम्झें…
बेरेर नभ्याउँदै समयको लट्टाइमा
रहरको चंगाको धागो
दाजुका जूँगाको धारले
धागो काटिदिन्थ्यो सधै
बिलाइजान्थ्यो चंगा कतै !
‘साँझ छिटो पर्छ बैनीहरूलाई’
केही नभनेरै यसै भन्थे दाजै सधै
एउटै घरमा फरक घडी हेरेर हुर्केकी मैले
यसपली आँखा बाट
रूमाल पनि हटाइन !
अब उसले हात पुर्यायो छातीमा !
बाबालाई सम्झें…
बाबाको पिठ्यूँ
मेरो सवारी बन्न त्यसै दिन देखि छोडेथ्यो
जुन दिन देखि मेरा छातीहरू
उहाँलाई बिझाउन थालेथे !
तेह्र देखि बिझाउन थालेका छातीहरू
तेइस सम्म बिझाइरहँदा
कती बोझिलो भयो होला उहाँको छाती ?!
बाबाको बोझलाई मैले
आफ्नो छातीमा सार्ने निधो गरें !
र अन्त्यमा,
उसले धावा बोल्यो अस्तित्वको मुहानमा !
प्रेमीलाई सम्झें…
‘कसैले नबुझे पनि तिमीलाई मैले बुझ्छु’ भन्थ्यो
‘कतै टाढा एउटा छुट्टै संसारमा लैजान्छु’ भन्थ्यो !
र लैजान्थ्यो त्याहाँ
जहाँ सुगन्ध हुँदैन्थ्यो, केवल वासना हुन्थ्यो !
विस्वासको घडामा
उसैले हो सबै भन्दा पहिले प्वाल पारेको
उसैले हो सपना देख्ने आँखाहरूमा
आँशुको आहल थुपारेको !
सम्झेर ल्याउँदा
सबै थोक
सबै जना
सबै घटना
अकस्मात् मलाई
बलात्कारी संग प्रेम भयो !!
…………..
दुरान फर्काउन आएकी दिदीले
आफ्नो प्रेमकथा बैनीलाई
यसै गरी सुनाइन !!
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्