सैनामैनामा जग्गाधनी पुर्जा पाउँदा स्थानीय खुसी, थप १ सय ८८ जनाले पाए पुर्जा

सैनामैनामा जग्गाधनी पुर्जा पाउँदा स्थानीय खुसी, थप १ सय ८८ जनाले पाए पुर्जा

सैनामैना ।

सैनामैना नगरपालिका झारबैराका ८६ बर्षीय गोले दङ्गोरिया थारु आइतबार खुसी देखिन्थे । लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र लालपुर्जा पाउँदा उनमा खुसीयाली छाएको थियो । सैनामैना नगरपालिकाले आइतबार वितरण गरेका १ सय ८८ लालपुर्जा मध्ये दङ्गोरिया थारु पहिलो पुर्जा पाउने व्यक्ति थिए ।

साविक पर्रोहा वडा नं। १ को कित्ता नं। ५५ रहेका रामकृपाल थारु पनि ४४० दशमलव ३८ हेक्टर क्षेत्रफलमा रहेको जग्गाको पुर्जा पाउँदा खुसी थिए । उनले भने – ‘बर्षौदेखीको प्रयास बल्ल सफल भयो । अब बैँकमा धितो राखेर पनि ऋण निकाल्न पाइने भइयो । नगरपालिकालाई धन्यवाद दिन्छु । ’

साविक १ का एक दाजुभाइले भने संयुक्त लालपुर्जा पाएका छन् । पुर्जा पाउनेमा करिब ७० वर्षीय सोफु कठरीया थारु र नाथु प्रसाद कठरीया थारु हुन् । त्यस्तै किता नं। ३३ की मान कुमारी सुनार, चिन्न वाटर थारु, गौवारी थारु लगायत १ सय ८८ जनाकै अनुहारमा खुसीयाली छायो ।

१ सय ८८ जनालाई लालपुर्जा वितरण

रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाहरुको लालपुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संयुक्त रुपमा पुर्जा वितरण गरेका थिए ।

यहाँका साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकको समस्यामा समुदायमा रहेका १ सय ८८ जनालाई पुर्जा वितरण गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।

उनले गतवर्ष पनि नगरपालिकाले गाउँब्लक जग्गाहरुको करिब ५ सय जग्गाधनी प्रमाण पत्र वितरण गरेको उल्लेख गर्दै साविक दुधराक्ष गाविसका वडाहरु अझै पनि बाकी रहेको बताए । उनले भने – ‘यो वर्ष दुधराक्षका गाउँ ब्लकको नापजाँच र श्रेस्ता तयार गरिनेछ । र आउने असार मसान्त भित्र नै पुर्जा वितरण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । ’

कोभिड १९ को संक्रमणका क्रममा पनि नगरपालिकाले नापी विभाग सँग समन्वय गरी पुर्जा वितरण कार्यलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उल्लेख गरे ।

जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले रुपन्देहीमा विगत लामो समयदेखी बाकी रहेका करिब १४ सय ब्लक नापीहरु मध्ये यस बर्षमा करिब ८० गाउँब्लकहरु वितरण गरिएको जानकारी दिए । प्रमुख कुंवरले लालपुर्जा वितरण कार्यमा कोही व्यक्तिले आफ्नो पुर्जा छुटेको वा नपाएको खण्डमा ६० दिन भित्र नापी कार्यलय रुपन्देहीको मद्यौवलियामा सम्पर्क गर्न समेत आग्रह गरे ।

पहिले नापी गर्दा गाउँवस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गा धनी प्रमाण पत्र – लालपुर्जा वितरण गरेको हो ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij