काठमाण्डौ – चीनको राजधानी बेइजिङमा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था हटेको छ । बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बढी भिडभाडमा जाँदा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
अब बेइजिङमा ठूलो भिडभाड वा अरु मानिससँग एकदमै नजिक जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ । सार्वजनिक ठाउँमा थुक्न नपाइने व्यवस्था तथा अभिभावकको निगरानी विना बालबालिकालाई घरबाहिर जान रोक लगाउने व्यवस्था भने कायमै छ ।
कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिने क्रम घटेसँगै चीनमा विभिन्न प्रतिबन्ध हटाइँदै लगिएका छन् । जसअन्तर्गत बेइजिङमा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था पनि हटेको खबरमा उल्लेख छ ।
यसैबीच गएको डिसेम्बरको अन्त्यतिर कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको मानिएको वुहानमा एउटा स्विमिङ पुलमा भएको जमघटमा धेरै मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो । जहाँ उपस्थित कसैले पनि मास्क लगाएका थिएनन् ।
चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । झण्डै चार महिनादेखि चीनमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ ।
चीनमा अहिलेसम्म ८४ हजार नौ सय १७ जनामा कोरोना सङ्क्रमण भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । ७९ हजार सात सय ९२ जना निको भएका छन् । अहिले चीनमा चार सय ९१ जना मात्रै सक्रिय सङ्क्रमित रहेको चीनको स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्