सल्यान– वागचौर नगरपालिका–१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् ।
ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिराले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।
अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए । ‘यस ठाउँमा सय वर्ष पहिले यस्तैखालको पहिरो गएको हो भन्ने सुनेका थियाँै, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुप¥यो,’ उनले भने ।
पहिराले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । ‘विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं,’ स्थानीयवासी पदम खत्रीले भने ।
वाफुखोलाको ओखरेनीमा पहिराले ठूलो क्षति भएकाले तथ्यांक संकलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपककुमार वलीले बताए । ‘अहिले वडा कार्यालयमार्फत् मुचुल्का तयार गर्ने काम भइरहेको छ र राहतका लागि पहल गरिनेछ,’ उनले भने । बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्