तिलोत्तमा- तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयले वैशाख १२ गतेअघि नैं लिइसकेका थिए ।
बाँकी कक्षाको परीक्षा वैशाख १२ बाट सुरु भएकोमा कोरोना महामारी बढेपछि सोही दिनबाटैं परीक्षा रोकिएको थियो । हालसम्म कोरोना महामारीको संक्रमण यथावत् रहेकोले विद्यार्थी भौतिक रुपमा विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
शिक्षा समिति संयोजक समेत रहनुभएका नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । आन्तरिक मूल्यांकनको लागि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अंकको ४०÷४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
समितिको बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षाको लागि समेत सोहीअनुसारको मापदण्डको आधारमा मूल्यांकन गरी त्यसको विवरण जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई सूचित गरेको छ । नगरपालिकाले नतिजा प्रकाशित गर्नुभन्दा अघि नयाँ शैक्षिक सत्रको भर्ना तथा अनलाइन कक्षा नचलाउन विद्यालयलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्