काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक २०७८ पारित गरेको छ ।
राष्ट्रिय सभाको दोस्रो बैठकमा पनि एमालेका सांसदले अवरोध गरेका थिए । तर अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभएको थियो ।
त्यो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो । यसअघि एमालेकी सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिइ बैठक सुरु हुन नदिने अडान राख्नुभएको थियो । उहाँले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षड्यन्त्रविरुद्ध उभिनुपरेको पनि पटक–पटक दोहोर्याउनुभयो ।
एमालेका सांसदको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाका पूर्व सांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गएको भदौ २६ गते काठमाण्डौमा उहाँको निधन भएको थियो । उहाँ २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।
यसैबीच राष्ट्रिय सभाको अर्को बैठक आउँदो भदौ ३० गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्