लुम्बिनी प्रदेश सरकारलाई दुईकरोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

लुम्बिनी प्रदेश सरकारलाई दुईकरोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

भैरहवा

भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई दुईकरोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानले सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री कुल प्रसाद के.सी.लाई उक्त सामग्री हस्तान्तरण गरेको हो । बुटवलमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले मुख्यमन्त्री के.सी.लाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री बोहराको बुवा स्व. प्रतिमानचन्द बोहरा र आमा स्व. नीमा बोहराको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले यस अघि लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा अस्पताललाई साढे २ करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरिसकेको कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । उनले गण्डकी प्रदेशबाट स्वास्थ्य सामग्री वितरण सुरु गरिएको र सोमबार लुम्बिनी प्रदेश सरकारलाई प्रदान गरिएको बताइन् । कार्यकारी निर्देशक थापाले भैरहवामा रहेको प्रतिष्ठानले सातैवटा प्रदेशका मुख्यमन्त्रीमार्फत स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताइन् । प्रतिष्ठानद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्रीको सदुपयोग हुनेमा विश्वस्त छौं, ’उनले भनिन् । प्रतिष्ठानको पहलमा अमेरिकास्थित प्रोजेक्ट होपबाट प्राप्त सामग्री प्रदेश सरकारलाई प्रदान गरिएको थापाले बताइन् । कोरोनाविरुद्धको खोपका लागि पनि प्रतिष्ठानले पहल गर्दै आएको र खोप अभियान लुम्बिनी प्रदेशबाटै सुरु गर्ने सोच रहेको उनको भनाइ थियो ।

वितरण गरिएको सामग्रीहरुमा गाउन आइसोलेशन ३ हजार ३ सय २० थान, फेस शिल्ड २ हजार १ सय ९० थान, मास्क १४ हजार थान, एननाइटी फाइभ मास्क ३ हजार थान, डिजिटल थर्मोमिटर ३२ थान, प्रोटेक्टिभ फेस शिल्ड ३ हजार १ सय ५० थान, पीपीई (मिडियम) १२० थान, पीपीई (लार्ज), ४६० थान, इमरजेन्सी रिलिफ बेड ६ थान, ग्लोब्स १ लाख ६६ हजार थान, के एन नाइटी फाइभ प्रोटेक्टिभ मास्क १५ हजार ४ सय थान रहेको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिए ।सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री के.सी.ले संकटको बेला प्रतिमान–नीमा स्मृति प्रतिष्ठान प्रदेश सरकारको सारथी बनेको बताए । उनले प्रदेश सरकारले प्रतिष्ठानसंग सहकार्य गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताए । ‘नागरिकको जीवन बचाउनु नै सरकारको पहिलो दायित्व हो, सामान्य विकास निर्माणका कार्य एक वर्ष थाती राखेर खासै फरक पर्दैन, ’उनले भने । उनले प्रतिष्ठानले गरेको सहयोगप्रति आभार प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गरे ।

पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका उपाध्यक्ष दीपक बोहराले अब उप्रान्त यही परिवेशमा लुम्बिनी प्रदेश आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले भैरहवास्थित भीम अस्पतालमा प्रतिष्ठानले एउटा भेन्टिलेटर उपलब्ध गराउन लागेको बताए ।स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको बताए । उनले प्रतिष्ठानबाट प्राप्त सामग्री आवश्यकता अनुसार जिल्ला जिल्लामा पुग्ने बताए । डा. देवकोटाले गुणस्तरीय सामग्रीले निश्चय नै फाइदा हुने बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा थप काम गर्नुपर्ने बताए ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी., राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणा, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । यो संगै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सातवटै प्रदेश गरी साढे १० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij