सभामुख सापकोटाको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

सभामुख सापकोटाको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुन सकेन ।

सूचना तथा सञ्चार मन्त्री रहेका बेला सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा तोकिएको थियो ।

तर उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । न्यायाधीश कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गरेका थिए । त्यसैले कार्कीको स्वार्थ बाझिने भएकाले बुधबारको संवैधानिक इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएको ती अधिकारीले जानकारी दिए ।

यसअघि १६ भदौमा पनि यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा राखिएको थियो । र हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो । झण्डै एक महिनापछि पनि फेरि हेर्न नमिल्ने इजलासमै उक्त मुद्दाको पेशी राखिएको हो ।

यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि उनले कनकमणि दीक्षितविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

 

प्रकाशित मिति : बुधबार, असोज १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij