लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसः

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसः

राष्ट्रपतिको आग्रहः बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ

रुपन्देही-राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले छब्बीस सय वर्षदेखि एशिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको उल्लेख गरिन् ।
बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्नसके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उनको विश्वास छ । “यसबाट हाम्रो महान बौद्ध सभ्यताको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्न सक्दछ । प्राज्ञिक विकासको पूर्वसर्त विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता हो, विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनु पर्दछ”, राष्ट्रपति भण्डारीले भनिन् ।
हाम्रो मुलुकबाट ठूलो सङ्ख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले बौद्ध विश्वविद्यालयले लिएको आफ्नो लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिईन् ।
राष्ट्रपति भण्डारीले बुद्धद्वारा प्रवर्तित सामूहिकता र मानव प्रेमको भावना जागृत गराउनसके समाजमा विद्यमान स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्ने उल्लेख गर्दै बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्नरूपले जोडिएको प्रसङ्ग उल्लेख गरिन् ।

“उडिरहेको हाँसको पखेटामा तीर लागेर जमिनमा झरेको भेटेपछि बगैँचामा खेलिरहेका सिद्धार्थले जडीबुटीद्वारा त्यसको उपचार गरेको प्रसङ्ग बौद्ध शिक्षामा आउँछ । यसले एकातिर बुद्धमा रहेको दया र करुणाको भाव झल्काउँछ भने अर्कातिर उनमा बाल्यावस्थादेखि नै प्राणी र वनस्पतिसँग सान्निध्य रहेको स्पष्ट पनि पार्दछ”, उनले भनिन् ।
राष्ट्रपति भण्डारीले मुलुकको मौलिक परम्पराका रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समयसापेक्ष तुल्याउनुपर्ने बताईन् ।
विशेषरूपमा कपिलवस्तु, रूपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक साँस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्वद्र्धन गर्न अग्रसर हुनुपर्नेमा उनको जोड छ ।
राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक साँस्कृतिक महत्वका वस्तु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्बद्ध निकायले ध्यान पु¥याउनुपर्ने बताईन् । राष्ट्रपति भण्डारीले भनिन्, “विश्वसम्पदामा सूचीकृत लुम्बिनीका मूर्त तथा अमूर्त सम्पदा विश्वकै अमूल्य निधि भएकाले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायकोसमेत साथ लिन सकिन्छ भन्ने मलाइ लाग्दछ ।”
समारोहमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्धका शिक्षालाई व्यवहारमा उर्तानुपर्नेमा जोड दिए । उनले बुद्ध शिक्षाले शान्ति र समानतालाई जोड दिएको जनाउँदै विश्वविद्यालयले सैद्धान्तिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर बौद्ध शिक्षालाई अनुसन्धानमा आधारित बनाउनेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए ।
उनले बुद्धका उपदेश र शिक्षालाई समेटेर गुणस्तरीय शिक्षा प्रदान गरी बुद्ध दर्शनसम्बन्धी प्रबै प्रकारका ज्ञान हासिल गर्न सकिने शैक्षिक अनुसन्धानको केन्द्रका रुपमा विश्वविद्यालयलाई स्थापित गर्नुपर्ने बताए । उनले विभिन्न भाषामा प्रकाशित पुस्तक तथा लेखलाई नेपालीसहित विभिन्न भाषामा प्रकाशित गरेर बौद्ध दर्शनको विस्तार र विकास गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरी शिक्षालाई सीप र संस्कारसँग जोडेर आध्यात्मिक समृद्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताए । उनले बौद्ध दर्शन, साहित्य कला जस्ता बुहआयामिक विषयमलाई समेटेर शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरे । नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले विदेशी विद्यार्थीसँग प्रतिष्पर्धा गर्नसक्ने गरी विद्यार्थीको क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।
थेरवाद, महायान र बज्रायान तिनै क्षेत्रलाई समेटेर बौद्ध शिक्षालाई शिक्षा प्रणालीका हरेक तहमा लैजानुपर्ने र पाठ्यक्रममा समेत समेट्नुपर्ने उनले बताए । समारोहमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी आकर्षक गन्तव्यकारुपमा विकास हुँदै गइरहेको बताए ।
उनले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रभावकारी ढङ्गले हुनसके लुम्बिनी संसारकै लागि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकासित हुने उल्लेख गरे । उनले बुद्ध जन्मस्थलसँगै यससँग जोडिएका स्थलकोसमेत बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नसके देशको अर्थतन्त्रमा यसले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।
यसअघि लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि आफू अर्थमन्त्री रहेका बेला रु सात अर्ब ३३ करोड बजेट विनियोजन गरिएको जनाउँदै यो रकमको सही सदुपयोग होस् भन्नका लागि सबैको ध्यान जान आवश्यक रहेकामा जोड दिए ।
पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको ९२ बिघा जग्गा अधिग्रहण गरी विश्वविद्यालयका संरचना विस्तार गर्ने काम भइरहेको र अन्य क्षेत्रमा पनि विश्वविद्यालयका संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन गरिएको पूर्ववर्ती सरकारले लिएको योजना पूरा गर्ने कामलाई निरन्तरता दिएर अघि बढ्न जरुरी रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ५०० बिघा जग्गा अधिग्रहणसँगै सबै पूर्वाधारका लागि डीपीआरको काम सकिएको जनाउँदै एशियाली विकास बैँक ऋण सम्झौताका लागि तयार रहेकाले विमानस्थलको उद्घाटन हुँदा दोस्रो चरणको काम सुरु गर्ने गरी काम अघि बढाउनुपर्ने बताए ।

विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताए । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक डा गीतु गिरीले बौद्ध साहित्य, भाषा, शिक्षा तथा संस्कृतिको अध्ययन र अनुसन्धानका लागि अनुसन्धान केन्द्र खोलिएको जनाउँदै सोहीअनुसार काम अघि बढाइएको बताए ।
विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सबैको साथ र सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको बताए । समारोहमा पुर्व प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, विष्णु ढकाल, अनिल मरासिनी, सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले रु नौ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्नुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यका अनुसार ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले ८ वर्षअघि लुम्बिनीमा पठनपाठन शुरु गरेको थियो । बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्र्तगत विभिन्न विषय सञ्चालन गरिरहेको छ ।
लुम्बिनी, बुटवल र देवदहमा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । यो अवधिमा विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक भवन, केन्द्रीय कार्यालय भवन, केन्द्रीय पुस्तकालय भवन, केन्द्रीय क्याम्पस भवन, छात्रा वास, शिक्षक आवास गृह, पदाधिकारी आवस गृह, बुटवल सिटी कलेज, अनुसन्धान केन्द्र निर्माण गरेको छ ।

 

 

प्रकाशित मिति : बिहिबार, मंसिर १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij