ठमाडौं । सर्वोच्च प्रशासनले अदालत परिसरमा नारा जुलुस नगर्न आदेश दिएको छ । तर आन्दोलनरत कानुन व्यवसायीहरुले भने सर्वोच्चको उक्त आदेश नमान्ने बताएका छन् । सर्वोच्च प्रशासनका पदाधिकारीले कानुन व्यवसायीहरुलाई फोन गरेरै सर्वोच्च परिसरमा प्रदर्शन र नाराबाजी नगर्न भने पनि आफूहरु झनै दबाब दिने रणनीतिमा लागेको बार पदाधिकारी बताउँछन् ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले कसैले फोन गर्दैमा आन्दोलन नरोकिने बताए । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालत प्रशासनबाट फोन आएको बताएका छन् ।
सर्वोच्चबाट अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न भनिएको श्रेष्ठको भनाइ छ । अदालतको काम-कारबाहीमा प्रभाव पर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निर्देशनमा प्रदर्शनमा अवरोध गर्न खोजेको श्रेष्ठले सञ्चारकर्मीलाई बताए ।
प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म पछाडि नहट्ने बारका पदाधिकारीको चेतावनी छ । सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दा नराम्रो सन्देश गएको भन्दै रोक लगाउने तयारी स्वरुप सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएसनका अध्यक्षलाई मोबाइलमा सन्देश (म्यासेज) पठाएको हो ।
सर्वोच्च प्रशासनको यो तयारीपछि आजै (मंगलबार) सुरक्षामा खटिएका प्रहरीले शान्त रुपमा अदालत प्रवेश गर्न र माइक प्रयोग नगर्न भनेका छन् । सर्वोच्च र नेपाल बारले कात्तिक ११ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्