स्वतन्त्रता र आत्मसम्मानको जग २००७ सालको क्रान्ति : प्रधान मन्त्री

स्वतन्त्रता र आत्मसम्मानको जग २००७ सालको क्रान्ति : प्रधान मन्त्री

काठमाडौँ – प्रधान मन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।

उनले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताएका छन् । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उनले उल्लेख गरेका हुन् ।

‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ’, प्रधान मन्त्री देउवाले बताएका छन् ।

विसं २००७ मा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो । यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज हामीले लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेका छौं । उनले नेपाली काँग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको बताए ।

उनले आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको बताएका छन् ।

प्रधान मन्त्री देउवाले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याएका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्ति र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीद, अग्रज नेता तथा कार्यकर्ता सबैमा सम्मान व्यक्त गर्दै सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij