बुटवल
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले लुम्बिनी प्रदेश सहित अन्य प्रदेशका केही उम्मेदवारहरुको घोषणा गरेको छ ।
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले शुक्रबार बुटवलमा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका केही जिल्ला र अन्य प्रदेशका समेत स्वतन्त्र उम्मेदवारहरुको घोषणा गरेको हो ।
प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ मा विशाल बास्कोटा,२ मा डा. निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार घोषणा भएको छन् । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व भारतीय सैनिक हुन् ।
यस्तै प्रदेश सभा सदस्यतर्फ रुपन्देही ४ ‘ख’मा सञ्जयकुमार मिश्रा र ५ ‘क’ मा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसीले उम्मेदवार घोषणा गरेका छन् । उनीहरुलाई लौरो अभियानका संयोजक सुमन सायमीले चुनाव चिन्ह लौरो प्रदान गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरुमा गठबन्धनको अहंकार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरु यसबाट मुक्त भए मात्रै परिवर्तन आउन सक्ने बताए ।
काठमाडौंमा बालेन साहले एक्लै जितेर स्वतन्त्रले राम्रो गर्न सक्छन् भन्ने पुष्टी गरेकाले स्वतन्त्र युवा उम्मेदवारहरु उत्साहित भएको सायमीको दावी छ । ‘पुराना दल र नेताहरुले जे जति गर्नुभो उहाँहरुलाई ससम्मान बिदा गर्ने हो, तिरस्कार हैन’, सायमीले भने, ‘देशको अवस्था बदल्न अब स्वतन्त्र युवालाई अवसर दिनपर्छ ।’
कार्यक्रममा स्वतन्त्र अभियन्ता अनन्तराज घिमिरेले सक्षम र योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने बताए ।
उनले प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारले जितेमा मुलुकलाई आर्थिक बोझ थोपर्ने संरचनाहरु घटाउने या अनावश्यक भए हटाउने बताए ।
रवि लामिछाने र रमेश खरेलको पार्टीसँग चुनावमा एक भएर जान लौरो अभियानले निरन्तर वार्ता गरिरहेको उनले खुलाए । ‘स्वतन्त्र र वैकल्पिक शक्तिहरु एकजुट नभएर परिणाम निकाल्न सकिन्न’, उनले भने, ‘एकजुट नहुने हो भने हामीहरु मध्ये कोही कसैबाट परिचालित भएको ठहर्छ ।’
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्