काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आईतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं (PGDPS 12th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथि मानीय गृहमन्त्रीज्यूले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको कुरा उल्लेख गर्दै यस्तो गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरू प्रत्येक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुनेगरी सेवा प्रदान गर्न सफलता हासिल गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी जस्तो गतिशील संगठनमा तालिमको महत्वबारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जानकार रहेको उल्लेख गर्दै प्रमुख अतिथिज्यूले बढ्डो चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरेमा त्यसमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहने कुरा उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचनको सुरक्षामा नेपाल प्रहरीले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै मंसिर ४ गतेलाई तय भएको आगामी निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बहन गर्न नेपाल प्रहरीलाई सदा झैं सफलता मिलोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।
पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम हुने कैलाश लिम्बु, सर्वद्वितीय आदर्श गिरी, सर्वतृतीय आशिस पोखरेल, अध्ययन प्रथम गोविन्द प्रसाद भण्डारी, कवाज प्रथम अभय लामा, शारीरिक व्यायाम तथा प्रहरी युक्ति तथा कारबाही प्रथम सनम मल्ल र चाँदमारी प्रथम हुने पूर्ण बहादुर के.सी. रहेका छन् ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आज दीक्षित हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधनको क्रममा अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो । चुनौतीको सामना गर्नका लागि १७ महिना लामो तालिमले सक्षमता प्रदान गरकोले उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । मन्तव्यको क्रममा उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : आइतबार, कार्तिक ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्