केपी ओलीसँग नैतिकता छैन: घनश्याम भुसाल

केपी ओलीसँग नैतिकता छैन: घनश्याम भुसाल

काठमाडौं : नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो।

 

 

आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरूद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे। सत्तारूढ गठबन्धनको साथ लिएर रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथिनै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे।

‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो। उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन। यी पार्टीका पनि कमिला बराबर नै हुन। यी जनता भनेका, अरू पार्टी भनेका कांग्रेस भनेका यी छिचिमिरा हुन्। यिनको काम छैन भन्ने हिसाबले सोच्नु भयो। संसारमा कोही छ भने म छु। कोही प्रतापी छ भने म छु। कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ। मसँग जति यो सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो। र, उहाँलाई एक खालको भन्ने हो भने उहाँलाई हनुमान नाच्ने हुन्छ नि एउटा झाेंक चल्ने, राजनीतिक भयंकर ठूलो हनुमान झाेंक चल्यो उहाँलाई। अनि, त्यो हनुमान नाच्नेले गर्छन नि त्यो फलफूल भाँच्छ, के गर्छ। त्यस्तै औदान उहाँले गर्न थाल्नु भयो। र, नेकपा एमालेमा त समस्या बनाउनु भएको थियो थियो। उहाँले संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि ओलीजीको समस्या एमालेले त व्यहोरेको थियो थियो। अव मुलुकले पनि समस्या व्यहोर्न थाल्यो,’ उनले भने, ‘उहाँले संसद विघटन गरिदिनु भयो। त्यो संविधान यत्रो रगत, पसिना बगाएर ल्याएको संविधान छ जनताले ७० वर्षसम्म लडेर ल्याएको। त्यसो भएपछि हामीले उहाँको विरोधमा उत्रनुपर्ने भयो। र, उहाँले संसद विघटन गरेपछि त्यो संसद विघटनको विरूद्धमा, संविधानको पक्षमा त्यस अर्थमा जनताका अधिकारहरू सारा लेखिएको संविधान संविधान भनेर त्यो कागजको खोस्टो मात्र होइन। त्यहाँ त हाम्रो देशको मात्रै नभएर दक्षिण एशियाकै राम्रो संविधान त्यस्तो संविधान माथि नै उहाँले बर्खिलाप गरेपछि अव हाम्रो अगाडि कस्तो अप्ठ्यारो भयो भन्दाखेरी यात केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्ने भो। अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो। केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन ग¥यौं। अदालतमा मुद्धा चल्यो। अदालतले संसदलाई पुनस्र्थापित गरिदियो। संसदलाई पुनस्र्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैंले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो। अहँ दिनु भएन।’

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए। त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुस्साहस गरेको जिकिर समेत गरे।

प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij