चुनावी प्रचारमा आचारसंहिताको ख्याल गर्न आयोगको ध्यानाकर्षण

चुनावी प्रचारमा आचारसंहिताको ख्याल गर्न आयोगको ध्यानाकर्षण

काठमाण्डाै – निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भोलिदेखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत समेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गर्नुभयो ।

राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाही हुने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत गराउनुभयो ।

उहाँले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोलालगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराउनुभयो । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गर्नुभयो । उहाँले सार्वजनिक ठाउँमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नहुने, कुनै पनि कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि उल्लेख गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी गाडी प्रयोग गर्न नहुने स्पष्ट पार्नुभयो । सयौँ बस लिएर आमसभा गर्न नपाइने, बस, ट्रक, ठेलागाढा, ट्रयाक्टरलगायतका साधनहरुको प्रयोग गरेर त्यसमा पर्चा पम्प्लेट टाँसेर, त्यसको अगाडि झण्डा राखेर प्रचारप्रसार गर्न नपाइने उहाँको भनाइ छ ।

निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नपाउने भन्दै कोही त्यसरी सहभागी भएको पाइएमा वा देखेमा आयोगलाई सूचना दिन आग्रह गर्नुभयो । निर्वाचन आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij