काठमाडौं
नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीय दलको नेता चयन गर्न निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सातै प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।
कांग्रेसले प्रदेशमा नयाँ सरकार गठनका लागि पहल थाल्न पनि प्रदेश कार्यसमितिलाई निर्देशनसमेत दिएको छ । सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन र नभए अन्य दलसँग मिलेर सरकार बनाउनका लागि पहल थाल्न कांग्रेसले निर्देशन दिएको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरूसँग नयाँ सरकार बनाउनेबारे छलफल थाल्न कांग्रेसले प्रदेश समितिलाई निर्देशन दिएको पार्टीका प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिए । साथै गठबन्धनभन्दा बाहिर रहेकाहरूसँग पनि छलफल अघि बढाउन कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई आग्रह गरेको हो ।
‘नेपाली कांग्रेसको विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचनसम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देश गर्ने,’ केन्द्रीय कार्यसम्पादन समितिले आइतबार गरेको निर्णयमा भनिएको छ।
साथै प्रदेशहरूमा सकेसम्म पार्टीले नेतृत्व गर्ने गरी सरकार गठनको पहल थाल्न आग्रह गरिएको प्रवक्ता महतले बताए ।
‘प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा कांग्रेसको विधानको धारा १३ ९७० ९ठ० बमोजिम केन्द्रसँग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देश गर्ने निर्णय भएको छ,’ बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले भने ।
कांग्रेसले केन्द्रमा पनि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न पुस १० गतेसम्मको समय दिएपछि कांग्रेसले संसदीय दलको नेता चयन गर्न लागेको हो ।
प्रकाशित मिति : सोमबार, पुष ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्