बुटवल कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

बुटवल कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

बुटवल-बुटवलको कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिका पथ सडक बसपार्क देखि होराईजन चोसम्म भोली सोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो ।
जस अनुसार तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । बजारमा आउने ग्राहकलाई निःशुल्क सौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने छ । त्यस्तै पार्किङको लागि बुटवल बसपार्कमा पर्ने पनि नगरप्रमुख पाण्डेले बताउनु भयो । ‘अहिले बुटवल बसपार्कमा नम्बरको गाडि मात्रै आउने व्यवस्था भएकाले त्यति भिडभाड हुँदैन, रातीको समयमा भएकाले त्यहाँ पार्किङ गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो–‘अहिले सुरु गरिहालौं, सुधार गर्नुपर्ने कुराहरु विस्तारै सुधार गर्दै जाउँला ।’ लाईटिङ र सिसिटिभिको पनि तत्काललाई व्यवसायीले व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले अर्को वर्षसम्म नगरपालिकाले व्यवस्थित र राम्रो लाईटिङको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले सोमबार देखि रात्रीकालिन बजार सञ्चालनको लागि प्रस्ताव गर्नुभयो । संगै व्यवसायीको समर्थनमा भोली देखि नै रात्रीकालिन बजार सञ्चालन गर्ने निर्णय गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले जानकारी गराउनु भयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रबार देखि उक्त सडकमा आयोजना गरेको चौथो बुटवल सडक खाना महोत्सवको अवसरमा आईतबार बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा रात्रीकालिन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै बुटवलकी उपप्रमुख सावित्रादेवी अर्यालले आधारभूत कुराहरु पुरा गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने र आउने कुराहरुलाई पनि सुधार गर्दै जानुपर्ने भनाई राख्नुभएको थियो । उहाँले रात्रीकालिन बजार सञ्चालनले यस क्षेत्रको अरु व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले नेपालको कानुन र संविधानले मार्गदर्शन गरेको बाटोमा प्रहरी प्रशासन अविचलित रहेको भनाई राख्नुभयो । उहाँले व्यवसायिक जिम्मेवारी बहन गर्न स्वयम व्यवसायी पनि तयार हुनुपर्ने भनाई राख्नुभयो ।
पर्यटन विकास परिषद लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाईलोका लागि आउने बताउँदै रात्रीकालिन व्यवसाय सञ्चालन हुँदा उनीहरुलाई भुल्ने ठाउँ हुने भनाई राख्नुभयो । त्यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खस्किदो बुटवलको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ ?, व्यापार व्यवसायको कसरी पर्वद्धन गर्न सकिन्छ भन्ने उद्देश्यले संघले लामो समयदेखि रातीको समयमा बजार सञ्चालन गर्ने विषयमा पहल पैरवी गर्दै आएको भनाई राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा रात्रीकालिन बजार सञ्चालन सम्बन्धि अवधारणा पत्र प्रस्तुत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य, रात्रीकालिन बजार सम्बन्धि समितिका संयोजक प्रतिक पोखरेलले पहिलो फेजमा होटल व्यवसाय सम्बन्धि कुराहरु राख्न सकिने र दोस्रो फेजमा गैरखाद्य बस्तुहरु पनि राख्न सकिने भनाई राख्नुभयो । उहाँले रात्री कालिन बजार सञ्चालनको लागि सबैभन्दा पहिले व्यवसायी तयार हुनुपर्ने, त्यसपछि स्थानीय सरकारले वातावरण तयार गर्नुपर्ने र प्रहरी प्रशासनले शान्ति सुरक्षा व्यवस्थालाई सहज बनाईदिनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, वडा नं. ११ अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसी लगायतले भनाई राख्नुभएको थियो ।

 

प्रकाशित मिति : सोमबार, पुष १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij