‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्व राज्यमन्त्री वलीले छाडिन् माओवादी केन्द्र

‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्व राज्यमन्त्री वलीले छाडिन् माओवादी केन्द्र

दाङ : लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी खत्री (वली) ले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएकी छन्। उनले आफूलाई पार्टीले न्याय नदिएको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएकी हुन्।

उनले माघ २४ गते माओवादी केन्द्र जिल्ला समन्वय दाङ कमिटीमा राजीनामा बुझाएकी हुन्। उनले राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘म दुई ठूला पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भई बनेको नेकपा पार्टीबाट श्रीमानको निधन भए पनि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भए। श्रीमानको योगदानको कदर गर्दै पार्टीले मलाई उम्मेदवार बनाएको थियो। श्रीमानको लोकप्रियता र मप्रति जनताले प्रदर्शन गरेको सहानुभूति र तत्कालीन पार्टीको सहयोगबाट मैले विजय हासिल गरे।’

उपनिर्वाचनमा आफूलाई बढी सहयोग माओवादी केन्द्रबाट भएको हुँदा दुई पार्टी विभाजन हुँदा आफ्ना श्रीमानको योगदान एमालेमा हुँदाहुँदै पनि मुटुमाथि ढुंगा राखी माओवादी केन्द्रलाई सहयोग गरेको उल्लेख गरेकी छन्।

उनले आफू माओवादी केन्द्रमा आएपछि पार्टीले राज्यमन्त्री बनाएको भए पनि त्यसबीच केही उत्तारचढाव आउँदा पार्टीले आफूलाई सहयोग नगरेको पनि गुनासो गरेकी छन्।

उनले ठूला ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेको भन्दै आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर आफूलाई जबरजस्ती मन्त्रीजीबाट राजीनामा दिन लगाइएको भन्ने पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

त्यसपछि पार्टीले आफूलाई कुनै वास्ता नगरेको र पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएपछि आफूले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएकी छन्।

उनले भनेकी छन्, ‘त्यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरी अहिले कुनै वास्ता नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले म प्रति अपमान गरेको अनुभूति भएको छ। त्यसैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेकी छु।’

तत्कालीन एमालेका सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले उनलाई उम्मेदवार बनाएको थियो। उनी दाङ ३ (ख) बाट निर्वाचित भएकी थिइन्। उनले माओवादी केन्द्र रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो। त्यसपछि माओवादीको नेतृत्वमा सरकार बनेको थियो।

प्रकाशित मिति : सोमबार, फाल्गुन १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij