राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डाै – राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू  भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ ।

राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो  । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ । निर्वाचन अधिकृतको  कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार उम्मेदवारका प्रतिनिधिसँग आज छलफल राखिएको छ । छलफलमा आचारसंहिताबारे प्रतिनिधिलाई जानकारी गराइनेछ  ।

कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नहुने, दल वा उम्मेदवारले गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने आचारसंहिताले व्यवस्था गरेको छ । आचारसंहिता लागू भएको अवधिमा योजनाको शिलान्यास, उद्घाटन र सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा अनुदान दिने जस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।

निर्वाचन आचारसंहिता, २०७४ अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिको चुनावमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियोको माध्यमबाट प्रचार प्रसार गर्दा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने व्यवस्था छ । उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा सात इन्च लम्बाइ र सात इन्च चौडाइसम्मको आकार मा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था छ ।

राष्ट्रपति चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसम्म दुवै जनाले फिर्ता नलिएपछि उम्मेदवारी कायम भएको हो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij