ऋण तिर्नु पर्दैन भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

ऋण तिर्नु पर्दैन भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

काठमाण्डाै – बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएपछि प्रहरीले कडाइ गरेको हो ।

आफूले लिएको कर्जा तिर्नुको सट्टा उल्टै वित्तीय संस्था तथा सञ्चालकमाथि भौतिक आक्रमण गर्नेसम्मका धम्की आउन थालेपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षाको व्यवस्था गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन भनेको छ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु पर्दैन भन्दै गतिविधि गर्नेमाथि अब कारबाही हुने प्रहरीले जनाएको छ । राष्ट्र बैंक र निजी क्षेत्रका बैंकहरुले पनि ऋण तिर्दिनँ भन्नु अराजकता भएको भन्दै यस्ता अराजकता निम्त्याउने काम नगर्न आह्वान गरेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताउनुभएको छ । पछिल्लो समय बैंकको ब्याजदर तथा लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने भन्दै उहाँले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाएर कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर नागरिकको पैसा भएको बताउनु भयो ।

दुर्गा प्रसाईँ र एकाध समूहले ऋण नतिर्ने, ऋण उठाउन आए कालोमोसो दल्ने लगायतका अभिव्यक्ति दिएपछि राष्ट्र बैंकले नियमन गर्ने बैंक तथा वित्तीय संस्थाका छाता सङ्गठनले पनि अराजकता निम्त्याउने काम नगर्न आह्वान गरेका छन् ।

कुनै पनि बैंक वित्त तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रुपमा कर्जाको साँवा र किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत नभएको भन्दै कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने उनीहरुको भनाइ छ ।

बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स सङ्घ, फाइनान्स कम्पनी सङ्घ र लघुवित्त सङ्घले ऋण नतिरेर असहज वातावरण सिर्जना गर्ने र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने हुनाले यसप्रति सजग रहन पनि आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि बैंकबाट लिएको ऋण नतिर्ने चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij