राष्ट्रपति चुनावकाे परिणाम भाेलि बेलुकै आइसक्ने

राष्ट्रपति चुनावकाे परिणाम भाेलि बेलुकै आइसक्ने

काठमाण्डाै – देशकाे नयाँ राष्ट्रपति चयनका लागि भाेलि बिहीवार हुने  मतदानको सबै तयारी पूरा भएको छ । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीयलगायतका सबै तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि ल्हाेत्से हलमा बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उहाँले बताउनुभयो ।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । चुनावलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको ठाउँकाे व्यवस्था मिलाइएको छ ।

चुनावमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्टार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिस्टार लोकनाथ पराजुली खटिनुभएको छ ।

चुनाव र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ ।

राष्ट्रपति पदको चुनावमा नौ दलीय गठबन्धनकाे तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेकाे तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । चुनावका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्ताैला प्रतिनिधिका रूपमा रहनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान सकिएसँगै मतगणना सुरु गर्ने र बेलुकी ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । यसैबीच चुनावमा मतदानका लागि सबै प्रदेशका सांसदहरू काठमाण्डाै आइपुगिसकेका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij