काठमाडौं : संघीय संसदअन्तर्गत विभिन्न चारवटा समितिको बैठक बुधबार बस्दैछ।
प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाहीका बारेमा छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
सार्वजानिक लेखा समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेगरी बोलाइएको छ। बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा सरकारका मुख्य सचिव, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र सरकारका लेखा उत्तरदायी अधिकारीसँग छलफल गर्ने तयारी छ। यस्तै बिहान साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आव २०८०/८१ को समितिको बजेटमाथि छलफल हुनेछ।
साथै बैठकमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तोकिएको छ। दिउँसो सवा १२ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ। बैठकमा सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस्