काठमाडौं,
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहको सरकारको साझा अधिकारको सुची सम्बन्धि छिटो कानुन बनाउन सरकारलाई सुझाव दिएको छ ।
त्यस सम्बन्धि कानुन नहुँदा संविधानमा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा रहेका अधिकारको कार्यान्वयनमा अनेकन समस्या देखा परेको भन्दै आयोगले संघीय सरकारलाई उक्त सुझाव दिएको हो ।
आफूहरुको रायलाई संघीय सरकारले गम्भीरतापूर्वक नलिएको आयोगका सचिव कृष्णबहादुर राउते बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सचिव राउतले उक्त कुरा बताएका हुन् ।
‘ढुङ्गा गिट्टीको विषय, वन लगायतका साझा अधिकार सूचीको विषयमा कुन तहको कति अधिकार हो भन्ने स्पष्ट हुन आवश्यक छ । यो विषयका सम्बन्धमा संघीय सरकारलाई सुझाव दिइएको छ’, सचिव राउतले भने ।
संविधानको अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची छ । जहाँ सहकारी, शिक्षा, खेलकुद र पत्रपत्रिका, स्वास्थ्य, कृषि, विद्युत, खानेपानी, सिँचाइ जस्ता सेवाहरु छन् । सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क, वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता र खानी तथा खनिज पनि तीन तहको साझा अधिकार सूचीमा छन् ।
विपद व्यवस्थापन, समाजिक सुरक्षा र गरिबी निवारण, व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह र तथ्याङ्क, पूरातत्व, प्राचीन स्मारक र संग्रहालय, सुकुम्बासी व्यवस्थापन, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र सवारी साधन अनुमतिको विषय पनि तीन तहको साझा अधिकार सूचीमा छ ।
साझा अधिकार सूचीमा रहेका कतिपय विषयहरुका सम्बन्धमा प्रचलित कानुनले समेटे पनि सेवा शुल्क, दस्तुर, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क, वन, जंगल, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता र खानी तथा खनिज जस्ता विषयमा अन्योलता कायम रहेको आयोगको भनाइ छ । साझा अधिकार सूचीको विषयमा कानुन नबन्दा राजश्व संकलनमा समेत असर परेको आयोगका सचिव राउतले बताए ।
आयोगले राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई उपलब्ध गराएको विवरणमा विभिन्न कानुन बनाउन सरकारलाई सुझाव दिइएको र त्यसको कार्यान्वयनका लागि संसदीय समितिको सहयोगको अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्