अनाथ असहायहरूलाई सहारा दिने संघसंस्थाहरू आफैँ बेसहारा बनेको पाइएको छ । रूपन्देहीमा रहेका यस्ता विभिन्न संघसंस्था तथा आश्रमहरूको आर्थिक आधार बलियो नहुँदा सञ्चालनमा हम्मेहम्मे परेको हो । रूपन्देहीमा रहेका अनाथ आश्रमहरूको आर्थिक आधार बलियो नहुँदा मर्कामा परेको उनीहरूले बताएका हुन् । घरपरिवार र आफन्त नभएका विशेषगरी बालबालिकाहरूका लागि सहारा दिने संघसंस्थाहरू प्राय व्यक्तिगत सहयोगमा चल्ने गरेका छन् । कसैको जन्मदिन , बैबाहिक वर्षगाँठलगायतका शुभ अवसरमा गरिने खाद्यान्न र हस्तान्तरण गरेको रकमबाट संस्था चलाउनु परेको सञ्चालकहरूको भनाइ छ । अनाथ असहायका लागि भनेर खोलिएका यस्ता संस्थाहरूमा विभिन्न समस्याहरू रहेका छन् । कतिपयका जमिन अभाव , आफ्नै भवन संरचना नभएका , कतिपयका आफ्नै संरचना भए पनि आश्रितहरूको संख्या धेरै भएका कारण दैनिकीको लागि कठिनाइ भएको उनीहरूको भनाइ छ ।
नेपाल अपांग आश्रम
बुटवल उपमहानगरपालिका ११ मा रहेको नेपाल अपांग आश्रममा सुरूवातमा ७ जना आश्रितहरू थिए । २०६८ मा दर्ता भई सञ्चालनमा रहेको सो आश्रम अन्दाजी डेढ कट्ठामा फैलिएको छ । परासी , कपिलवस्तु , दाङ , रूपन्देहीलगायतका १५ जिल्लाका ४५ जना शारीरिक अशक्तता भएकाहरूले हाल आश्रममा आश्रय लिइरहेको आश्रमका सचिव हिमा नेपालीले बताइन् । विशेषगरी शारीरिकरूपमा अशक्तहरू रहने सो आश्रममा विभिन्न स्थानीय क्लवहरूले सहयोग गरिरहेको अध्यक्ष डोल बहादुर रामदामले बताए ।ू जम्माजम्मी १३ वटा कोठा छन् । तर छ वटा कोठा भने ढलान गर्नै बाँकी छन् । ढलानको लागि कसले सहयोग गर्ला भनेर आश गरेका छौँ । ू अध्यक्ष रामदामको भनाइ छ । विभिन्न संघसंस्था र व्यक्तिको विशेष सहयोगमा केही कोठाहरू निर्माण र ढलान भएका छन् । सात सदस्यीय समिति रहेको आश्रममा बिहान साँझको गर्जो भने विभिन्न शुभ अवसरमा गरिने सहयोगबाट टर्ने गरेको अध्यक्ष रामदामले बताए । उनी भन्छन् ( ू वार्षिकरूपमा नगरले हामीलाई बजेट छुट्याएमा सहज हुने थियो । ू त्यहाँ रहेका केही आश्रितहरूले भने आफूले उत्पादन गरेको कुलीन र फिनेल रूपन्देहीलगायतका अन्य जिल्लामा पुगेर बिक्री गर्ने र त्यसबाट पनि केही मात्रामा दैनिकीको गर्जो टर्ने गरेको अध्यक्ष रामदामले बताए ।
सृजनशील संस्था नेपाल

२०५४ सालमा रुपन्देहीका युवा माहिलाहरूको सक्रियतामा दर्ता भएको सृजनशील संस्था नेपाल सीन एक गैरसरकारी संस्था हो । तिलोत्तमा नगरपालिका ९ मा रहेको यो संस्थाले स्थापना कालदेखि नै महिला सशक्तिकरण र बाल संरक्षणमा काम गर्दै आएको संस्थाले जनाएको छ । महिलाहरूको नेतृत्व विकास , आर्थिक सशक्तिकरण , बाल बिबाहविरुद्ध सशक्तिकरण अभियान , लैंङ्गिक समानता र सामाजिक समावेशीकरण , सारभुत समानताका लागि लैंङ्गिक उत्तरदायी बजेट , मनोसामाजिक विमर्श , यौन तथा प्रजनन स्वास्थ्य शिक्षा , वातावरणमैत्री धोएर पुन प्रयोग गर्नेसेनेटरी प्याड उत्पादन र वितरण गर्दै आएको संस्थापक अध्यक्ष प्रतिमा शर्माले बताइन् । त्यसैगरी २०७३ सालदेखि सडक बालबालिकाको लागि अस्थायी स्याहार केन्द्र स्थापना गरी १८ वर्षमुनिका सडकमा आश्रित तथा वेवारिसे बालबालिकाको उद्दार , सामाजिकीकरण , शिक्षामा सहयोग , परामर्श , पारिवारिक पुनर्मिलन र व्यवस्थापनजस्ता कार्य गर्दै आएको अध्यक्ष बिजु पौडेलको भनाइ छ । हालसम्म २६ हजारभन्दा बढी महिला र पुरुष , २७ सयभन्दा बढी किशोरीहरू संस्थाको कार्यक्रर्मबाट लाभान्वित भएको संस्थाका महासचिव कल्पना ढकालले बताइन् ।
सात वर्षमा २४३ जना बालबालिका सडकबाट उद्दार गरिएको छ भने १३४ जना बालबालिकाको परिवार खोजेर पुनर्मिलन गराएको उपाध्यक्ष चित्रा रोकाको भनाइ छ । सडक तथा वेवारिसे बालबालिकाको दिगो व्यवस्थापनका लागि आफ्नै भवन निर्माण गर्ने उद्देश्यले गत वर्ष फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सप्ताहव्यापी महायज्ञ गरी करिब पैतिस लाख आर्थिक सहयोग संकलन गर्न सफल भएको कोषाध्यक्ष खुमा थापाले दावी गरिन् । संस्थामा संस्थापक अध्यक्ष शर्मा , वर्तमान अध्यक्ष विजु पौडेल, उपाध्यक्ष चित्रा रोका , महासचिव कल्पना ढकाल , कोषाध्यक्ष खुमा थापा , सचिव रिनु श्रीस , सदस्य सुप्रिया खनाल , सुमन चौधरी , विनोद जिसी र मनिषा चौधरी सञ्चालक समितिमा रहेका छन् ।
संस्थाका समस्याहरू
संस्थाको आफ्नै जमिन र भवन अभाव छ । हाल तिलोत्तमा नगरपालिका वाड नम्बर ९ मा कार्यालय सञ्चालन हुँदै आइरहेको छ ।
तिलोत्तमा नगरपालिकाको नगर परिषदले ३ वर्ष पहिले अघिल्लो कार्यकालमा वडा नं। ७ का तत्कालीन अध्यक्ष दुर्गाप्रसाद पाण्डेको पहलमा १०२ नम्बर कित्ताबाट चार किल्ला खुलाई सार्वजनिक जग्गा प्राप्त भएको थियो । तर हालका वडा अध्यक्ष देवीप्रसाद पंगेनीले दिनको लागि आनाकानी गर्दा भवन निर्माण कार्य सुरु हुन नसकेको संस्थापक अध्यक्ष शर्माको गुनासो छ । उनी भन्छिन् (ू संस्थाको दैनिकी सञ्चालनका लागि समुदायको सहयोग नै मुख्य आधार हो । नगरपालिकाले दिने सहयोग १ लाख हो त्यो पनि असारमा दिन्छ ११ महिना कसरी चल्छ र त्यो एकदमै गाह्रो छ ।
के भन्छन् त वडा अध्यक्ष ?
यता तिलोत्तमा नगरपालिकाका हालका वाड अध्यक्ष देवीप्रसाद पंगेनीले वाड नम्बर ७ मा रहेको कित्ता नम्बर १०२ को सार्वजनिक जग्गा विगत ४० वर्ष अघिबाटै कसैले जोतभोग गरिरहेको बताउँछन् । तत्कालीन वाड अध्यक्ष दुर्गाप्रसाद पाण्डेले स्वीकृति दिएपछि सृजनशील संस्था धेरै समय हराएको उनले बताए । उनी भन्छन् सार्वजनिक जग्गा स्वीकृत भएपछि त्यो जमिनको संरक्षण नगरी उहाँहरू आफै हराउनु भयो । हाल ४० वर्षदेखि जोतभोग गर्नेले पक्की घर बनाएर बस्नुभाछ । अब हामीले त्यो घर कसरी भत्काएर उहाँहरूलाई दिन सक्छौँ र ? आफूहरू हराउने अहिले आएर अरूले घर बनाएर बसेको जग्गा हामीलाई दिनुस् भनेर त कहाँ हुन्छ र वाड अध्यक्ष पंगेनीले यथार्थ कुरा नबुझी अध्यक्षलाई दोष लगाएको गुनासो गरे ।
सिद्धार्थ बालगृह

सिद्धार्थ बालगृह मायादेवी गाउँपालिकाको वाड नम्बर ८ मा रहेको छ । वि सं २०६७ सालमा स्थापना भई २०७१ फाल्गुण ३ मा दर्ता भएको यस संस्थामा सुरूवातमा ३३ जना बालबालिका रहेको संस्थाले जनाएको छ । समयको अन्तरालसँगै बालबालिकाको संख्या थपधट हुँदै हाल १७ जना बालबालिहरु आश्रय लिइरहेको अध्यक्ष कृष्णमाया गुरूङले बताइन् । गुरूङको एक्लो प्रयासमा सञ्चालन भैरहेको यो संस्थाले एक दशक पुग्दासम्म पनि आफ्नो भवन बनाउन सकेको छैन् । परिवारका सदस्यहरू लण्डनमा भए पनि आफूले त्यो सबै त्यागेर असहाय बालबालिकाको निम्ति साहारा बनेकी उनी आफ्नो सम्पूर्ण जीवन बालबालिकाकै लागि समर्पित गरेकी छन् । यही कारण धेरै समय उनी परिवारको सम्पर्कबाट पनि टाढा र एक्लो हुनुपरेको नमिठो क्षण छ । तर पछिल्लो समय भने उनका परिवारले उनलाई राम्रो र उदाहरणीय काम गरेको भनी प्रशंसा गरेको कृष्णमायाले बताइन् । हालसम्म पनि कृष्णमायाले बिवाह पनि गरेकी छैनन् । तर करिबकरिब ५० जना असहाय बालबालिकाकी आमा हुन् उनी । कृष्णमाया भन्छिन् (ू मेरो जीवन असहाय बालबालिकाको निम्ति समर्पित छ । बिहे नगरे पनि आमा बनिन्छ । आमा हुनका लागि बिहे गर्नैपर्छ भन्ने छैन् । ममताले भरिएको छाती हुन जरूरी छ ।हाल यो संस्थामा समस्याहरू धेरै छन् । तर पनि कृष्णमाया हाँसीहाँसी तिनै छोराछोरीको लागि बाँचिरहेकी छन् ।
सिद्धार्थ बाल गृहका समस्या
यस संस्थाको मुख्य समस्या आफ्नो जमिन नभएको र बाल गृह भाडाको भवनमा सञ्चालन भैरहेको कृष्णमायाको भनाइ छ। जग्गाको लागि मायादेवी गाउँपालिकामा पटक पटक कागजी प्रक्रियामा जाँदा पनि जग्गा प्राप्ति नभएको अध्यक्ष गुरूङको गुनासो छ । यसको प्रमुख समस्या जग्गा अभाव छ । उनी भन्छिन् जग्गाको लागि निकै समस्या छ । सम्बन्धित सरोकारवाले यसका लागि कुनै पहल गर्नुभएन । आफ्नै भवन भएमा भाडाका लागि बुझाइरहने रकम दैनिकीको लागि सहज हुने थियो ।
त्यसैगरी नजिकै र कार्यक्षेत्र रहेको छिमेकी पालिका सिद्धार्थनगर नगरपालिकामा पनि धेरै पटक जग्गाको लागि पहल गरेपनि कुनै सुनुवाइ नभएको गुरूङ बताउँछिन् ।
संस्थाले अहिलेसम्म उमेर पुगी विद्यालयस्तरीय पढाइ पूरा गरेका ४१ जना बालबालिकालाई बिदाई गरेको अध्यक्ष गुरूङले बताइन् । हाल भने संस्थामा १७ जना रहेका छन् । यहाँका असहाय बालबालिका स्थानीय विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन् । यो संस्था पनि स्थानीय दाताद्वारा चलिरहेको छ । विभिन्न समयमा विभिन्न अवसरमा गरिने खाद्यान्न र रकम नै यसको मुख्य आधार बनेको छ ।
जग्गा प्राप्तिको लागि सिद्धार्थनगर नगरपालिका पाँच पटकसम्म निवेदन दिएको तर हालसम्म पनि कुनै उपलब्धि नभएको बताइन् । त्यसैगरी मायादेवी गाउँपालिकामा पनि पटकपटक निवेदन दिएको तर त्यहाँबाट पनि कुनै सकारात्मक परिणाम नआएको गुरूङको भनाइ छ । उनी भन्छिन् जहिले निवेदन दिन लगाउनुहुन्छ । तर अहिलेसम्म कुनै उपलब्धि भएन ।
सिद्धार्थ बालगृहमा अध्यक्ष कृष्ण माया गुरुङ , उपाध्यक्ष डा सभ्यता मल्ल गुरुङ , सचिव डा निशा अग्रहरी , कोषाध्यक्ष ब्रम्हा प्रसाद थारु , सदस्यहरुमा देवी राना , अस्मिता घिमिरे र दिपेन्द्र बुढा थापा रहेका छन् ।
उता मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली भन्छन् पालिकाले जग्गा कसरी उपलब्ध गराउने रु उहाँहरूले जग्गाको लागि आफै पहल गरेर स्रोत जुटाउनु पर्छ । पालिकामा जग्गाका लागि धेरै संघसंस्था छन् । उनीहरूलाई पनि जग्गा दिन सकिएको छैन् । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जग्गाको आर्थिक स्रोतका लागि आगामी दिनमा सिद्धार्थ बालगृहका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे ।
रामचन्द्र मैनादेवी अनाथ आश्रम
तिलोत्तमा नगरपालिका वाड नम्बर ६ मा अनाथ तथा असहाय महिला कल्याण समाजको नाममा २०५३ सालमा स्थापना भएको संस्थामा सुरूवातमा वृद्धहरूको लागि सेवा दिएको थियो । रूपन्देहीका वृद्धवृद्धाहरू जहाँ छन् त्यहीँत्यहीँ पुगेर सेवा दिने सो संस्थाले २०६१ सालबाट अनाथ र असहाय बालबालिकाको सेवा गर्न थालेको सञ्चालक मैनादेवी भण्डारीले बताइन् । बालबालिकाको लागि सेवा गर्दा उनीहरूको भविष्य सुन्दर हुने भएकाले वृद्धवृद्धाहरूको सेवालाई छोडेर बालबालिकाकै सेवामा समर्पित भएको मैनादेवी बताउँछिन् । मैनादेवीलाई आफ्नोभन्दा बढी माया तिनै असहाय बालबालिकाहरूको छ ।
२०६१ सालमा ३ जना असहाय बालबालिकालाई साहारा दिन सुरू गरेको संस्थाले हालसम्म ३९ जनालाई आफ्नो गन्तव्यमा पुर्याउन सफल भएको छ । हालभने १२ जना सो संस्थामा रहेका छन् । त्यी बालबालिका तिलोत्तमा नगरपालिका ५ मा रहेको शान्ति नमुना माविमा उत्कृष्ट अंकका साथ अध्ययन गरिरहेको उनले बताइन् ।
उनीहरूको लागि मैनादेवीले घामपानी , भोक , तिर्खा , थकाइ , अभाव कुनै पनि कुराको पर्वाह गर्दिनन् । केवल उनलाई त्यही आश्रम र त्यहाँका बालबालिको सधै चिन्ता छ । संघर्षशील महिला , सबैका लागि उदाहरण अनि प्रेरणाका स्रोत मैनादेवीको ६ वर्षको कलिलो बाल मष्तिष्कले नै समाजका लागि केही गर्नुपर्छ भन्ने अठोट लिएको थियो ।
उनी भन्छिन्मैले ६ वर्षको उमेरबाटै अनाथ र दुखी बालबालिकाको सेवा गर्नुपर्छ भन्ने अठोट लिएकी हुँ । असहायका लागि सहयोग गर्दा त्यतिबेलाको समयदेखि नै सबैले मलाई बौलाई भन्थे । पछिसम्म पनि मलाई धेरैले बौलाई भनेका थिए ।आश्रमका लागि रकम संकलन गर्न एउटै घरमा ५१ पटकसम्म पुगेको उनले बताइन् । ५१ पटकमा रू ५००० पाउँदा उनलाई ५ लाख पाएजत्तिकै भयो । पहिलोपल्ट सहयोग रकम पाउँदा उनको खुसीको सिमा नै रहेन ।
आश्रमका लागि सहयोग रकम संकलनका लागि उनले दिनमा २७ किलोमिटर पैदल यात्रा गरिन् । तिनदिनसम्म २७ किलोमिटर पैदल यात्रा गर्दा पनि एक रूपैयाँ पनि उठाउन नसकेको नमिठो क्षण उनीसँग छ । आश्रमका लागि हालसम्म उनले करोडौँ रकम बराबरको आफ्नो जमिन बिक्री गरेको उनी बताउँछिन् । तर जति जमिन बेचे पनि अवस्था भने खासै फेरिएको छैन् ।
रामचन्द्र मैनादेवी आश्रमका समस्याहरू
१५ धुर आफ्नै जमिनमा भवन रहेपनि उनलाई आश्रमको दैनिकी चलाउन कठिन छ । आश्रमको दैनिकीको लागि कुनै पनि बलियो आधार भने छैन् । विभिन्न समयमा विभिन्न व्यक्तिहरूले शुभकार्यमा गर्ने सहयोग नै दैनिकीको लागि मुख्य आधार भएको मैनादेवी बताउँछिन् । दैनिकी चलाउनुको साथसाथै अहिले मैनादेवीको नयाँ र महत्त्वपूर्ण समस्या छ , आश्रमका लागि अक्षयकोष स्थापना गर्ने उनको ठूलो धोका छ । उनी भन्छिन् अब म बुढी भएँ मैले नसक्ने दिन आए । अब म बुढी भएँ । त्यसैले आश्रम सञ्चालनका लागि अक्षयकोषको माध्यमले सहयोग पुग्नेछ । अक्षयकोषको हालसम्मको रकम ५० लाख पुगेको छ । अक्षयकोषलाई १ करोड पुर्याउने उनको ठूलो ईच्छा छ । हाल आश्रमको काममा सघाउन उनले आफ्नै एकजना आफन्तलाई राखेकी छन् र विशेषगरी उनी आफै खट्छिन् । तिलोत्तमा नगरपालिकाले बेलामौकामा गर्ने सहयोगबाहेक अन्य बलियो सहयोग भने केही नगरेको मैनादेवीको भनाइ छ । संस्था सञ्चालनको लागि कर्मचारी राख्न समस्या भएर ६० वर्षकी उनी आफै दिनरात नभनी खटेकी छन् ।
मानवसेवा आश्रम मानवता प्रवर्द्धन महाअभियान

सामान्य मानिसकै भेषमा जन्मिएर पनि पशुसरह जीवन जिउन बाध्य सहयोगापेक्षी ९बेसहारा अशक्त असहाय अनाथ अभिभावकविहिन मानसिक तथा शारीरिकरूपमा कमजोर० सडक आश्रित मानवहरुको सेवामा समर्पित संस्था हो ।
मानवसेवा आश्रमले हाल सातै प्रदेशका १९ जिल्ला र २४ वटा सेवाकेन्द्रमार्फत १७५० बढी सहयोगापेक्षी सडक मानवहरुको सेवा गर्दै आइरहेको आश्रमका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरू अधिकारीले बताइन् । यसको मुख्य कार्यालय मकवानपुर हेटौडामा रहेको छ । मानवसेवा आश्रमको ११औँ रुपन्देही बुटवल शाखा २०७५ पौष ७ गते बुटवल (८, सुख्खानगरमा एउटा घर भाडामा लिई अनौपचारिक सेवा सुरुवात गरी २०७६र०२र११ गते आश्रमको औपचारिक समुद्घाटन गरिएको अधिकारीले जानकारी दिइन् ।
मानवसेवा आश्रम रुपन्देही बुटवलमा ४ वर्षसम्म भाडामा रही भाडाकै घरबाट १६० जना सहयोगापेक्षी सडकमानवहरुको सेवा दिँदै आएको आश्रमको दिगो व्यवस्थापनको निम्ति तिलोत्तमा ६, पश्चिम पहुनीमा मोक्षधाम सेवा आश्रमद्वारा ८ कठ्ठा जग्गा प्राप्त भई २०० जनालाई सेवा दिएको संयोजक अधिकारीको भनाइ छ ।हाल मानवसेवा आश्रमको रुपन्देही बुटवल शाखाबाट ५० जनालाई सेवा प्रदान गदै आएको छ भने तिलोत्तमा शाखाबाट १२४ जना गरी १७४ जनालाई सेवा प्रदान गदै आएको छ।
मानवसेवा आश्रम सम्पूर्ण परोपकारी एंव मानवता प्रेमी व्यक्तिहरूको मुठ्ठीमुठ्ठीको योगदानबाट सञ्चालन भइरहेको छ । जन्मदिन , बिबाह वर्षगाँठ , पितृकार्य , संस्थाको स्थापना दिवसलगायतका विशेष अवसरमा हुने योगदानबाट आश्रम सञ्चालनमा रहेको मानवसेवा आश्रम रुपन्देही जिल्ला संयोजकटिकामाया थापाले बताइन् ।
मानवसेवा आश्रमको सञ्चालनको कूल खर्चको निम्ति स्थानीय सरकार र प्रदेश सरकारबाट ४० प्रतिशत र परोपकारी व्यक्तिबाट ६० प्रतिशत सहयोग जुटाई सेवा कार्य अगाडि बढिरहेको थापाको भनाइ छ । मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा र कार्यान्वयन गर्ने लक्ष्य लिएको उनले बताइन् ।
असहाय बालबालिकालाई साहारा दिनका लागि हाल रूपन्देही जिल्लामा विशेषगरी चारवटा संघसंस्था छन् । यी माथि उल्लेखित संस्थासँगै तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रमको पनि एक हो । यहाँको दैनिकीको बलियो आधार छैन् । समुदायको सहयोग नै मुख्य आधार भएको संस्थाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकामा रहेको एक संस्थाले भने शारीरिक अशक्तता भएका बालबालिकासँगै वृद्धवृद्धाका लागि सहारा दिइरहेको छ । तर बलियो आर्थिक आधार नहुँदा आफै बेसहाराको स्थितिमा पुगेका हुन्
यस्तै बुटवल उपमहानगरपालिकाको वाड नम्बर २ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रमको पनि अवस्था उस्तै छ । सहाराबिहिन वृद्धवृद्धाहरू रहेको वृद्धाश्रमको आफ्नै जग्गामा आफ्नै भवन भए पनि दैनिकी भने विभिन्न समयमा विभिन्न व्यक्तिद्वारा गरिने सहयोगले चल्ने गरेको छ । भने बुटवल नगरपालिकाले केही सहयोग गरेको छ ।
उता रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ वसन्तपुरमा सञ्चालित वृद्धाश्रममा पनि आर्थिक अभाव छ । श्री सत्यसाई वृद्ध सेवा आश्रमको नाममा वृद्धहरूलाई सेवा दिइरहेको सो वृद्धाश्रमको आम्दानीको बलियो स्रोत नहुँदा सञ्चालनमा समस्या देखिएको हो । सो संस्था पनि विभिन्न व्यक्तिहरूको सहयोगको भरमा चलिरहेको अवस्था छ । यता बुटवल ४ पाल्पारोडमा रहेको बुटवल अनन्त जीवन चर्च पनि यस्तै अवस्थाको उदाहरण हो । यहाँका वृद्धवृद्धाको दैनिकी पनि अन्य व्यक्ति र संघसंस्थाको भरमा चल्ने गरेको छ ।
यी संघसंस्थाले असहाय सहाराबिहिनका लागि सहारा त दिएका छन् । तर सबै आश्रमहरू आफै सहाराबिहिन छन् । यी आश्रमहरूले सम्बन्धित पालिकाको उचित सहयोगको सदैव उचित किसिमको अपेक्षा गरिरहेको बताउँछन् ।
प्रकाशित मिति : बुधबार, बैशाख १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्