मौसम

तराई र मधेशमा लगातार हुस्सु , कुहिरो र चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या

तराई र मधेशमा लगातार हुस्सु , कुहिरो र चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या

काठमाण्डौ – लगातार हुस्सु र कुहिरो लागेपछि तराईरमधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या भएको छ ।

मधेशमा हुस्सु र कुहिरो लागेसँगै तापक्रम घटिरहेकोले चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बाक्लो हुस्सु लागेपछि महानगरले आजदेखि पर्सिसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले बताउनुभयो ।

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गएको पुस २१ गते सार्वजनिक सूचना निकालेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो ।

चिसो बढ्दा बालबालिकालाई विद्यालय जान समस्या पर्न थालेपछि रौतहटको गौर नगरपालिकाले तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिनुभयो ।

केही दिनयता घाम नलागेका कारण थप समस्या भएको छ । जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन् ।

चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ । चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरणमा सहयोग गर्न विभिन्न गैरसरकारी तथा सरकारी संस्थालाई आग्रह गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा एकद्वार प्रणालीमार्फत मानवीय सहायता वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको छ । हुस्सु र कुहिरोले दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि गएराति केहीबेर दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । आज बिहानदेखि एकतर्फी गाडी सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अरु ठाउँको मौसम सफा रहने अनुमान छ । बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ ।

काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो । बिहानको समयमा काठमाण्डौमा सामान्य हुस्सु र कुहिरो लागेकोमा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : बुधबार, पुष २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij