गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी – मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार आजदेखि आगामी वैशाख २२ गतेसम्म सवारीसाधन पूर्णरूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिए । तम्घास-रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उनले बताए ।

रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको इञ्जिनीयर चौधरीले जानकारी दिए । उनका अनुसार राजमार्ग आयोजना कार्यालयले सूचना सार्वजनिक गर्दै तम्घास-रिडी खण्डको प्रयोग नगर्न जानकारी दिएको हो ।

सडक नियमित सञ्चालन गरी काम गर्दा यात्रु र सवारीसाधनमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको मागअनुसार एक महिनाका लागि वैकल्पिक व्यवस्थासहित उक्त खण्ड पूर्णरूपमा बन्द गरिएको कार्यालय प्रमुख चौधरीले बताए । “आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय पालीका तथा अन्य सरोकार भएका निकायलाई आग्रह पनि गरेका छौँ”, उनले भने ।

जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले पनि सडक स्तरोन्नतिका लागि गुल्मीदरबार गाउँपालिका-२ अन्तर्गत झिरबाँसबाट काभ्रेपोखरीसम्मको खण्ड दुई साताका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ । उक्त खण्डअन्तर्गत झिरबाँस क्षेत्रमा आरसिसी ढलान गरी सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ । जुभुङ-सिस्ने-भट्टेचौरबाट बिरबाँस सडक र मजुवा-बलिथुम-झिरबाँस खण्डको व्यवस्था मिलाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij