बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

भैरहवा ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।उनले बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिए । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने–‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैंकले समीक्षा गर्न जरुरी छ ।’

बैंक तथा वित्तीय संस्थाले गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । ‘बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने र पछि ब्याजदरमा वृद्धि गर्ने गरेको गुनासो व्यवसायीहरूको छ । गुनासो नआउने गरी काम गर्न जरुरी छ’उनले भने–‘यस्ता गतिविधिले व्यवसायीहरूमा पीडा पर्ने गरेको छ ।’ प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।लुम्बिनी प्रदेशका बैंकहरूको अभिभावकका रूपमा राष्ट्र बैंकको कार्यालय रहेको उल्लेख गर्दै सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनले बताए । राष्ट्र बैंक बैंकहरूको बैंक भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरूको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताए । राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उनले बताए । प्रदेश स्तरमा केन्द्रीय बैंकको रूपमा संस्थाको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा आवद्ध पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij