बुटवल, शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । दिवसको अवसरमा सञ्चार सम्बद्ध विभिन्न संस्थाहरुले कार्यक्रम गरेका छन् । नेपाल पत्रकार महासंघले नलेज सिरिजको सुरुवात र सञ्चार माध्यममा एआईको प्रभाव विषयक कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले पछिल्लो समय एआइको प्रभाव सञ्चार माध्यममा परेको बताएका थिए । कार्यक्रममा पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारहरु प्रविधीसँगसँगै हिड्नुपर्ने बताउनुभयो । प्रविधिको बारेमा पत्रकार अनविज्ञ भएमा समयअनुसारको पत्रकारितामा पछि पर्ने भएकाले पत्रकारलाई नयाँ आविस्कार र प्रविधिका बारेमा ज्ञान हासिल गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले एआईको प्रयोग र यसको सकारात्मक प्रयोगलाई पत्रकारितामा पनि अभ्यासका रुपमा लिन सकिने उल्लेख गर्दै पत्रकारितामा डिजिटल प्रविधिको ज्ञान अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष यानेन्द्र जिसीले युग अनुसारको पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । सल्लाहकार हरिष ढकालले प्रविधिसँगै पत्रकारिता सहज बन्दै गएको सुनाउनुभयो । सल्लाहकार विनोद परियालले ए आइको युगमा मुलधारको सञ्चार माध्यममा चुनौती थपिएको भन्दै नयाँ शैलीले अघि बढ्नुपर्ने धारणा राख्नुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका जिल्ला अध्यक्ष भगवती पाण्डे, प्रेस सेन्टरका जिल्ला अध्यक्ष विष्णु पोखरेल, प्रेस युनियनकी उपाध्यक्ष कल्पना तिवारी, सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल, इन्सेक प्रतिनिधि रिमा विसी, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष अर्जुन ज्ञवालीलगायतले प्रेस स्वतन्त्रताको सुरक्षा हुनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष अस्मिना पाण्डेको स्वागत, विश्वार ढकालको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सहजिकरण सचिव सिपी खनाल र कार्यक्रम संयोजक तथा सहसचिव झबिन्द्र देवकोटाले गर्नुभएको थियो ।
नलेज सिरिज कार्यक्रमको शुभारम्भ
यसैबीच प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघ रुपन्देहीले नलेज सिरिज कार्यक्रमको शुभारम्भ गरेको छ । सदस्य ललित पाण्डेयले सहजिकरण गर्नु भएको नलेज सिरिजको पहिलो श्रृंखलामा पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा।बालकृष्ण चापागाईले चार दशकको पत्रकारिताको अवसर, चुनौती, विकास र अनुभव सुनाउनुभएको थियो ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्