३० करोड रुपैयाँको लगानीमा रोहिणी प्राङ्गारिक मल उद्योग

३० करोड रुपैयाँको लगानीमा रोहिणी प्राङ्गारिक मल उद्योग

भैरहवा, रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । भैरहवाका उद्योगी दम्पत्ती सिद्धार्थ अग्रवाल र पुनम कुमारी अग्रवालको ३० करोड रुपैयाँको लगानीमा रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा।लि।’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।

 

प्रतिदिन २ सय मेट्रिकटन मल उत्पादन क्षमता रहेको उक्त उद्योगले हाल ‘रत्नम’ ब्राण्डमा दैनिक ८० मेट्रिकटन मल उत्पादन गरिरहेको छ । उद्योगको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिंगो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवद्र्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ–नयाँ रोग देखिने, लुम्बिनी प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणको रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प गरिएको बताउनुभयो ।

‘सरकारले नीति तथा कार्यक्रममै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको छ । त्यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गर्छौं,’ उहाँले भन्नुभयो, ‘सुरुमा पहाडका ६ जिल्ला र क्रमश ः तराईका ६ जिल्लालाई प्राङ्गारिक जिल्ला बनाउँदै सिंगो प्रदेशलाई अर्गानिक सर्टिफाइड बनाउँछौं ।’

मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिनुभयो । उहाँले प्रदेशका हरेक पालिकामा प्राङ्गारिक मल प्रवद्र्धनका लागि कृषि ज्ञान केन्द्रलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री घनश्याम यादव, पूर्व सांसद् प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवलगायतले नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले अब मलको अभाव झेल्न नपर्ने बताउनुभयो ।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्ने र स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

उद्योगकी प्रबन्ध निर्देशक पुनम कुमारी अग्रवालले कोरोना संक्रमणका कारण आफ्नै बुवालाई गुमाउनु परेको र श्रीमानसमेत संक्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग खोल्ने निर्णय लिएको स्मरण गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij