बुटवल— लायन्स क्लब अफ बुटवल सिद्धबाबाले आफ्नो २०२५/२६ कार्यकालको सुरुवात फरक क्षमता भएका बालबालिकाको सेवाबाट गरेको छ। क्लबले बुटवल–१५ उजेलापुरस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा ‘हङ्गर रिलिफ कार्यक्रम’ सम्पन्न गरेको हो। कार्यक्रमका प्रमुख अतिथि लायन पुरुषोत्तम भक्त प्रधानले फरक क्षमता भएका बालबालिकालाई साथ, सम्मान र सम्भावनाको दृष्टिकोणले हेर्नु समाजको सामूहिक जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी सबैले यस्ता संस्थाको साथ दिँदै बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ। लायन्स क्लब सिद्धबाबाको यो सेवा कार्य प्रेरणादायी छ।”
क्लबका अध्यक्ष लायन भूमिप्रसाद सापकोटाले कार्यकालको सुरुवात नै सेवामूलक कार्यबाट गर्न पाउनु आफू र सम्पूर्ण क्लबका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यस्ता बालबालिकाको साथमा हामी निरन्तर रहनेछौं। सेवाको यो अभियान निरन्तर जारी रहनेछ।”
लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोका मगरले क्लबप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “हाम्रो आश्रमको प्रमुख आश्रय र आधार यस्ता सेवामूलक संस्था र क्लबहरू नै हुन्। आजको सहयोगले फेरि एकपटक हाम्रो आत्मबल बढाएको छ।” कार्यक्रमको सञ्चालन आश्रमका सचिव तुलसीराम न्यौपानेले गर्नुभएको थियो भने, संयोजक विष्णु पौडेललाई प्रमुख अतिथि लायन प्रधानबाट ब्याज लगाई सम्मान गरिएको थियो। कार्यक्रममा क्लबका सम्पूर्ण कार्यसमिति सदस्यहरू, सर्वसाथी, पूर्वअध्यक्षहरू तथा अन्य लायन सदस्यहरूको उत्साहजनक उपस्थिति र सक्रिय सहभागिता रहेको थियो। सेवाको भावना, समर्पण र एकताको प्रतिबिम्बस्वरूप कार्यक्रम अत्यन्त प्रभावकारी र सफलरूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्