श्रावणी मेला श्रद्धा, आस्था र परम्पराको संगम : सिद्धबाबा मन्दिरमा विशेष जलार्पण

श्रावणी मेला श्रद्धा, आस्था र परम्पराको संगम : सिद्धबाबा मन्दिरमा विशेष जलार्पण

बुटवल– साउन महिनाको विशेष अवसर पारेर सिद्धबाबा मन्दिर विकास समितिको आयोजनामा आज बिहान भव्य श्रावणी मेला तथा जलार्पण कार्यक्रम सम्पन्न गरिएको छ। विहान ६ बजे सिद्धसरोवरबाट विधिपूर्वक जल संकल्प गरेर भक्तजनहरू सिद्धबाबा मन्दिरमा पुगेर शिवलिंगमा जल चढाउँदै आफ्नो श्रद्धा, भक्ति र आस्थाको अभिव्यक्ति दिएका छन्।

साउन महिनाको प्रत्येक सोमबार शिवजीको पूजा गर्ने परम्परालाई विशेष मानिने गरिन्छ। आजको दिन पनि सुदूरपश्चिम, मध्यपश्चिम, लुम्बिनी र छिमेकी भारतीय भक्तहरू समेत सहभागी भएर मन्दिर परिसरलाई भक्तिमय बनाएका थिए।

कार्यक्रमबारे जानकारी दिँदै सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सेरचनले साउन महिनामा परम्परादेखि सञ्चालन हुँदै आएका धार्मिक गतिविधिहरूका साथै समितिले हाल गर्दै आएका व्यवस्थापन प्रयासहरूबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले श्रद्धालुहरूको सहजताका लागि सुरक्षा, खानेपानी, शौचालय, स्वास्थ्य जाँच लगायतका पूर्वाधारलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिरहेका छौं। वार्षिक मेलालाई व्यवस्थित बनाउन समितिले व्यापक तयारी गरेको छ।”

मन्दिरका मूल पुरोहित नारायण प्रसाद घिमिरेले श्रावण महिनामा शिवजीको पूजाको धार्मिक र ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिनुभयो। उहाँका अनुसार, “श्रावण महिनाभर शिवजीलाई जल चढाउने परम्पराले धेरै वर्षदेखि निरन्तरता पाइरहेको छ। पुराण अनुसार समुद्र मन्थनका बेला विषपान गरेका शिवजीको शान्तिका लागि देवताहरूले जल चढाएका थिए, त्यसैको स्मरणमा यो परम्परा चलिरहेको हो।”

पुजारी पुरुषोत्तम बस्यालका अनुसार श्रावणी मेलाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व निकै ठूलो छ। उहाँले भन्नुभयो, “यो मेला वर्षको सबैभन्दा ठूलो धार्मिक जमघट हो जहाँ विभिन्न ठाउँबाट आएका भक्तजनहरूको भेटघाट, सामाजिक सम्बन्ध विस्तार, र आस्था सुदृढीकरण हुन्छ।”

त्यस्तै, साउन महिना विशेषगरी पदयात्राको दृष्टिकोणले पनि महत्वपूर्ण हुने गरेको भन्दै पदयात्रा समितिका संयोजक गोपाल बस्यालले यसवर्षको तयारीबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो महिना भक्तजनहरू हिँडेरै मन्दिर पुग्ने परम्परा छ। त्यसको सहजताका लागि समितिले यात्राको मार्गमा विश्रामस्थल, खानेपानी र सूचना केन्द्रको व्यवस्था मिलाएको छ।”

मन्दिर क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति रहेपनि व्यवस्थापन पक्षले शान्तिपूर्ण र व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गरेको देखिएको छ। सुरक्षा व्यवस्थामा प्रहरी र स्वयंसेवकहरूको सक्रियता उल्लेखनीय देखिएको थियो।

सिद्धबाबा मन्दिरमा हुने श्रावणी मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको छ। विशेषतः साउन महिनाको सोमबार, नागपञ्चमी, जनै पूर्णिमा लगायतका दिनहरूमा हजारौँ श्रद्धालुहरूको ओहोरदोहोर हुने भएकाले यहाँको धार्मिक, आर्थिक र सामाजिक गतिशीलता बढाउने काम यस मेलाले गरेको छ।

स्थानीय व्यवसायीहरूका लागि पनि श्रावण मेला आम्दानीको अवसर बनेको छ। मेला अवधिमा फूलमाला, प्रसाद, भजन, पूजाका सामग्री तथा स्थानीय खाद्य वस्तुको बिक्री उल्लेखनीय हुने गरेको छ।
सिद्धबाबा मन्दिरमा आज सम्पन्न श्रावणी मेला र जलार्पण कार्यक्रमले धार्मिक आस्था, व्यवस्थापन कौशल र सांस्कृतिक महत्वलाई एकैसाथ जोडेको देखिन्छ।

प्रकाशित मिति : सोमबार, असार ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij