काठमाडौं –इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ।
इजरायली सेना आईडीएफका एक अधिकारीले आज (स्थानीय समय अनुसार बिहान साढे ७ बजे) विपिन जोशी अब जीवित नरहेको जानकारी दिएका हुन्। उक्त जानकारी भिडियो कन्फरेन्समार्फत इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी, र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई दिइएको थियो।
राजदूत पण्डितले भने,“आईडीएफका अधिकारीले हामीलाई स्पष्ट रूपमा भने — ‘विपिन इज नो मोर।’”
अमेरिकाको पहलमा इजरायल र हमासबीच हालै युद्धविराम भएको छ। सो सम्झौता अनुसार आज हमासको नियन्त्रणमा रहेका केही जीवित र मृतक बन्दीहरूलाई रिहा गर्ने कार्यक्रम रहे पनि, विपिन जोशीको नाम २० जनाको सूचीमा छैन।
कञ्चनपुरका निवासी विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो।
हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए। पछि, नोभेम्बर १७, २०२३ मा उनी गाजा सिटीस्थित अल–शिफा अस्पतालमा देखिएका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा उनकी आमा र बहिनी यसअघि इजरायल पुगेका थिए। उनीहरू हाल अमेरिकामा छन्।
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्