तेस्रो न्यूज फेस्टिभल : लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउन जोड

तेस्रो न्यूज फेस्टिभल : लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउन जोड

भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल–२०८२’ अन्तर्गत ‘लुम्बिनी स् लगानी र पर्यटनको सामथ्र्य’ बारे भएको छलफलमा लुम्बिनीको गुरुयोजनामै यो ठाउँलाई पवित्र उद्यान बगैंचा का रुपमा परिभाषित गरिए पनि त्यस अनुसार हुन नसक्नु विडम्वना भएको औंल्याए ।

गुरुयोजनामा उल्लेख पवित्र उद्यानको मूल मर्म लुम्बिनीलाई अन्य पर्यटन नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउने रहेको लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष लिलामणि शर्माले बताउनुभयो । उहाँले लुम्बिनीलाई विश्वभरका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सरकारले विशेष योजना र नीति बनाउनुपर्ने बताउनुभयो ।

‘आध्यात्मिक टुरिजम नै लुम्बिनीको सामथ्र्य हो’–शर्माले भन्नुभयो–‘गुरुयोजना अनुसार सिंगो लुम्बिनीलाई पवित्र बगैंचाका रुपमा विकास गर्न सके विश्वभरका एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी र मायादेवी मन्दिर बन्न सक्छन् ।’

लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खाल बाहिर हुन नसकेको गुनासो गर्नुभयो । पुरातात्विक स्थल उत्खनन्मा मात्र राज्यको लगानी भएको औंल्याउँदै उहाँले संघीय र प्रदेश सरकारले लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनुपर्ने आग्रह गर्नुभयो ।

उहाँले लुम्बिनीमा बर्थिङ हस्पिटल बनाउन विदेशी लगानी भित्र्याउने प्रक्रिया अघि बढेको बताउनुभयो । फोहोरको दीगो व्यवस्थापन प्रक्रिया अघि बढेकाले अब विदेशी लगानी भित्रिन सहज भएको उपप्रमुख हरिजनले बताउनुभयो । उहाँले नगरपालिकाले आफ्नै बजेटमा ध्यान केन्द्र बनाएको र पर्यटन सूचना केन्द्र स्थापना गरेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विश्व सम्पदा स्थल लुम्बिनी बौद्ध शिक्षा, शान्ति र सहअस्तित्वको केन्द्रको रुपमा विकास हुनुपर्ने स्थल भएको बताउनुभयो ।

लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको निर्देशन र नेपाल सरकारको योजना र बजेट भन्दा बाहिर गएर जथाभावी लगानी र काम गर्न पाउँदैन भन्ने तथ्य बिर्सन नहुने राईले आग्रह गर्नुभयो । अहिलेसम्मका कार्यक्रम र वजेट लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि मात्र हुने गरेको उहाँले बताउनुभयो । लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाई हुनुमा पर्याप्त बजेट अभाव भएको राईले गुनासो गर्नुभयो ।

भारतीय पर्यटन व्यवसायीमार्फत लुम्बिनीमा भारतीय र विदेशी पर्यटक आउने गरेकाले लुम्बिनीमा बास नबसी एक दिनमै फर्किने परिपाटी रहेको तर, पछिल्लो समय गुणस्तरीय पर्यटक भित्राउने र बसाई लम्ब्याउने क्रम बढ्न थालेको राईले बताउनुभयो ।

छलफलमा कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकमैत्री नीति, प्रडक्ट र व्यवहार हुनुपर्ने औंल्याउनुभयो । पर्यटनमा लगानी सरकारले नभइ व्यवसायीले गर्ने र पर्यटन विकासको वातावरण र नीतिगत सहजता सरकारले बनाइदिनुपर्ने श्रेष्ठले बताउनुभयो ।

लुम्बिनीका उद्यानहरुलाई विश्वभरका बौद्धमार्गीहरु आएर ध्यान गर्ने ध्यान केन्द्र बनाउन राज्य र निजी क्षेत्रले विशेष योजना बनाउनुपर्ने श्रेष्ठले सुझाव दिनुभयो । यो सेसनको सहजीकरण क्लबका पूर्वअध्यक्ष नरेश केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij