बुटवल , अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने ‘बुटवल सडक खाना महोत्सव’ आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मंगलबारदेखि सुरु हुने महोत्सव बुटवल स्थित तिनकुने चोकदेखि बसपार्क चोकसम्म सञ्चालन हुनेछ ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधवकुमार खनालले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा स्थानीय तथा रैथाने खानाका परिकार, विभिन्न जातजातिका मौलिक परिकारसहित स्वदेशी तथा विदेशी स्वादका परिकार प्रस्तुत गरिने उनले बताए । महोत्सवका लागि सडकको बीच भागमै अत्याधुनिक स्टल निर्माण गरिएको पनि उनले जानकारी दिए ।
महोत्सवमा खानाका परिकारसँगै विविध सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ तथा वितरण एवं स्वागत सत्कार उपसमिति संयोजक अर्जुन थापाले बताए ।
उनका अनुसार महोत्सवले बुटवलको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय खानाका परिकारको प्रवर्द्धन, कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न महोत्सव स्थलमा विभिन्न पर्यटकीय स्थल समेटिएको सेल्फी जोन निर्माण गरिनेछ भने पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठीसमेत आयोजना गरिने संघका उपाध्यक्ष तथा गोष्ठी सेमिनार उपसमिति संयोजक रोमाकान्त पाण्डेले जानकारी दिए ।
महोत्सवमा करिब ६० वटा खाना स्टल रहने संघका महासचिव तथा महोत्सवका सदस्य सचिव केशव कँडेलले बताए । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिने र अन्तिम दिन रक्तदान कार्यक्रम आयोजना गरिने पनि उनले जानकारी दिए ।
महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्काउने झाँकीसहितको ¥याली निकालिने संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले बताए । संघले विगत ०७५ सालदेखि निरन्तर रूपमा सडक खाना महोत्सव आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्