बुटवल
रुपन्देहीमा दिउसो देखिएको सलहको बथान उत्तर तर्फ लागेको छ ।दिउसो पसेको सलहको बथान साँझ पख उत्तरी क्षेत्र अर्थात पाल्पा तिर लागेको प्रदेश कृषि निर्देशनालय बुटवलका बरिष्ठ कृषि बाली संरक्षण अधिकृत कामना अधिकारीले बताउनु भयो । शनिबार हावाको बेग उत्तरतर्फ बगेकाले त्यससगै सलहको बथान पनि उत्तर तर्फ लागेको बरिष्ठ कृषिबाली संरक्षण अधिकृत अधिकारीले बताउनु भयो । ‘सलहको बथान हावाको बेगसंगै दिनभर उडछ । रातपरेपछि यो जहाँ बस्छ त्यहाँ ठुलो नोक्सान गर्छ’ अधिकारीले भन्नु भयो । उनका अनुसार शनिबार हावाको बेग उत्तर बगेकाले सलहको बथान पनि रुपन्देही देखि उत्तर पाल्पातर्फ गएको हो । ‘आज रुपन्देहीमा देखियो त्यसैले यही मात्रै क्षती गर्छ भन्ने हैन । हावाको बेगसंगै सलहको बथान उडेर पाल्पा हुँदै गुल्मी सम्म पुग्न सक्छ । त्यसैले ती जिल्लामा पनि सावधानी अपनाउन जरुरी छ’ अधिकारीले भन्नुभयो ।
शनिबार दिउसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल , देवदहको लडियाबाद,भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो । बुटवल सहित जिल्लाका बिभिन्न स्थानमा देखिएको सो किरा सलह नै भएको प्रदेश नं. ५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायाण देवकोटाले बताउनु भयो ।
सलहको बथान कहाँबाट पस्यो भन्ने यकिन भइनसकेपनि बुटवल सहित बिभिन्न स्थानमा सलहको झुण्ड भेटिएको र त्यो झुण्ड साँझ परेपछि उत्तरी क्षेत्रतर्फ लागेको बताउनु भयो ‘अहिले नै यो कहाँबाट पस्यो र कति संख्यामा छ भन्ने एकिन भएको छैन त्यसको अनुशन्धान गर्दैछौ’कृषि निर्देशनालयका प्रमुख देवकोटाले भन्नु भयो ।
विशेषगरी बुटवलको सुख्खानगर,दिपनगर र गोलपार्क क्षेत्रमा दिउसो २ बजेपछि ठुलो संख्यामा सलहको बथान देखिएको थियो । बुटवल स्थित प्रदेश प्रमुख कार्यालयकै अगाडीको सिमल र आपका रुख सलहको बथानले छपक्कै ढाकेको थियो । देवदहको रचङ्गे पिपलडाँडा,भलुही लगायतका क्षेत्रमा पनि दिउसो एक्कासी लाखौको संख्यामा सलहको बथान मकैबारीमा पसेको त्यहाँका स्थानीयले बताए । स्थानीयका अनुसार ती सलहले दिउसो मकैबारीमा ठुलै क्षती नगरेपनि बस्ती वरपर र जंगल क्षेत्र चहारेको थियो । साँझ पर्न थालेपछि सहलको बथान नदेखिएको र उत्तरतर्फको जंगलमा पसेको रचङ्गेका स्थानीय समेत रहेका देवदह नगरपालिका वडा नं.१० का वाडाध्यक्ष एकबहादुर सुनारले बताउनु भयो ।
तराइमा धान र पहाडमा मकै खेतीको मुख्य सिजन भएकाले किसानहरु सलह पसेको खबर संगै चिन्तीत भएका छन । यो किरा जहाँ बस्छ त्यहा ठुलो क्षती गर्ने भएकाले यो किरा देखिने बित्तिकै सम्बन्धित पालिकाको कृषि शाखा,ज्ञानकेन्द्र वा प्रदेशको कृषि मन्त्रालय वा निर्देशनालायलाइ खबर गरीदिन देवकोटाले आग्रह गर्नु भएको छ ।
एक किलो सलहको बिस रुपैँया
सलह किरा देखिएपछि प्रदेश नं. ५ को भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबैलाइ सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले किरा नियन्त्रणकालागि तत्काल विशेष पहलकदमी चाल्ने निर्णय गर्दै एक किलो सलह संकलन गरे बापत २० रुपँैया अनुदान दिने निर्णय पनि गरेको छ ।
संकलन गरेको सलह किरा सम्बन्धित पालिका वा वडामा बुझाएपछि तुरुन्त प्रतिकिलो २० रुपैँयाका दरले पैसा भुक्तान गरीने मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिनुभयो । यो किरा दिउसोमा उडने र रातमा एकै ठाँउमा झुरुप्प परेर बस्ने भएकाले सामान्य सावधानी अपनाएर संकलन गर्न सकिने बताउनु भयो । बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले किराको नियन्त्रणकालागि सबैभन्दा प्रभावकारी उपाय बिषाधि भएकाले मालाथिन ३ एम.एल प्रतिलिटर पानीमा र क्लोरोपाइरीफस २ एम.एल प्रति लिटर पानीमा मिसाएर किरामै पर्ने गरी छकर्न आग्रह गर्नुभयो । अधिकारीले धानको व्याड वा तरकारी तथा अन्य बिरुवाका नर्सरीहरुलाइ झुल वा कपडाले ढाकेर सुरक्षित राख्न पनि आग्रह गर्नुभयो ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्